अजरबैजानको अकल्पनीय अनुभव – मणि लोहनी

अजरबैजानको अकल्पनीय अनुभव – मणि लोहनी


Mani Lohaniउषासँग मेरो भेट साहित्यले नै गराएको हो ।
लोकेन्द्र शाह मलाई औधी मन पर्ने कवि । उनकी दिदी छिन् इन्दिरा शाह । लोकेन्द्र बितेको वर्षौंपछि इन्दिरासँग तिनकुनेस्थित एउटा घरको छतमा भेट भयो– बार्बीक्युमा । उनी भर्खरै जापानबाट फर्किएकी थिइन् । हो, त्यतिखेर इन्दिरासँग भेट हुँदा मलाई लोकेन्द्रलाई नै भेटेझैँ लागेको थियो । लोकेन्द्रको कविता र पत्रकारितामा उसले देखाएको निडरपनाको म प्रशंसक हुँ । क्रेजी फ्यान ।
इन्दिरा कथा लेख्छिन् । राम्रा कथा लेख्छिन्, तर अल्छी छिन् । अल्छी भएकैले होला अहिलेसम्म उनका कथाका किताब निक्लिएको छैन । इन्दिरा कै साथी हुन् उषा हमाल । उनैले मलाई उषासँग परिचय गराइदिएकी । उषा मेरो कथा र कविताको प्रशंसक ।
उषाभित्रको बौद्धिकता, उनले कम बोलेकै अवस्थामा पनि प्रस्ट हुन्थ्यो । उनीसँगका हरेक भेटमा मैले केही न केही नयाँ कुरा सिकेको छु । उषा गम्भीर र मिहिनेती मानिस हुन् । उनी हरेक लेखनमा त्यत्तिक्कै गम्भीर छिन् जति बोली र व्यवहारमा ।
एक दिन मैले उषालाई निकै हैरान अवस्थामा भेटेँ ।
‘आज निकै नमिठो लागेको छ । मेरो त कुनै पनि कविता राम्रा भएनन् रे । कविता लेख्नलाई मैले धेरै पढ्न बाँकी छ रे !’ उनले भनिन् । भएको के रहेछ भने एकजना कविले उनका कुनै पनि कविता कविताजस्ता भएनन् भनिदिएछन् । त्यति मात्र हो र ? उनले राम्रा कविता लेख्नका लागि फलानो–फलानोको कविता पढ्नु भनेर सुझाव पनि दिएछन् । उनले दिएको सुझावअनुसार पढ्नुपर्ने कविको नाममा मेरो नाम पनि रहेछ ।
मैले उनका कविताहरू हेरेँ । सबै कविता एक से एक छन् । जो कविले उनलाई सुझाव दिएका थिए । तिनी कविता कलात्मक हुनुपर्छ भन्ने र आफ्ना कविताहरू मात्र राम्रा भन्ने खालका कवि रहेछन् । उनलाई के थाहा रहेनछ भने कविताको शक्ति भनेको विषय या अनुभूति नै हो । अझ चलनचल्तीको शब्दमा भन्ने हो भने विचार नै हो । उषाका सबै कवितामा गहिरो अनुभूति भेटेँ मैले । विचारको प्रबल उपस्थिति भेटँे मैले ।
‘तपाईं अरूका कुरा नसुन्नुस् । तपार्इंका सबै कविता राम्रा र शक्तिशाली छन् । तपाईंले केही सीमित कविका लागि कविता लेखेको होइन, आममानिसका लागि हो । आम मानिसले तपाईंको कविता मन पराउनेछन् । ढुक्क हुनुस्,’ मैले भनेँ । उषा उत्साहित भइन् । उषाको अनुहारमा त्यतिखेर देखिएको खुसी उनका कविताभन्दा कम सुन्दर थिएन ।
उषा कथा पनि लेख्छिन् । तर, निबन्धमा उनको राम्रो दख्खल छ । जीवन भोगेका र संसार देखेका मानिसले लेखेको निबन्धबाट लिन सकिने र बुझ्न सकिने कुराहरू धेरै हुन्छन् । उषाका निबन्धहरू त्यस्तै छन् । लिन सकिने र बुझ्न सकिने कुराहरू धेरै भएका ।
