तेस्रो रंग कथासङ्ग्रह पढिसकेपछि मलाई एक किसिमको अन्योल भयो ।
उषा शेरचनलाई अब के भन्ने ? कवि भन्ने कि कथाकार ? अब उनलाई सरल मुक्तकार भन्ने कि सम्भावनायुक्त आख्यानकार ? १६ वटा कथा समेटिएको करिब २०० पृष्ठको तेस्रो रंगले मलाई निकै समय बिथोल्यो । विशेषगरी कथाकार उषाले छनोट गरेको विषय र मिहिन रूपमा उठाइएका महिलाका दुःखहरूले । सङ्ग्रहभरि बल्ग्रेती छरिएर रहेका छन् महिलाका दुःख । दुःख पनि कस्ता भने तपाईं–हामी सबैले देखिरहेका तर मतलब नगरिरहेका दुःखहरू । ती दुःखलाई उषाले आफ्ना कथाहरूमा सजह रूपमा उतारेकी छिन् ।
कविता र गीत लेखिरहेको मानिसको भाषा त सुन्दर हुने नै भयो, अझ विषयको विविधताले सङ्ग्रहलाई थप पठनीय बनाएको मेरो ठम्याइ छ । त्यसो त उषाका भाषामा काव्यात्मकता कम र सरलता ज्यादा भेटिन्छ । यो नै एक किसिमको विशेषता पनि हो । सहज रूपमा पाठकलाई आफ्ना कुरा बुझाउन सक्नु चानचुने कुरा होइन ।
पछिल्लो समय आख्यान विधाका धेरै किताब आएका छन् । आख्यानप्रति लेखक–कविको आकर्षण पनि बढ्दो छ । उपन्यासको त बाढी नै आएको छ भने पनि हुन्छ । जो पनि उपन्यास लेख्ने । जसको पनि उपन्यास छापिने । अझ डरलाग्दो कुरा त साहित्यइतरको क्षेत्रमा चर्चित रहेका मानिसको उपन्यास पो आउन थाल्यो । त्यो पनि सामान्य र सस्ता विषयमा । रहरले जो पनि कहाँ लेखक बन्न सक्छ र ? लेखन एउटा साधना हो । लेखनका लागि निकै ठूलो धैर्यता र प्रतिबद्धता चाहिन्छ । यो सब भुलेर एकथरी मानिसको समूह सामान्य र सस्ता विषयलाई समातेर साहित्यमा प्रवेश गरिरहेको छ । त्यो समूहले लेखनलाई फेसनजस्तो बनाउने प्रयास गरिरहेको छ । जो पनि लेखक र जसलाई पनि लेखक बनाउने सिलसिला सुरु भएको छ । भला यसबाट असल लेखक आत्तिनुपर्ने त छैन तर पाठकहरू दिग्भ्रमित हुन सक्ने खतरा भने रहिरहन्छ ।
यस्तो अवस्थामा एउटा प्रतिबद्ध कवि गीतकार आख्यानमा छिरेकी छिन् । छोटा र सुन्दर कथाहरूका साथ । उषा शेरचनको तेस्रो रंग प्रतिबद्ध लेखनको छनक दिन सफल छ । मलाई लाग्छ, पहिलो कथासङ्ग्रह यति मजबुत हुने कथाकारका अन्य कथाहरू अझ प्रभावकारी हुनेछन् ।
उषाले आफ्नो कथाहरूमा सांस्कृतिक विविधता र त्यसको छायामा पिल्सिएका महिलाका सन्दर्भलाई उठाएकी छिन् । उनको लेखनको ध्येय भनेको सामन्ती संस्कार र परम्परावादी सोचको अन्त्य हो । समभाव र सद्भाव उनको कथाको मर्म हो । उनी आफ्ना कथाहरूमा उग्रनारीवादी सोचबाट मुक्त छिन् । नारी अधिकारका ठूला–ठूला नाराहरू उषाका कथामा छैनन् । कथामा केवल मानवीय सोच छ । समानताको कुरा छ । विभेदको अन्त्यको चाहना छ । सफल र सहज जीवनको अपेक्षा छ । सबैको सपनाको सम्मान छ ।
