शब्द र शब्दहरू -पर्फेक्ट मानिस कसलाई भन्ने ?
मानिसहरूको आआफ्नै धारणा र अनुभव हुन सक्छ । तर मलाई परिवार र घरमा सन्तुष्ट भएर समाज र राष्ट्रका लागि पनि केही सकारात्मक काम गर्न सक्ने मानिस नै पर्फेक्ट लाग्छ । जो परिवारमा खुशी छ । उसैले समाज र राष्ट्रमा खुशी बाँड्न सक्छ । परिवार र घरमा असन्तुष्ट र असफल मानिसले कसरी समाज र राष्ट्रका लागि असल र प्रभावकारी काम गर्न सक्ला ? यदि कसैले गरेको देखियो भने पनि म आफुचाहिँ त्यसले राम्रै काम गरेको छ भनेर कन्भिन्स हुन सक्दिनँ । जो घरभित्रको सानो चौघेरामा असन्तुष्ट बाँचिरहेको छ, उसले यति फराकिलो राष्ट्रिय परिवेशमा राम्रो काम गरेको छ भनेर कसरी पत्याउनु ?
आफैसँग सन्तुष्ट र खुशी नभएको मानिस सृजनात्मक हुन्छ भन्ने कुरामा मलाई विश्वास छैन । र आफुसँग सन्तुष्ट र खुशी मानिस त्यतिखेर हुन्छ जतिखेर उ आफ्नो घर र परिवारमा खुशी हुन सक्छ । र त्यही मानिस पर्फेक्ट पनि हो । यहाँनेर यो पर्फेक्टनेसको कुरा हाम्रो सामाजिक मूल्य मान्यतासँग जोडिएको छ । मानिसहरूले भन्न सक्छन्, घर परिवार त्यागेर पनि मानिसले असल र अब्बल काम गरेको छ । जोसँग खुशी बाँड्नका लागि परिवार नै छैन उसको खुशी र सामथ्र्यको के अर्थ ?
हरेक मानिसको आफ्नो सीमा र कमजोरी हुन्छ । तर आफ्ना सीमाहरूकै बीचमा कमजोरीहरूकै साथमा खुशी र सन्तुष्ट हुन सक्नु र त्यसपछि केही सृजनात्मक काम पनि गर्नु कति राम्रो कुरा ! म सन्तुष्ट परिवारमा रहेका मानिसहरूको असल व्यवहार र कामको प्रशंसक हुँ ।
घर र परिवार लथालिङ पारेर समाज र राष्ट्रका लागि केही गरिरहेको छु भन्ने भ्रम पाल्ने मानिसहरू देख्दा मलाई हाँसो उठ्छ । तपार्इं–हामीले राष्ट्रका लागि, समाजका लागि केही गर्ने नै होइन । गर्दै गएपछि त्यो समाज र राष्ट्रका लागि हुँदै जाने हो । हामीले एकैचोटि त्यति ठुलो केही गर्न पनि सक्दैनौँ तर गर्दै जाँदा… निरन्तर गरिरहँदा त्यो समाज र राष्ट्रका लागि हुने हो ।
आज म दुई पर्फेक्ट महिलाको कुरा गर्दैछु । गीता रेग्मी र प्रभा बरालको ।
गीतालाई म दुईचार वर्ष अगाडिदेखि नै चिन्छु । उनका नियात्रा कृति ‘पश्चिमाहरूको देशमा’ मलाई मन परेको पनि हो । गीताका फाट्टफुट्ट अरू रचनाहरू पनि पढेको छु । एकाध कार्यक्रममा सँगै कविता पनि भनेको हुनुपर्छ । तर प्रभाँग भने मेरो चिनजान त्यति लामो छैन । दैनिक पत्रिकाहरूमा उनका केही लेखहरू पढेको छु । एकदुई चोटि औपचारिक भेट भयो होला, त्यति हो । तर यी दुईसँगको यो औपचारिक परिचयबीच पनि मलाई यी दुबै पर्फेक्ट लागेका हुन् । पर्फेक्ट मानिसमा एक किसिमको तेज र उर्जा हुन्छ । त्यो सामान्य भेटघाटमा पनि अनुभव हुन सक्छ । यसर्थ पनि यी दुबैका सृजनालाई मैले सम्मानसँग पढ्ने गरेको छु ।
नेपाली साहित्यको हरेक कालखण्डमा केही कुण्ठित लेखकहरूको हर्कत र बाहुल्यता देखिने गरेको छ । घर–परिवारभित्र असन्तुष्ट मानिसहरू समाज र राष्ट्रलाई सन्तुष्ट पारेको भ्रममा व्यस्त छन् । यी र यस्ता भीडभन्दा बेग्लै साधनारत र सृजनशील मानिसहरू पनि छन् हामीकहाँ । यस्तैमध्ये पर्छन्– गीता रेग्मी र प्रभा बराल ।
सन्दर्भ हो, ‘यात्राका प्रतिविम्बहरू’ को । यो ३७ जना निवन्धकारहरूको नियात्रा सङ्ग्रह हो । नियात्राको विशेषाङ्क हो । यसको सम्पादन गरेका हुन्– गीता र प्रभाले । छोटो समय र थोरै तयारीका बीच प्रकाशन गरिएको यो कृति ‘यात्राका प्रतिविम्बहरू’ निकै अब्बल बनेको छ । लामो समयदेखि प्रकाशित भइरहेका राष्ट्रिय स्तरका साहित्यिक पत्रिकाहरूले बेलाबेलामा प्रकाशन गर्ने विशेषाङ्कहरूका हारमा उभ्याउन लायक कृति बनेको छ ।
