त्राण खोज्दै त्रिशुली – सुरेश सुवेदी

त्राण खोज्दै त्रिशुली – सुरेश सुवेदी


featureनेपालमै पायोनियर -याफ्टिङ रिभरको रुपमा चिनिएको त्रिशुली नदी यतिबेला अवैध रुपमा सञ्चालन गरिएका ‘फिरफिरे’लगायत कारणहरूबाट प्रदुषणको चपेटामा परेको छ । अवैध रुपमा सञ्चालन गरिएका फिरफिरे सम्बन्धित सरकारी निकायका कर्मचारीका निम्ति एकातिर वार्गेनिङको राम्रो बहाना भएका छन् भने अर्कोतिर प्राकृतिक श्रोतमाथिको अत्याधिक दोहन प्रकृतिकै लागि दुष्परिणाम हुन्छ भन्ने कुराको दु:खलाग्दो उदाहरण बन्न पुगेको छ यो नदी । पृथ्वीराजमार्गमा पर्ने विभिन्न स्थानआसपासका बालुवायुक्त माटो पखालेर निस्केको हिलो, लेदो माटो सोझै नदीमा मिसाउँदा यस्तो समस्या पैदा भएको हो । धादिङ बैरेनीस्थित कोल्पुफाँटदेखि मलेखुसम्मको क्षेत्रमा भइरहेका अत्यधिक दोहनले कहालीलाग्दो परिवेश निम्त्याएको छ ।
ह्वाइट वाटर ¥याफ्टिङ र कायाकिङका लागि यो नदी विश्वमै परिचित मानिन्छ । नेपाल रिभर कन्जर्भेसन ट्रष्टका संस्थापक मेघ आले यसै भन्छन् । टाइगर टप्स जङ्गलका संस्थापक जिम एडवर्डस्ले यो नदीमा ¥याफ्टिङको प्रचुर सम्भावना देखेर नै उनलाई अमेरिका पु¥याएका थिए । ¥याफ्टिङमा अथाह आनन्द पाएका आलेले नेपालमा पनि यस पेशाको सुरुवात गरे यसै त्रिशुली नदीमार्फत् । सन् १९७६ ताकाको नदीको शुद्धता र प्राकृतिकपन देखेका आले अहिले दु:खी बनेका छन् । दशकौँदेखि त्रिशुलीको ¥याफ्टिङमा रमाएका आले अहिले दु:खी हुनुको एक मात्र कारण नदीको प्रदुषण नै हो । आले भन्छन्, ‘पहिले जस्तो छैन, अहिले नदीमा धेरै प्रदुषण छ ।’
नदीको शुद्धता र प्राकृतिकपनमा ह्रास आउनुको एउटै कारण हो बालुवा खानीबाट निस्केको हिलो र लेदो पानी सिधै नदीमा मिसाउने शैली । यही ज्यादतिका कारण नदीमा प्रदुषण बढ्दो छ । राजमार्ग प्रदुषणप्रति चासो देखाए पनि नदी प्रदुषणप्रति धेरैको ध्यान गएको छैन । फलस्वरुप, जलचर प्राणी मासिनुका साथै नदीसँग जोडिएका व्यावशाय र संस्कृति पनि क्रमश: सङ्कटमा पर्दैछन् ।
¥याफ्टिङ र रेष्टुरेन्टमा ह्रास
त्रिशुली नदीको स्वच्छता र सुगमताको कारण नै यो ¥याफ्टिङ ब्यवसायीहरूको पहिलो रोजाई भएको हो । विशेषगरी सिकारु र पारिवारिक किसिमका ¥याफ्टिङमा रमाउन चाहनेहरूको लागि यो नदी उपयूक्त मानिन्छ । त्यस्तै, सौखिन र एडभान्चर ¥याफ्टिङमा रमाउन चाहनेहरूको लागि पनि नदीको तल्लो खण्ड उत्तिकै उपयुक्त मानिन्छ । दुईदेखि तीन दिनसम्मको प्याकेज बनाउन सकिने यस नदीमा बीच क्याम्पिङ, कायाकिङ तथा बीच क्याटेरिङमा पनि पर्यटकहरू रमाउने ब्यवसायीहरूको अनुभव छ । ‘तर अब त हिलो र लेदो बग्छ, कहाँ खुवाउने ? कसरी बसाउने ?’ व्यावसायी आले प्रश्न गर्छन् । उनी भन्छन् ‘यो एकदम गलत छ, यसले हाम्रो सुन्दरता र स्वच्छतालाई नै बदनाम गरेको छ ।’ प्रदुषणकै कारण त्रिशुली नदीमा ¥याफ्टिङको आकर्षणमा कमी आएको छ । पहिले एउटा गेष्टले बीस–पच्चीस जना गेष्ट ल्याउँथे, तर अहिले फर्केर पनि आउँदैनन् । जसोतसो आएकाहरूलाई पनि २–३ दिनको प्याकेज २–३ घण्टामै छोट्याउनु परेको छ । ब्यवसायीहरू भन्छन्– ‘ब्याड इम्प्रेसनभन्दा त सर्ट ट्रिप नै बेश ।’
यस्तै मर्कामा परेका छन् रिभरसाइड रेष्टुरेण्टहरू पनि । नदीमा पर्यटकको आकर्षण देखेर खोलिएका दर्जनौँ रिभरसाइड रेष्टुरेण्ट अहिले पर्यटकविहीन भएका छन् । आफूसँग दश वटा स्वीमिङ पुल र वाटर गेमको व्यवस्था भएको तर धमिलो पानीका कारण चलाउन बाधा पुगेको गुनोसो गर्छन् वाटर किङ्डम घाटबेशीका सुरेन्द्र श्रेष्ठ । यस्तै, धादिङ होटल सङ्घका उपाध्यक्ष रमेश सेढाईं दुखेसो गर्छन्, ‘हाम्रो त गरी खाने पेसा नै चौपट हुने भो ।’
संस्कृति र स्वास्थ्यमा सङ्कट
नदी प्रदुषणको प्रभाव जनस्वास्थ्य र संस्कृतिमा पनि परेको छ । यस नदीआसपास बसोबास गर्दै आएका आदिवासी तथा जनजाति र अन्य समुदाय यसबाट प्रत्यक्ष प्रभावित भएका छन् । विशेषगरी नदी किनारमा मनाइने चाडपर्व प्रदुषणको चपेटामा परेका छन् । नदी किनारा तथा आसपासका क्षेत्रलाई नै प्रमुख आश्रय स्थल बनाउने माझी, दनुवार र चेपाङ समुदाय बढी प्रभावित भएका छन् । उनीहरूले मनाउने न्वागी, जलदेवी पूजा लगायतका धेरै धार्मिक तथा सांस्कृतिक कार्यक्रम नदी किनारा वा जलाधार क्षेत्रसँग जोडिएको पाइन्छ । नदी प्रदुषणकै कारण नैसर्गिक अधिकार मानिएको धार्मिक तथा सांस्कृतिक अधिकारबाट समेत वञ्चित हुनुपर्ने अवस्था आएको हो ।
त्यस्तै, नदी किनारामा मनाइने जलधारा, जनै पूर्णिमा, तीज, स्वस्थानी पूर्णिमा तथा ठूलो एकादशी जस्ता चाड पर्वहरू पनि प्रभावित भएका छन् । आजभोलि भक्तजन नदी किनारामा जान नसक्ने भएका छन् । धादिङ पिँडाका सीताराम उपाध्याय भन्नुहुन्छ, ‘प्रदुषणकै कारण धर्म–संस्कृति जोगाउन पनि सङ्कट आइपर्ने भयो ।’
