०४६ को प्रजातन्त्रपछि राजधानीमा भएको एक बालिका बलात्कारको घटनालाई लिएर तत्कालीन अन्तरिम सरकारका गृहमन्त्री योगप्रसाद उपाध्यायले महिला सुरक्षाका लागि दिएको अभिव्यक्तिले निकै चर्चा पाएको थियो । उक्त बलात्कार र महिला सुरक्षाका सवालमा उनले महिलाले आफू सुरक्षित रहन लामा–लामा नङ पाल्नुपर्ने र खुर्सानीको धुलो साथमा बोकेर हिँड्नुपर्ने बताएका थिए । गृहमन्त्रीको त्यसप्रकारको गैरजिम्मेवार अभिव्यक्तिको त्यतिबेला खुब आलोचना भएको थियो । यदि त्यतिबेलैदेखि बलात्कारका मुद्दामा कडा सजाय गरिएको भए अहिलेसम्म यसप्रकारका घटनामा कमी आएको पनि हुन सक्थ्यो । तर, यौन हिंसा तथा बलात्कारलाई हल्काफुल्का विषयका रूपमा लिने प्रवृत्तिका कारण घटनाहरू वर्षौंदेखि दोहोरिइरहेका छन् । अहिले सार्वजनिक यातायातमा महिलामाथि यौन हिंसा हुने गरेको कुरा बाहिर आएपछि बागमती यातायातले महिलाका लागि राजधानीका सडकमा छुट्टै बसको व्यवस्था गरेको छ । बस यात्रामा महिलालाई यौन हिंसा नहोस् भनेर राम्रो उद्देश्यले गरिएको भए पनि यसप्रकारको व्यवस्था समस्याको स्थायी समाधान भने होइन । अहिलेका महिलाको लैङ्गिक भूमिका विगतको तुलनामा निकै परिवर्तन भएको छ । विभिन्न क्षेत्रमा महिलाको सहभागिता बढ्दो छ । बिहान कार्यालय समयमा स्याँस्याँ र फ्याँफ्याँ गर्दै महिलाको दौडादौड देखिन्छ । पुरुषहरू पनि अवश्य नै घरबाहिर काम गर्छन्, तर उनीहरूको दौडाइ महिलाको भन्दा अलि फरक हुन्छ, खासै दौडधुप देखिँदैन, कारण– घरको काम । महिलाको सार्वजनिक लैङ्गिक भूमिकामा परिवर्तन भए पनि घरेलु भूमिकामा जस्ताको तस्तै रहँदा दोहोरो कामको बोझले उनीहरू सधैँ थिचिएका छन् । तर, पुरुषहरूको भूमिका समाज, परिवार र मुलुकमा हिजो जे थियो आज पनि त्यही छ । बाहिरी कामकाजको मात्र भूमिका निर्वाह गर्ने भएकाले महिलालाई जस्तो कामको दोहोरो बोझ अधिकांश पुरुषलाई छैन । कामकाजी महिलाको बढ्दो सङ्ख्यासँगै सडकमा महिलाको ‘मोबिलिटी’ पनि त्यत्तिकै छ । कामकाजी महिलाको कुरा मात्रै होइन गृह व्यवस्थापक महिला पनि कुनै न कुनै कामले बस यात्रा गरिरहेकै हुन्छन् । सडकमा यात्रा गर्दा कतिबेला ‘महिला बस’ आउँछ भनेर पर्खिएर बस्नु त्यति व्यावहारिक होला जस्तो पनि लाग्दैन ।
सार्वजनिक यातायातमा यात्रा गर्नेहरूमध्ये प्रायको अनुभवमा गाडीमा अलि कोचाकोच हुँदा ‘भाइ अब धेरै मान्छे नराख न, उभिने ठाउँ नै छैन’ भनी बसका सहयोगीलाई भन्यो भने ‘आरामले बस्न खोज्नेले त ट्याक्सी चढे भइहाल्यो नि’ भन्ने जवाफ हुने गरेको छ । अब महिलाका लागि छुट्टै बस राखेपछि त झन् महिलाले यसप्रकारको गुनासोको जवाफ ‘आफ्नै बस चढे भइहाल्यो नि, महिलालाई छुट्टै बस छँदै छ क्यारे’ भन्ने पाउन पनि सक्छन् । अर्को कुरा महिलामाथि यौन हिंसा जताततै छ, घर, स्कुल, कार्यालय, सार्वजनिक यातायात अनि कहाँ मात्रै यसप्रकारको व्यवस्था गर्ने ? महिलाले महिलाका लागि अर्थात् विमेन इन डेभलपमेन्टको अवधारणाले त्यति राम्रो परिणाम नल्याएपछि विश्वमै लैङ्गिकता र विकास अर्थात् जेन्डर एन्ड डेभलपमेन्टको अवधारणा ल्याइएको हो । महिला या पुरुष मात्रै