लेखक चयनमा सम्पादकको विशिष्टता देखिन्छ । त्यसो त हतारमा जसले मान्यो उसैको रचना मागिएको पनि हुन सक्छ । तर, जो–जति लेखक यसभित्र परेका छन् त्यसबाट लेखकको विशिष्ट छनौट भएको देखिन्छ । जो–जसले सम्पादकहरूले भनेको माने वा सम्पादकहरूले चुनेर नै जो–जससँग रचना मागे ती सम्मानयोग्य लेखकहरू नै छन् । लेखक छनोटमा उनीहरूले कुनै छुद्र्याइँ गरेका छैनन् । हो एकाध नाम नछुटेको भए हुन्थ्यो भन्ने ठाउँ यसमा पनि छ । तर ति छुट्दैमा नेपाली नियात्राको यात्रा नै भाँचिएको भने छैन । सबै विधा, क्षेत्र र विचारधाराका लेखक यसमा परेका छन् । पछिल्लो समय चलनचल्तीमा आएको शब्दावलीमा भन्ने हो भने समावेसीजस्तो ।
डा. निर्मोही ब्यास, डा. ज्ञानु पाण्डे, प्रतीक ढकाल, दामोदर पुडासैनी, इल्या भट्टराई, प्रदीप नेपाल, भीष्म उप्रेती, गीता रेग्मी, श्रीओम श्रेष्ठ रोदन, मणि लोहनी, जीवा लामिछाने, प्रभा वराल, रामप्रसाद पन्त र राजुबाबु श्रेष्ठजस्ता नेपाली निबन्ध र नियात्रामा काम गरिरहेका स्रष्टाहरूलाई सम्पादकले यस कृतिमा सम्मानका साथ समेटेका छन् । त्यसैगरी नेपाली साहित्यका विभिन्न विधामा स्थापित प्रदीप ज्ञवाली, कृसु क्षेत्री, गंगा पौडेल, जया राई, गोबद्र्धन पूजा, सरु पोखरेल, उत्तम भौकाजी, अनुपम रोशी लगायतलाई पनि यात्राका प्रतिविम्बहरूमा निकै महत्व दिइएको छ ।
लेखक छनोटमा जसरी विशिष्टता देखाइयो । रचना छनौटमा भने त्यो विशिष्टतालाई कायम गर्न सम्पादकहरू चुकेका छन् । निकै राम्रा र अब्बल नियात्राहरू भएको यो कृतिमा केही सस्ता र कमजोर लेखहरू पनि राखिएका छन् । जसले कृतिको सामथ्र्य र गरिमालाई कमजोर पारिदिएको छ । धेरै पनि होइन ३७ वटा नियात्रामध्ये सातवटा लेख मात्र यहाँबाट झिकिदिएको भए यो नेपाली नियात्रा इतिहासकै नमूना कृति बन्ने थियो । यसमा रहेका ती सातवटा रचनाहरू लेख्नका लागि मात्र लेखिएका छन् । बाँकी ३० वटा उच्चकोटीका नियात्रा हुन् । देश–विदेशका यात्रा र अनुभूतिहरू त्यसमा छन् । नेपाल र भारत मात्र होइन अमेरिका, बेलायत, हल्याण्ड, बङ्गलादेश, थाइलैण्ड, जापान, चीन, म्यानमारसम्मका अनुभूतिहरू यसमा पढ्न पाइन्छ । यसभित्रका ३० नियात्राले नेपाली नियात्राको सम्भावनालाई थप उजागर गरेको छ । यस मानेमा पनि नेपाली नियात्राको चर्चा हुँदा अब यस कृतिलाई छुटाउन मिल्दैन ।
कृतिमा नियात्राको इतिहास थोरै राखिएको भए थप उपलब्धिपूर्ण हुने थियो । त्यसो त सम्पादकहरूले सम्पादकीयमा यो कुरा उल्लेख गरेका छन्, ‘अत्यन्त चाहना हुँदाहुँदै पनि विविध कारणले यात्रा साहित्यको इतिहास र वर्तमान अवस्थालाई उल्लेख गर्न पनि सकेनौँ ।’ त्यस्तै नियात्राकारहरूको संक्षिप्त परिचय राखिएको भए कृति थप प्रभावकारी हुने थियो । नयाँ पाठकहरूले नियात्राकारका बारेमा थप जानकारी पाउने थिए । यी छिटपुट कमजोरीहरूका बीच ‘यात्राका प्रतिविम्बहरू’ सङ्ग्रहयोग्य कृति बनेको छ । यसभित्रका नियात्राहरू पठनीय र तीव्र सम्प्रेषणीय छन् ।
अन्तमा, कृति प्रकाशनका लागि आदर्श भृकुटी महिला बचत तथा ऋण सहकारी संस्था लि.लाई धन्यवाद दिनुपर्छ । अक्सर सहकारीहरूले आफ्नो वार्षिक उत्सवमा चिल्लो कागजमा मोटा–मोटा स्मारिका प्रकाशन गर्ने र त्यस स्मारिकामा वासलातका अलावा संस्थाका पदाधिकारीहरूका रङ्गीन फोटाहरू छाप्ने गर्छन् । त्यसबाट अलि हटेर आदर्श भृकुटी महिला सहकारीले साहित्यमा काम गरेको छ, यो प्रशंसायोग्य कुरा हो ।
प्रतिक्रिया