सन् १९९४ को कुरा हो, अमेरिकाको न्युयोर्कमा आयोजित कार्यक्रममा एक युवाले ‘आइ एम अ फार्मर’ (म किसान हुँ) भनेर परिचय दिएपछि धेरैको ध्यान उनीतर्फ आकर्षित भयो । पछि कसैले भन्यो, यो मान्छेको त आफ्नै हेलिकोप्टर छ रे, यहाँका किसान त एकदमै सम्पन्न हुन्छन् नि, पढे–लेखेका पनि त्यत्तिकै । संयुक्त राष्ट्रसङ्घको मुख्य कार्यालयमा विकासशील राष्ट्रका पत्रकारहरूका लागि गरिने एडभान्स पत्रकारिताको तालिम लिन एफईएसले यो पङ्क्तिकारलाई न्युयोर्क पठाएको थियो । भर्खरको युवा मानसिकता या कामप्रतिको मूल्य–मान्यताको पृष्ठभूमि खै केले काम गरेर हो धेरै बेरसम्म ती युवाले ‘आइ एम अ फार्मर’ भनेको कुरालाई उनले अरू नै केही भनेको तर आफुले नबुझेको हो कि जस्तो लाग्यो र सँगै रहेकी फिजीकी साथी माकोरितालाई सोधेकी थिएँ– यो मान्छे को हुन् रे ? ‘किसान’ भन्दै उनले बुझएकी थिइन्– यिनीहरू त कस्तो सम्पन्न हुन्छन् नि…! पछि हामीलाई ‘होम स्टे फिल्ड भिजिट’का रूपमा क्यानडा र अमेरिकाको सिमानामा पर्ने सानो शहर रोचेस्टर नजिकैको एउटा गाउँमा लगियो । विश्वकै चर्चित नियाग्रा फल्सनिकट रहेको एउटा किसानको घरमा म परेँ । हामी सबै नै कुनै न कुनै किसानको घरमा परेका थियौँ । अत्यन्तै सम्पन्न उक्त परिवारकी एक मात्र छोरी स्वास्थकर्मी बन्न चाहन्थिन्, तर बाबुआमा भने छोरीले आफ्नै कृषि फार्मको विरासत सम्हालिदिउन् भन्ने चाहन्थे । विल नाम गरेका ती कृषकले छोरीलाई भनेको सम्झन्छु– ‘अरूले दिएको तलब थाप्ने ठाउँमा काम गर्नु हुन्न, कहिले हप्ता बित्ला भनेर को कुरेर बस्छ ? तिमी कृषि नै पढ, तर यो मेरो सुझाव मात्रै हो, निर्णय त तिमीले नै गर्ने हो ।’ त्यतिबेला मलाई हेर्दै उनले थपेका थिए, ‘कृषक जस्तो पनि अरू हुन्छ त ?’ कृषि त गाउँघरका नपढेका मान्छेले गर्ने दुःखी काम हो भन्ने ठान्दै हुर्किएकी मेरा लागि त्यतिबेला ‘हो नि’ भन्न सक्ने अवस्था थिएन । कहाँ नर्स या डाक्टर कहाँ खेती–किसानी !? हामीकहाँ त त्यस्तो कुराको तुलना नै हुँदैनथ्यो । अहिले पनि सम्झिन्छु, हामीकहाँ गाउँघरमा गोठको वरिपरि हलो–जुवा राखेजस्तै उनीहरूका पनि कृषिमा काम लाग्ने सामाग्रीहरू थिए, साना–ठुला ट्र्याक्टरहरू थिए । अमेरिकामा परिवारका सदस्यपिच्छे गाडी हुनु त ठुलो कुरै भएन । उनीहरूले फार्म देखाउन लगे, अक्टुबरको महिना थियो । खै के लगाएका थिए कुन्नी, बारीचाहिँ सुकसुकाउँदो थियो । अरूले भनेको सुनेको भरमा ‘तपाईंहरूको पनि हेलिकोप्टर छ ?’ भनेर मैले सोधेँ । सहज रुपमा उनले भने–‘हाम्रो खेती नजिक–नजिकै भएकोले हेलिकोप्टर छैन, तर टाढा–टाढा खेती हुनेहरूलाई त चाहिन्छ नै ।’
कामप्रतिको मूल्य–मान्यता निकै ठुलो कुरा रहेछ । हामीकहाँ कृषि या खेती–किसानी भन्नेवित्तिकै हलो जोत्ने हली या हिलोमा खेल्ने खेतालाको रूपमा लिइन्छ, बुझिन्छ । हलो जोत्नु या घाँस काट्नु भनेको मजदुरी हो र मजदुरीप्रतिको हाम्रो मान्यता नै यहाँको समस्या हो । मुलुकमा कृषि ब्यवस्थापनका लागि मन्त्रालय नै स्थापना गरिएको भए पनि कृषि पेशालाई यहाँ सेक्सी अर्थात् आकर्षक बनाउन सकिएको छैन । कृषिलाई आकर्षक/सेक्सी र स्मार्ट बनाउन सके बेरोजगारको अवस्थामा कमी त आउने थियो नै, अहिले जुन रुपमा वैदेशिक रोजगारीमा युवाहरू परदेशिइरहेका छन् यो