प्रेमको यो नमुना
भनिन्छ, प्रेम कुनै बन्धनमा रहन सक्दैन, हृदय मिल्यो कि प्रेम भइहाल्छ । जाति, धर्म, भाषाजस्ता कुरा र बाहिरी सुन्दरताले आदर्श प्रेममा कुनै महत्व राख्दैन । भित्री सुन्दरताको पुजारी हुन्छ वास्तविक प्रेम । प्रेमको यही परिभाषालाई अमेरिकाको एरिजोना राज्यनिवासी मिन्डी निस नामक युवतीले व्यवहारबाटै सिद्ध गरेकी छिन् । अत्यन्त आकर्षक रूप र शरीरकी धनी मिन्डीका पति सिन स्टिफेन्सन भने जम्मा दुई फिट आठ इन्चका विकलाङ्ग हुन् । बोन डिसअर्डरको सिकारका कारण स्टिफेन्सनको शारीरिक विकास हुन सकेन, तर उनको मानसिक समृद्धि भने स्वाभाविक रूपले नै भयो । मिण्डी आफ्नो पतिको उचाइका कारण कहिल्यै दुःखी भइनन्, बरु आफैँले रोजेर विवाह गरेकी उनी आफ्ना ती अढाइफिटे श्रीमान्प्रति अत्यन्त गौरवान्वित र सन्तुष्ट छिन् । सिनजत्तिको सेक्सी पुरुष आफूले अरू कोही नदेखेको अभिव्यक्ति दिने उनी आफ्नो यौनजीवन पनि अत्यन्त सुखदायक रहेको हाकाहाकी बताउँछिन् । शारीरिक विकलाङ्गताका कारण सेक्सुअल रिलेसनमा केही अप्ठ्यारो हुने स्वीकार गरे पनि आफूलाई कुनै समस्या नरहेको र सर्वाधिक सन्तुष्ट महिला ठान्ने गरेको मिण्डीको कथन छ । पेसाले दुवै मोटिभेसनल स्पिकर रहेका मिण्डी र सिनको प्रेम हार्दिक प्रेमको एक उत्कृष्ट उपमा नै होइन त ?
फेसबुकको फन्दा
इनटरनेटमा सोसल नेटवर्किङ साइटहरूको अत्यधिक प्रयोगले ‘एडिक्ट’ तुल्याएर काममा अवरोध मात्रै नपु-याई गम्भीर प्रकृतिका रोगसमेत निम्त्याउने एक अनुसन्धानले देखाएको छ । फेसबुकलगायतका साइटहरूको ज्यादा प्रयोगका कारण आवेगमाथि नियन्त्रण गर्ने क्षमतामा ह्रास आउने र मादक पदार्थ सेवनतर्फ व्यक्तिलाई अग्रसर तुल्याउने अल्बानी विश्वविद्यालयकी शोधकर्ता एवम् मनोवैज्ञानिक जुलिया होर्मेसको दाबी छ । उनले अठार वर्षभन्दा माथिका करिब तीन सय छात्रछात्रामाथि अनुसन्धान गरेपछि यस्तो दाबी गरेकी हुन् । शोधमा संलग्न गराइएकामध्ये ९० प्रतिशत विद्यार्थी आफूले प्रयोग गर्ने सोसल नेटवर्कमध्ये अधिकांश समय फेसबुकमा व्यतित गर्ने गरेका भेटिएको जुलियाको कथन छ । उनीहरूलाई केही समय फेसबुकको प्रयोग गर्नबाट अलग्याउँदा उनीहरूमा रिसाउने, झर्किने स्वभाव देखापरेको र कैयनमा आवेग नियन्त्रणको क्षमता गुमेर मदिरा सेवनतर्फ धकेलिएको पाइएको थियो ।
यिनको यो प्रतिभा कि जादु ?
मानिसहरू मनोरञ्जन लिन या दिनका लागि अनेक व्यवहार प्रदर्शन गर्छन् । व्यक्तिगत आनन्दकै लागि ज्यानकै बाजी लगाउन पछि नपर्ने संसारमा कैयन छन् । यस्तैमध्येकी एक हुन् लन्डनकी यी महिला, जो मस्तीका लागि अनौठा–अनौठा व्यवहार देखाउँछिन् । एउटा जमघटमा त यिनले पार्टीको माहोल जमाउनका निम्ति यतिसम्म गरिन् कि उपस्थित दर्शकहरूको होस् नै उड्यो । गफैगफमा महिलाले झन्डै डेढ फिट लामो फलामे डन्डी निल्न सक्ने दाबी गरिन् । उनले त्यसो गर्न नसक्ने र सके पनि गर्न नहुने सुझाव वरपर झुम्मिनेहरूले दिँदादिँदै महिलाले रड मुखमा घुसाइन् । त्यति लामो रड निलेर उनले फेरि जस्ताको तस्तै बाहिर निकालिन् । लगभग पूरै रड मुखबाट शरीरभित्र घुस्दा पनि उनको अवस्था भने सामान्य देखेर सबै चकित परे । महिलामा न घाउचोट न कुनै अप्ठ्यारोपन नै थियो । उनको त्यो जादु हो या विशेष प्रतिभा, कसैले ठम्याउन सकेका छैनन् ।
बिल गेट्सले पिए मलमूत्र
मलमूत्र भन्नेबित्तिकै घिन मानेर नाकमुख खुम्च्याउने चलन जहाँसुकै छ । यस्तोमा मानिसकै दिसा–पिसाबबाट बनाइएको पानी, त्यो पनि कुनै दुःखी–दरिद्रले नभई विश्वकै धनी बिल गेट्सले पिए भन्ने सुन्दा आश्चर्य नमानीरहन सकिन्न । तर, यो यथार्थ हो, माइक्रोसफ्ट कम्पनीका संस्थापक गेट्सले मलमूत्रबाट निर्मित पानी आरामले पिएर देखाइदिएका छन् । बिल गेट्सले यसो गर्नुको खास उद्देश्य छ– उनले शौचालयको प्रदूषित पानीलाई स्वच्छ पेयजलमा रूपान्तरित गरेर आममानिसलाई आपूर्ति गर्ने परोपकारी कामको जिम्मेवारी उठाएका छन् । उनको यस अभियानलाई साकार रूप दिन सियाटलको एक कम्पनी ‘जैनिकी बायो–इनर्जी’ले काम गरिरहेको छ । त्यही कम्पनीले मलमूत्रलाई शुद्धीकरण गरी तयार पारेको पानी बिल गेट्सले पिए र पूरै शुद्ध र स्वादिष्ट भएको बताएका हुन् ।
प्रतिक्रिया