हिमाली भेगमा अझै विद्यमान रहेको बहुपतिप्रथा माथि लेखिएको ‘अर्को क्षितिज’ कथा, सङ्ग्रहको शक्तिशाली कथामध्ये एक हो । यस कथाले विषय उठान मात्र गरेको छैन, हिमाली भेगको परिवेश र जीवनशैलीलाई सुन्दर तरिकाले चित्रण पनि गरेको छ ।
सङ्ग्रहमा राम्रा कथाहरू धेरै छन् । ‘तेस्रो रंग’ र ‘सीमातीत अस्मिता’ पनि त्यत्तिकै सुन्दर कथा हुन् । उषाका अधिकांश कथामा नारीको पीडापूर्ण छटपटी, अत्याधुनिक प्रविधिले दिएको दुःख, संस्कार र संस्कृतिको नाममा थोपरिएका अप्ठ्याराहरू र दुव्र्यसनीको दूरावस्था भेटिन्छन् ।
तेस्रो रंगभित्रका १६ वटै कथाले उषा शेरचनको सुल्झिएको विचारलाई प्रस्ट पार्छ । केही लेखक आफूले छनोट गरेको विषय र सन्दर्भप्रति स्पष्ट हुन नसक्दा कथा कथा नबनेर अरू नै बन्न पुगेका छन् । उषाको कथाकारिता यस मानेमा सफल छ । उनका कथाको विषय र लेखनको ध्येयसँग उनी स्पष्ट छिन् । सङ्ग्रहमा उनले लेखेकी पनि छिन्, ‘यी सबै कथा समाजमा विद्यमान र उठाउनैपर्ने मुद्दाहरूमा लेख्ने विचार गरेर लेखिएका कथाहरू भएकाले मेरा कथाका पात्रहरू काल्पनिक मात्रै हुन् भनेर सोह्रै आना ढाँट्न सक्दिनँ म । जिन्दगी जिउने क्रममा ठोक्किन पुगेका पात्रहरूलाई मैले अलिकति कल्पनाको जलप लगाइदिएकी मात्रै हुँ । यस्ता पात्रहरूसँग भेटिनु पनि संयोग नै हुनुपर्छ सायद । हुन त हाम्रो जीवन पनि संयोगै संयोगको संयोग हो भन्छु म ।’
उषाको कथाकारिताको सबल पक्ष भनेको लेखन बोझिल नहुने नै हो । नयाँ र प्रयोगको नाममा बोझिल लेख्नेहरूले कथा साहित्यलाई पाठक विमुख पारिरहेको बेला उषाका कथाहरू पाठकमैत्री भएर आएका छन् । उनका कथाहरूले कथाका पाठक बढाउनेछ भन्नेमा म विश्वस्त छु । त्यसो त नेपाली कथा साहित्यका अध्येता डा. दयाराम श्रेष्ठ सम्भवले समेत उषाका कथालाई पाठकमैत्री भएको दाबी गरेका छन् । तेस्रो रंगको भूमिकामा श्रेष्ठले लेखेका छन्, ‘सम्यक सीमासम्म कवि उषा शेरचनको काव्यिक चेतनाले सिँञ्चित तेस्रो रंगभित्र सङ्ग्रहृत कथाहरू कुनै पनि प्रयोगवादी नभएर मनमस्तिष्कमा प्रेमपूर्ण आवाज दिने सादा र सरल ढङ्गका हुनु फेरि पनि उद्देश्यमा कतै विचलित नभई कथाले पाठकलाई अन्त्यसम्म कथागत सम्मोहनमा पारिरहनु नै कथाकार उषा शेरचनको कथाकारिताको परिचय हो भन्ने ठान्दछु । पाठक वर्गलाई बिर्सेर आफूमात्र अघि बढ्दै बुझ्नै कठिन हुने शैलीवादी कथालेखनमा प्रवृत्त हुने स्वभाव यी कथाहरूले पटक्कै नदेखाउनु साह्रै चित्तबुझ्दो लाग्यो ।’
त्यसो त उषाको कथालेखनका केही सीमा छन् । कथा सरल बनाउने क्रममा केही ठाउँमा विवरणात्मक हुन पुगेको छ । कति संवाद र घटनाहरू कथामा पटकपटक आएजस्तो लाग्छ । कथाका लागि विषय छनोट गरेझैँ कथा बुनोटमा पनि विविधता ल्याउन सके उषाका कथाहरू थप शक्तिशाली हुने थिए भन्ने मलाई लाग्छ ।
प्रतिक्रिया