दिग्भ्रमित समयमा भ्रम चिर्दै एउटा कवि

दिग्भ्रमित समयमा भ्रम चिर्दै एउटा कवि


Mani Lohaniशब्द र शब्दहरू – मणि लोहनी
अहिले नेपाली कविता सङ्कटमा छ ।
कवितामा प्रशस्त काम भइरहेका छन् । दिनहुँ कविताका नयाँ–नयाँ किताब आइरहेका छन् । तर, राम्रा कविताहरू छुटिरहेका छन् । कविता भीडमा मिसिएको छ । समूहमा विभाजित भएको छ । जाति र धर्ममा बाँडिएको छ । कविता आग्रह र सम्बोधनको सिलसिला भएको छ । अब कवि हुनलाई कविता लेखिरहनुपर्दैन । दुई–चार दीनदुःखीका कुरा या नेताले चुनावताका गर्ने गरेको भाषणजस्तो भए पुग्ने भयो । कवितामा राजनीतिका कुराहरू, आग्रहका कुराहरू र अपेक्षाका कुराहरू हुन थाले ।
अहिले कविता यस्तै नै भएको छ ।
कवितालेखन या कविता पढ्नु भनेको आनन्दको नजिक पुग्नु हो । कविता एक किसिमको विपश्यना हो । एक किसिमको चित्ताकर्षक क्षण । जहाँ आग्रह, अपेक्षा र सम्बोधनहरू छुट्छन् । मात्र आनन्द बाँकी रहन्छ । मनको कता–कता झन्कार हुन्छ । कविता पढेपछि एउटा सन्तोष प्राप्त हुनुपर्छ । तर, अहिले अधिकांश बजारिया कवितामा ध्वनि त छ, तर त्यसले मनलाई झङ्कृत गर्दैन । शब्द त छ तर त्यसले शाश्वततालाई छुँदैन ।
हो, यो सङ्क्रमणकाल हो ।
संविधान बन्न बाँकी छ । नयाँ बन्ने संविधानमा सबैलाई अटाउनु छ । सबैको पहिचानको सम्मान र सम्बोधन हुनु छ । साँच्चि भनेको, सबैको पहिचानको सम्मान हुनुपर्छ । त्यसका लागि कवि–लेखकहरू झनै संवेदनशील हुनुपर्छ, तर सबैको सम्मानमा । कुनै एक जाति र धर्मको सम्मानमा होइन, सबै जाति र धर्मको सम्मानमा । सबै भाषा र क्षेत्रको सम्मानमा । तर, यस्तो भइरहेको छैन । कविहरू निश्चित जाति र क्षेत्रका लागि कविता लेखिरहेका छन् । सीमित क्षेत्र र वर्गको पहिचानका लागि जुटिरहेका छन् । यसले त झन् अर्को वर्ग र क्षेत्रका मानिसलाई सीमान्तकृत बनाइरहेको छ । बोलिरहेकाहरू मात्र बोल्ने हो भने आवाजहीनहरूको आवाज कहिले सुनिने ? फेरि हामी मात्र आवाजहीन भनेर ठूलो स्वरमा बोलेर वास्तविक आवाजहीनहरूलाई ओझेलमा पार्ने काम भइरहेको छ । र, दुर्भाग्यपूर्वक भन्नुपर्छ यस काममा केही कविहरू नै अग्रभागमा देखिएका छन् । जुन निकै दुःखद् कुरा हो । कविता भनेकै सबैको भाषा हो । यो सत्ता पक्षको कविता र यो विपक्षी कविता भन्ने हुँदैन । यो सामन्तीको कविता र यो सीमान्तकृतको कविता भन्ने हुँदैन । तर, अहिले कवितामा कित्ताकाटको काम गर्दै छन् केही कवि ।
यसरी नेपाली कविता अहिले सङ्कटमा छ । केही सीमित मिडिया र व्यक्तिले कविताको मापन गरिरहेकाले पनि यस्तो भएको हो । कवि र पाठक दुवैलाई दिग्भ्रमित बनाउन केही मिडिया र व्यक्ति हात धोएर लागेका छन् । यसमा केही कविहरूको सक्रियता झन् डरलाग्दो छ ।
यही अवस्थामा केही महत्वपूर्ण कविहरूले कविता लेखिरहेका छन् । जो साँच्चि नै कविता लेखिरहेका छन् र यो दिग्भ्रमित समयलाई चिरेर अघि बढिरहेछन् । निश्चित क्षेत्र, वर्ग र जातबाट उठेर सबैका लागि कविता लेखिरहेका छन् । जसका कारण सङ्कटमा पनि कविताको लाज जोगिएको छ ।