नदीको पानी प्रदुषण भएकै कारण यस नदीमा आश्रित जलचरलगायत अन्य पशुपक्षी प्रभावित भएका छन् । विशेषगरी घरपालुवा एवम् चरुवा जनावरहरू खडेरीको समयमा पानीका लागि विकल्पहीन भएका छन् । पानी सफा र शुद्ध नहुँदा पानीजन्य रोगबाट सङ्क्रमित हुनेहरूको सङ्ख्या बढ्दो छ ।
त्यस्तै, पुस्तौँदेखि माछा मार्दै आएका माझी, चेपाङ, कुमाल तथा दनुवारहरू माछासँगै आफूहरूको पुस्तौली पेशा सङ्कटमा परेकामा दु:खी छन् । आदमघाटदेखि मलेखुआसपास माछा मार्ने गरेका सूर्यबहादुर दनुुवार तथा माझीहरूको एउटै गुनासो छ, ‘नदीमा माछा नै छैन के मार्नु ?’ माछामै जीवनयापन प्रक्रिया निर्भर रहेका उनीहरू अहिले पुस्तौली पेशाबाटै विस्थापित भएका छन् ।
पछिल्लोपटक सडकआसपास २५ मिटरको क्षेत्रमा बालुवा धोइपखाली गर्ने काम रोकेपछि नदी अतिक्रमणको मात्रा अझ बढ्दो छ । शव–दहन गर्ने नदीकिनार र घाटहरू पनि पुरिने र मासिने क्रममा छन् । नदीकिनारबाट २० मीटरको दूरीमा मात्र धोइपखाली गर्ने भनिए पनि पूर्ण कार्यान्वयन हुन सकेको छैन ।
अबको उपाय
बालुवा, गिट्टी र डुङ्गा खानीबाट जिविस धादिङ र सम्बन्धित गाविसले करोडौँ रकम उठाए पनि प्राकृतिक श्रोत व्यावस्थापन र वातावरणीय प्रदुषण न्यूनीकरणमा खासै काम हुन सकेको छैन । वालुवाकै कारण नदीमा परेको प्रभावलाई कम गर्न सकिन्छ भन्नेबारेमा खासै पहल हुन सकेको छैन । रेष्टुरेण्ट व्यावसायी तथा स्थानीय वासिन्दा यसको प्रयास प्रशासनिक तहबाट हुनपर्ने बताउँछन्, तर प्रशासनिक निकाय स्थानीय वासिन्दाको अग्रसरता खोज्छ । त्यसो त पूर्व सहायक प्रजिअ विजयराज पौडेल ‘उजुरीका आधारमा कारवाही अघिबढेको’ दाबी गर्छन् ।
अघिल्ला वर्षहरूमा १० करोड ३३ लाखसम्म पुगेको ठेक्का झरेर ०७०/७१ आर्थिक वर्षमा मात्रै लगभग करोड ५० लाखमा सीमित भएको छ । गाविस र स्थानीय क्लबहरूले सङ्कलन गरेको रकमको हिसाबकिताव पारदर्शी छैन । खासगरी दुई–तीन जना व्यापारी र ठेकेदारले मात्र बढी फाइदा लिएको भए पनि सम्पूर्ण समुदायले फाइदा लिन सकेको छैन, बरु वातावरणीय सम्पदा गुमाइरहेका छन् । वातावरणीय प्रभाव मूल्याङ्कन नगरी सञ्चालन गरेका यस्ता खानीहरूले थोरै कर तिरेको र एक–दई स्कुललाई सहयोग गरेर समुदायको विरोधको स्वर त रोक्न खोजेका छन्, तर वातावरणीय विनाश भने रोक्न सकेका छैनन् । नदी छेउमा हरितकिनाराको व्यावस्था गरेर हिलो लेदो पानी सोझै नदीमा नमिसाउने, सडकमा पानी नचुहाउने, धुलो कम गर्ने विषयमा बनाइएका नियमको पालना गरे मात्र पनि प्रदुषण कम गर्न सकिन्छ । अन्यथा प्रदुषणको प्रकोपमा पछुताउनुको विकल्प छैन ।