आजको प्रसङ्ग हो, उषा हमालको । उषाको नयाँ नियात्रासङ्ग्रह ‘सागओल अजरबैजान’को । यो कृति सङ्क्रमणको संवेदनाले भरिएको छ । राजनीतिक सङ्क्रमणले दिनप्रतिदिन आफ्नो देश र यहाँका जनप्रतिनिधिहरूप्रति वितृष्णा बढिरहेको बेला मैले अजरबैजानको सङ्क्रमण पढ्न पुगँे । त्यहाँको संवेदना र लेखकको अनुभूतिको गहिराइमा निकैबेर डुबिरहेँ । लामो समय रुसी साम्राज्यअन्तर्गत रहेर अजरीले मौलिकता गुमाएको कथा पढेँ । किताबभरि अजरीले रुसी व्यवस्थाले आफूहरूलाई सुविधा दिए पनि परजीवी बनाएको पीडा पोखेका छन् । उषाले रुसी शासन र अहिलेको शासनको बीचको खाडल, त्यसको सङ्क्रमणले नागरिकमा परेको प्रभाव निकै संवेदित रूपमा प्रस्तुत गरेकी छिन् ।
अजरबैजानमा कार्यरत श्रीमान्सँगको दुईवर्षे बसाइका क्रममा उषा हमालले नियात्रा कृति तयार पारेकी हुन् । कृतिमा उषाको लेखकीय क्षमता यसै दरिलो बनेको होइन । यसमा उनका श्रीमान्को भाषिक तथा समाजशास्त्रीय बोध, कामदार जुल्पिकया र सैमुललगायत अन्य केहीसँगको अन्तरसम्बन्धले कृति गहकिलो बनेको हो । यसमा अजरी समाजका आकर्षक विशेषता र तथ्य समेटिएको छ ।
२२ वटा नियात्रा सङ्ग्रहित यस कृतिमा अजरबैजानको भूगोललाई अत्यन्त आत्मीयता र आदरका साथ उषाले उतारेकी छिन् । यसमा अजरीहरूको दिनचर्या, जीवनशैली, रीतिथिति, चाडबाड सबै पढ्न सकिन्छ । अजरी केही प्रचलनहरूले किताब पढिरहँदा पाठकहरूलाई रोमाञ्चक अनुभूति गराउनेछ । हामीले कल्पना नै नगरेका त्यहाँका चलनलाई उषाले सजीव रूपमा लेखेकी छिन् ।
किताबमा ३० अगस्ट १९९१ मा रुस तथा अर्मेनियासँगको लडाइँपछि स्वतन्त्र मुस्लिम बाहुल्य अजरबैजान र त्यसअघिको दुईवर्षे स्वायत्त इतिहास, कला, संस्कृति र सामाजिक मान्यताबारे रोचक एवम् मर्मस्पर्शी अनुभूतिहरू छन् । अजरबैजानको तेल निर्यात क्षमता, समुद्र तथा पहाडमा तेलको अवस्थिति, नुनिलो पानीको कारण समुद्र निकटस्थ कृषि उत्पादन हुन नसक्ने अवस्था, फलफूल उत्पादन सक्षमता, अजरी समाजको विशाल हृदय, हिमपातको सौन्दर्य तथा कठिनाइ, नाचमा रमाउने अजरी स्वभावलगायतका अकल्पनीय सन्दर्भहरूले किताबलाई थप पठनीय बनाएको छ । उषाका कैयौँ विषय स–साना र निजी भोगाइजस्ता लागे पनि तिनमा पाठकलाई सम्बोधन गर्ने कला र क्षमता प्रचुर मात्रामा छ ।
युरोप–अमेरिकाका धेरै नियात्रा कृतिहरू बारम्बार आइरहेका बेला यो नयाँ र भिन्न मुलुकको नियात्रा आएको छ । यस कृतिले हामीलाई नयाँ मुलुकको भ्रमण गराउनेछ । सन् २००२ देखि २००४ सम्मको समयमा अजरबैजानमा आफूले भोगेको अकल्पनीय अनुभूतिहरू समेटेर उषाले किताब तयार पारेकी हुन् ।
उषाको सागओल अजरबैजान पढिसकेपछि म निकै उत्साहित भएको छु । उषा विशिष्ट शब्दसंयोजनको क्षमताले भरिएकी लेखक हुन् । उनका सबै निबन्ध अतिशय भावुकताबाट जोगिएको छ । मलाई लाग्छ– उषाको लेखनको शीर्ष उपलब्धि पनि यही हो ।
उषा राम्रो लेखक हुन् । तर, खोटरहित लेखक भने होइनन् । त्यसो त चुप लागेर बस्नेभन्दा केही न केही गर्नेको नै खोट देखिने हो । किताबमा केही भाषिक समस्या छन् । कुनै–कुनै निबन्ध बोझिलो बनेको छ । कति निबन्धलाई छरितो बनाउन सकिने ठाउँ हुँदाहुँदै पनि लेखकले त्यो मिहिनेत गरेको देखिँदैन । र, केही निबन्धहरूमा अजरीहरूको बोलीचालीका भाषाले केही अप्ठ्यारो महसुस हुन्छ । तर, निबन्धहरूमा रहेको अकल्पनीय अनभूतिका अघिल्तिर ती अप्ठे्याराहरू साना र मसिना लाग्छन् ।