अवस्थामा पनि सुधार आउने थियो । आफ्नो खेतबारी बाँझो राखेर अरूको मरुभूमि हरियाली बनाउनका लागि हाम्रा युवाहरू विदेशिइरहेका छन् । गाउँमा खेती गर्ने मानिस नै भेटिँदैन । परिणामतः हाम्रा धेरै उर्वर खेतबारीहरू बाँझै रहन थालेका छन् र कृषिप्रधान मुलुकका नागरिक हामीचाहिँ चामलदेखि खसी हुँदै दाल तरकारी सबै नै छिमेकी मुलुकहरूबाट आयात गर्न थालेका छौँ । पहिला हातमा क्यास थिएन, खेतबारीमा फलाएको खानेकुरा खान्थ्यौँ, स्वस्थ थियौँ । अहिले हातमा क्यास छ, दाल, चामल, तरकारी, मासु, दुध सबै नै बाहिरको किनेर खान्छौँ र बाँकी पैसा अस्पतालमा खर्च गर्छांै । यदि हामीले आफ्ना खेतबारीलाई हराभरा राख्न सकेको भए अहिलेजस्तो खाद्यान्नमा खडेरी पर्ने थिएन, न त भोकमरीको नाममा सडेका चामल खाएर नै जीवन धान्नुपथ्र्यो ।
गाउँघरमा मानिसहरू पढे, राम्रो भयो, शिक्षाको स्तर दिनदिनै बढ्दो छ । यो सकरात्मक पाटोसँगै पढेलेखेका मानिसले कृषि क्षेत्रमा लाग्नु हुन्न भन्ने मान्यताका कारण मानिसहरूमा ‘एसएलसी गरेर पनि हलो जोत्ने ?’ भन्ने भावना पैदा भयो । फलतः आफ्नो खेतबारी बाँझो राखेर युवाहरू बाहिरिन थाले । यदि हलोको ठाउँमा ट्र्याक्टर या ठाउँअनुसारको अझ त्यो भन्दा सहज कृषि औजार या प्रविधिसहितको कृषिलाई अगाडि बढाउन सकेको भए र सोहीअनुरूपको बजार ब्यवस्थापन गर्न सकेको भए मुलुकको अवस्था अहिले धेरै फरक भइसकेको हुने थियो । कुनै पनि काम आफैमा सम्मानित हुन्छ, त्यसमा पनि कृषि भनेको त मानिसको आफ्नै पौरखमा र धेरैजसोले आफ्नै पैतृक या निजी सम्पत्तिमा गर्ने कुरा भएका कारण पनि यो पेशा थप सम्मानित छ । कसैको ‘अर्डर’मा बस्नु नपर्ने, घडी हेरेर स्याँस्याँ र फ्याँफ्याँ गर्दै दौडादौड गर्नु नपर्ने, हाकिमले के भन्लान् या ‘डेडलाइन मिट’ नहोला कि भनेर मानसिक त्रासमा बस्नु नपर्ने, आफ्नै प्रकारको जीवन शैली अपनाएर गर्न सकिने पेशा भएकाले स्वास्थका दृष्टिकोणले पनि डाइविटिज, प्रेसर जस्ता रोगबाट टाढै रहन सकिने पेशा हो कृषि । हो, दुःख अवश्य छ तर दुःख नगरी हुने कुरा त के नै छ र ? अलिकति मात्रै ध्यान पु-याएर, सुविधा उपयोग गरेर गर्न सकियो भने कृषि अवश्य नै आकर्षक पेशा हो । वैदेशिक रोजगारीबाट फर्किएका र अन्य शिक्षित जमातले सुरु गर्दै गएपछि अहिले यो क्षेत्रलाई हेर्ने दृष्टिकोणमा पनि केही हदसम्म परिवर्तन भने आएको छ । तथापि, यसलाई थप आकर्षक बनाउन आवश्यक छ । ब्यवसायिक खेती गर्नेका लागि सहज ऋणको ब्यवस्था, उपयुक्त कृषि सामग्री र औजार, उचित बजार ब्यवस्थापनलगायत कृषि क्षेत्रमा काम गर्नेहरूलाई हेर्ने दृष्टिकोणमा परिवर्तन अहिलेको आवश्यकता हो । यो मुलुक राजनीतिक रुपमा अहिले जसरी अघि बढिरहेको छ, यसबाट यहाँ निकट भविष्यमै बेरोजगारी घट्ने या रोजगारीका अवसरहरू खुल्ने अवस्था देखिँदैन । कृषि नै हाम्रो देशको एउटा यस्तो सम्भावना हो जसले रोजगारी बढाउँछ र युवाहरूलाई वैदेशिक रोजगारका अनेक जोखिममा पर्नबाट जोगाउँछ । आम्दानी मात्र होइन नेम, फेम सबै हुने प्रकारका ‘स्कीम’हरू सहित अगाडि बढाउन सकियो भने यहाँका मानिसको मात्र होइन मुलुककै काँचुली फेरिनेछ । कृषि क्षेत्रलाई आकर्षक बनाउनका लागि कृषिसम्बद्ध निकायको मात्र नभएर सबै क्षेत्रको भूमिका महत्वपूर्ण छ ।
प्रतिक्रिया