हुने स्कुल–कलेजहरूभन्दा केटाकेटी दुवै भएको स्कुल–कलेजमा शिक्षा पाएकाहरू नै बढी आत्मविश्वासी हुने गरेको कुरा पनि विभिन्न अध्ययनहरूले प्रमाणित गरिसकेका छन् । महिला मात्र एकातिर पुरुष एकातिर बनाएर हिंसा कम हुने पटक्कै होइन । के–के कुरामा मात्रै अलग गर्ने ? स्कुल, कलेज या कार्यालय ? महिलाले मात्रै काम गर्ने कार्यालय भन्न थालियो भने के होला ? महिलाका लागि सबैभन्दा असुरक्षित र बढी हिंसा हुने ठाउँ आफ्नै घर हो । घर पनि महिलाका लागि छुट्टै पुरुषलाई अलग्गै भन्ने त पक्कै गर्न सकिँदैन होला । महिलामहिला या पुरुषपुरुषले काम गर्ने स्थानमा भन्दा महिला–पुरुष दुवै मिलेर काम गर्ने ठाउँमा बढी उपलब्धि हासिल भएको पनि अध्ययनले देखाएको छ । साथै विभिन्न मुलुकमा सेनामा काम गर्ने सिपाही तथा अधिकृतहरूले पुरुषहरू मात्रै रहेर काम गर्दाभन्दा महिलाको सहभागिता भएपछि सेनाका कार्यालय तथा ब्यारेकका मेसहरू बढी अनुशासित भएको बताएको भन्ने कुरा पनि अध्ययनहरूमा आइसकेका छन् ।
वास्तवमा भन्ने हो भने यौन हिंसा या कुनै पनि हिंसाको सन्दर्भमा समस्या महिला र पुरुष सँगै हुनु, सँगै काम गर्नु या सँगै यात्रा गर्नुमा होइन मानिसको प्रवृत्तिमा छ, मानसिकतामा छ । प्रवृत्ति अर्थात् ‘एटिच्युड’ नै सबैभन्दा ठूलो समस्या हो । साथै कानुन र त्यसको कार्यान्वयन अर्को महत्वपूर्ण पक्ष हो । यो अनुशासनसँग जोडिएको कुरा पनि हो । हाम्रा अधिकांश परिवारमा छोरीलाई सानैदेखि अनुशासित हुन सिकाइन्छ, तर छोराको सवालमा वास्ता गरिँदैन । हुर्काइदेखि नै उचित नैतिक शिक्षा दिलाउन सके यसले पनि फरक पार्न सक्थ्यो । यदि यौन हिंसामा कडा कानुन हुने हो भने कार्यालय होस् या सार्वजनिक यातायात या घर सबैतिरको अवस्था अहिलेजस्तो नहुन सक्थ्यो । कानुनले कति फरक पार्छ भन्ने कुरा विकसित मुलुकहरूमा हुने व्यवहार र हामीकहाँ हुने व्यवहारलाई हेरेर पनि प्रस्ट हुन्छ । कुनै नेपाली पुरुषले लन्डन या न्युयोर्कको रेस्टुरेन्टमा खान गएका बेला त्यहाँ काम गर्ने वेट्रेसलाई जिस्क्याउन सक्छ ? असम्भव, अनुहारमा एकोहोरो नजर लाउन पनि सक्दैन । तर, हाम्रा दोहोरीदेखि क्याबिनसम्मका रेस्टुरेन्टहरूमा कतिपय ग्राहकले वेट्रेसलाई गर्ने व्यवहारको दृश्य निकै पीडादायी देखिन्छ । हात छुने, सँगै बस्न आउ न भन्ने, व्यक्तिगत कुराहरू सोध्नेदेखि लिएर अश्लील शब्द तथा हाउभाउ, यस्तो कि मानौँ रेस्टुरेन्टहरू देहव्यापार गर्ने स्थल हुन् । आफ्नो देशमा यस्तो व्यवहार गर्ने तिनै कतिपय पुरुषहरू विदेशमा जाँदा भने सोही काम गर्ने वेट्रेसहरूलाई व्यावसायिक व्यवहार गरिरहेका हुन्छन् । किन त ? किनभने यहाँको जस्तै व्यवहार त्यहाँ गरियो भने उनीहरूले तुरुन्तै जेलको छिँडीमा पुग्नुपर्ने हुन्छ र उक्सिनका लागि आफूसँग भएको सम्पत्तिले नपुग्न पनि सक्छ । त्यसैले कानुन र त्यसको कार्यान्वयन महत्वपूर्ण कुरा हो । चाहे सार्वजनिक स्थलमा होस् या घरमा महिलामाथि हुने यौन तथा अन्य प्रकारका हिंसाको न्यूनीकरण गर्नका लागि अस्थायी प्रकारका भन्दा पनि राज्यको तर्फबाट स्थायी समाधान नै खोज्नु आवश्यक छ ।
प्रतिक्रिया