यिनैमध्ये एक कवि हुन् भोजराज न्यौपाने । समानता र सबल समाजको निर्माणका लागि सबैसम्म आफ्नो विचार पु-याउनुबाहेक भोजराजको कवितासँग अरू आग्रह छैन । कविताले केही सीमित मान्छेलाई खुसी पार्ला कि नपार्ला भन्ने उनलाई कुनै पिरलो पनि छैन । उनी कविता लेखिरहेका छन् र समानताको पक्षमा वकालत गरिरहेका छन्– त्यो पनि कविताकै शिल्पमा ।
यसै वर्ष प्रकाशित उनको ‘छुटेको जुत्ता’ कविता कृति एउटा उपलब्धि हो । यसभित्र रहेका कविताले नेपालको बदलिँदो राजनीतिक अवस्था, यसले आममानिसमा पारेको प्रभाव र सपनाको कुरा गरेको छ । निर्दोष मानिसमा बाँडिएको आशा र त्यसले बिस्तारै थप्दै गरेको निराशा कविताको मुख्य आधारभूमि हो । यही आधारभूमिमा टेकेर कवि भोजराजले कविता लेखेका छन् । र, अधिकांश कविता आममानिसको अभिव्यक्ति बनेका छन् ।
भोजराजको कवितासँगको लगन पुरानो हो । कुनै समय उनी पत्रकारिता गर्थे । त्यसैताका उनी कवितासँग निकै झ्याम्मिए । त्यसो त दोलखामा जन्मिएका यी कवि विद्यालयकालीन अवस्थादेखि नै कविता लेखिरहेका थिए । विद्यालयका प्रतियोगिताहरूमा पुरस्कार टप्काउँथे । शिक्षकहरू पनि उनलाई कविता लेख्न हौस्याउँथे । तर, पत्रकारिताका लागि पोखरा पुगेपछि भने उनको कविताले मूलधारमा निकै राम्रो पकड बनायो । जुन अहिले पनि कायम नै छ ।
अहिले भोजराज पेसाले व्यवसायी हुन् । तर, उनको कवितासँगको प्रेम घटेको छैन । झन् बढेको छ । कवितासँगको प्रेमले उनलाई कवितालेखनमा प्रतिबद्ध पनि बनाएको छ ।
कथात्मक शैलीका ३६ वटा कविताको ‘छुटेको जुत्ता’मा माओवादीको जनयुद्धताका नागरिकले भोग्नुपरेका पीडा र गणतन्त्रपछिको नेपाल चित्रण गरिएको छ । एक अर्थमा यो तत्कालीन समयको तस्बिर पनि हो । यसमा द्वन्द्वबाट आहात मानसिकताको चित्रण गरिएको छ । युद्धको विभीषिका र त्यस विभीषिकाले ग्रसित आमनेपालीको अवस्थामाथि कविता लेखिएको छ । कति कवितामा घटना छन् । ती घटनाले दिएको घाउ छन् । घाउबाट आहत मानिस र तिनका आँखामा आसुँसँगै बगिरहेका सपनाहरू छन् ।
सरल शब्दमा कथानक छनक दिन माहिर भोजराजले आफ्ना कवितालाई मानवीय छटपटी र पीडाको अभिव्यक्ति बनाएका छन् । मुलुकले भोगिरहेका घात–प्रतिघात कवितामा उनिएको छ । विशेषतः माओवादी युद्धका बेला बन्दुकको चेपमा परेका मान्छेका कथा छन् सङ्ग्रहमा । द्वन्द्वले मान्छेलाई मान्छे भएर बाँच्न गाह्रो भएको सत्य कवितामा उद्घाटित भएको छ । कवितामा सरलता, सरलतामा सुन्दरता भोजराजको विशेषता भने पनि हुन्छ । उनले सरल भाषामा गहन भाव पस्किएका छन् । त्यही भएर ‘छुटेको जुत्ता’ पठनीय कृति बनेको हो ।
यसअघिको भोजराजको कृति ‘आकाशमाथिका देवता’बाट प्रभावित म ‘छुटेको जुत्ता’ पढेपछि निकै हौसिएको छु । नेपाली कविताको वर्तमान अवस्थामा सन्तोष लिन सकिने ठाउँहरू पनि छन् भन्ने लागेको छ ।