बाँदर्नीको यो ममता
भनिन्छ, आमाको ममताजत्तिको महान् कुरा विश्व–ब्रह्माण्डमै केही छैन । मानव हुन् कि पशुपक्षी र जनावर, मातृत्वका सवालमा एउटै कोटिमा पर्छन् । मातृ–ममताको यस्तै एक अनौठो उपमा भारतको यमुनानगरमा एउटी बाँदर्नीले प्रदर्शन गरेकी छ । उक्त बाँदर्नीले एक–डेढ वर्षीया बालिकामाथि दर्शाउने गरेको मातृ–वात्सल्यले सबैलाई चकित तुल्याएको छ । आफ्नै आमाले भन्दा बढ्ता स्नेह दिएझैँ देखिने उक्त बाँदर्नी र बालिकाबीचको प्रेमका कारण बच्चीका अभिभावक अर्थात् सुल्तान सिंहको परिवारसमेत आल्हादित छन् । सुरु–सुरुमा आफ्नी काखेछोरीप्रति बाँदर्नी आकर्षित हुँदा डराएको सिंह परिवारका सदस्य अहिले ढुक्कले उसैको जिम्मामा बालिकालाई छोडेर काममा निस्कने गरेका छन् । बालिकाप्रति बाँदर्नीको असीम प्यार देख्दा उनीहरू यतिबेला यति खुसी छन् कि उसलाई आफ्नै परिवारको सदस्यको दर्जा दिएका छन् । बाँदर्नी बच्चीसँग खेल्छे, हातले प्रमपूर्वक मुसार्छे, उनीहरू एक–अर्कालाई चुम्बन पनि गर्छन् । उनीहरूबीचको यो स्नेह स्थानीय मानिसबीच कुतूहल र चर्चाको विषय बनेको छ ।
सेक्सको कल्पनाले स्मरणशक्ति बढ्ने
सामान्यतया यौनबारे खुलेर कुरा गर्नु त परको कुरा, सोच्नु मात्र पनि खराब भन्ने हिसाबले हेर्ने गर्छ हाम्रो समाज । तर, सेक्स गर्नु स्वास्थ्यको निम्ति अत्यन्त हितकर हुने सिद्ध गरिसकेका वैज्ञानिकहरू सेक्सबारे सोच्दा पनि दिमागलाई कैयन कोणबाट लाभ पुग्ने निचोडमा पुगेका छन् । सेक्सबारे कल्पना या सोचले दिमाग ‘सार्प’ हुने अध्येताहरूको दाबी छ । डेलीमेलमा प्रकाशित रिपोर्टका अनुसार यौनसँग सम्बन्धित विचारले दिमागलाई तेज तथा मेमोरी पावर वृद्धि गरइदिन्छ । सेक्ससँग जोडिएका विचारले कल्पनाशीलता बढाउँछ भने व्यक्तिको भावनाहरूलाई सक्रिय तुल्याउनुका साथै विभिन्न कुराहरू लामो समयसम्म स्मरणमा राख्न मद्दत गर्छ । सम्बन्धित विज्ञले सेक्सबारे सोचेर दिमागलाई सक्रिय राख्ने तरिका कुनै नयाँ कुरा नभएको भन्दै रोमन सभ्यतामा कैयन विद्वान्, शासक तथा नेताहरूले यौनसम्बन्धी विचारकै माध्यमबाट आफ्नो स्मरणशक्ति ताजा राख्ने गरेका उदाहरण पेस गरेका छन् । रोमन दार्शनिक सिसेरोले आफ्नो शास्त्रार्थको दौरानमा तर्कहरूलाई याद गरिराख्न सेक्ससँग जोडिएका कल्पनाहरूकै सहारा लिएको दस्तावेज भेटिएको अध्येताहरूले जनाएका छन् । ढल्कँदो उमेरका व्यक्तिको स्मरण शक्ति कायम राख्न यौनिक कल्पनाले जादुकै काम गर्ने पनि उनीहरूले दाबी गरेका छन् ।
जोस बढाउन बाघको लिङ्ग
संसारका सबैजसो देशमा बाघको सिकार गर्न प्रतिबन्ध छ, तथापि मानिसहरू लुकिछिपी सिकार गरिरहेकै हुन्छन् । चीनमा एक व्यापारीलाई बाघ मारेकै आरोपमा हालै १३ वर्षको जेल सजाय सुनाइएको छ । यो कुनै आश्चर्यको कुरा त होइन, तर यी व्यापारीको हर्कतचाहिँ अनौठै रहेछ । सी प्याट नामक ती चिनियाँ व्यापारीले १५ व्यक्तिलाई बाघ मारेर टुक्रा–टुक्रा पारी उनको आफ्नो होटलमा पु-याइदिन अर्डर गरेका रहेछन् । कुरो के रहेछ भने सी प्याट बाघको रगत पिउने र बाघकै लिङ्गको रक्सी बनाई पिउन सौखिन रहेछन् । आफ्ना खास साथीभाइलाई पार्टी दिनुपर्दा उनी बाघकै लिङ्को रक्सी र सितन पनि बाघकै मासु खुवाउन रुचाउँदा रहेछन् । यसरी बाघको मासु र लिङ्गको मदिरा सेवन गर्दा सेक्स पावर बढ्ने उनको विश्वास रहेछ । एक सिकारीले उजुर गरेपछि यस्तो महँगो सोख पाल्ने ती व्यापारी कानुनी कठघरामा पुगेका हुन् ।
पत्नी पाउन यस्तो सास्ती
विश्वभर जति पनि देश छन्, सबैका आ–आफ्नै मौलिकता झल्किने खालका चालचलन, रीतिरिवाज तथा परम्परा रहेका छन् । कसैका परम्परा अत्यन्त स्वाभाविक किसिमका हुन्छन् भने कतिपयका रीतिरिवाज अनौठा प्रतीत हुन्छन् । एक–अर्काका लागि अनौठो र अटपटेजस्तो लागे पनि आफ्नो चालचलन सम्बन्धित नागरिकलाई प्रिय तथा कर्तव्यसमान हुन्छ । चीनमा चलिआएको यस्तै एक पुरानो चलन पनि कतिपयका लागि अनौठो लाग्न सक्छ । जस्तो कि हामीकहाँ विवाहपछि दुलहा–दुलही एक–अर्काको हात समातेर बडो आरामका साथ गृहप्रवेश गर्न सक्छन्, तर छिमेकी चीनमा भने परम्परा पछ्याउन चाहनेका निम्ति त्यही काम कठिन छ । त्यहाँ नयाँ दुलही घर भित्याउनुअघि दुलहाले उनलाई आफ्नो काखमा बोकेर आगोको भुङ्ग्रोमाथिबाट नाङ्गै खुट्टा गुज्रनुपर्ने हुन्छ । निकै पुरानो परम्पराका रूपमा रहेको सो प्रक्रिया पूरा गरेपछि सन्तान जन्माउने बेला महिलालाई प्रसव पीडाबाट मुक्ति मिल्ने चिनियाँ जनविश्वास रहेको छ ।
प्रतिक्रिया