साउदी राजा अब्दुल्लाह अजिज अल साउदको मृत्यु भएको छ । सन् १९२४ अगष्ट १ मा जन्मिएका उनको ९० वर्षको उमेरमा शुक्रबार निधन भएको हो । अधिनायकवादी शासन–व्यवस्थाभित्रका सुधारवादीसमेत भनिने राजा अब्दुल्लाहलाई मुख्यगरी आर्थिक तथा सामाजिक क्षेत्रमा रचनात्मक सुधार गर्न सफल भएको कारण साउदीमा उनलाई ठूलो सम्मान दिइने गरिन्छ ।
सन् २००७ सम्म आइपुग्दा एसियाको बलियो अर्थतन्त्रमध्ये मानिने साउदीको अर्थतन्त्रमा विभिन्न किसिमका समस्या देखापरे । जसले गर्दा एसिया क्षेत्रमा मात्र नभई युरोप तथा अमेरिकाको अर्थतन्त्रमा समेत नकारात्मक असरहरू प्रस्टसँग देखिए । यो अवस्थामा राजा अब्दुल्लाहले अर्थविद्हरूको एक समूह बनाई सङ्कट निवारणको उपाय सुझाउन लगाए । उक्त समूहले दिएको सुझाबअनुसार अब्दुल्लाह सरकारले सन् २००७ को अन्त्यतिर एक आयोग गठन गरी आर्थिक सुधार अघि बढाए । जसले गर्दा साउदी अरब ठूलो आर्थिक दुर्घटनाबाट बच्न सफल भयो ।
विल्लेषकहरूका अनुसार निधन भएका राजा अब्दुल्लाहको एउटा ठूलो सपना थियो । जुन उनी जीवित छँदासम्म पूरा हुन सकेन । त्यो हो साउदीलाई केवल तेल–मुलुकको रूपमा मात्र नचिनाई जुझारु र सफल महिला तथा पुरुषको देश भनेर चिनाउने । सन् १९८२ देखि २००५ सम्म राजा अब्दुल्लाह पूर्वराजा तथा उनका सौतेनी दाजु फहाद विन अब्दुल अजिजका उत्तराधिकारी रहे । सन् २००५ मा राजा फहादको निधन भएपछि उनी राजा भएका थिए ।
सन् २००५ मा राजा हुनेबित्तिकै अब्दुल्लाहले आर्थिक तथा सामाजिक क्षेत्रमा परिवर्तन गर्ने उद्देश्यले नयाँ उदारवादी योजनाहरू सार्वजनिक गरेका थिए । उनले साउदीको इतिहासमै पहिलोपटक त्यहाँको संसद् भनिने मजलिस अल शुरामा ३० जना महिलाका लागि कोटा व्यवस्था गरी सदस्यसङ्ख्या एक सय ५० पु¥याएका थिए । साउदी मामिलाका जानकारहरूका अनुसार अब्दुल्लाह नै पहिलो राजा थिए जो साउदीका सबैजसो बस्तीमा पुगेर आमजनताका समस्यालाई नजिकबाट हेरी समाधान गरिदिएका थिए ।
राजा अब्दुल्लाहले साउदीमा रहेका इस्लाम गुरुहरूलाई कट्टरपन्थी नहुन र बदलिँदो अवस्थाअनुसारको शिक्षा प्रवाह गर्न पटकपटक आग्रह गरेका थिए । जसको पश्चिमा सञ्चारमाध्यमहरूले समेत महत्वका साथ प्रकाशन तथा प्रसारण गर्ने गर्दथे ।
इस्लामिक कानुनमा आधारित अदालती व्यवस्थामा केही परिवर्तन गरी न्याय क्षेत्रमा समेत उनले सुधारको थालनी गरेका थिए । सन् २०११ म केही अरेबियन देशहरूमा देखापरेको व्यापक आन्दोलनलाई मध्यनजर गर्दै उनले अर्बौं डलरबराबरको जनतालाई प्रत्यक्ष सहयोग दिन मिल्ने खालको सहायता घोषणा गरेका थिए । निजी क्षेत्रलाई विश्व बजारमै प्रतिस्पर्धी बनाउन अब्दुल्लाहले पटकपटक विभिन्न नीतिहरूद्वारा प्रोत्साहन गरिरहन्थे ।
साउदी अरब विश्वकै पुरानो मुलुकमध्ये पर्दछ । सदा अधिनायकवादी राजतन्त्र व्यहोरेको यो मुलुक विश्वकै ठूलो तेल उत्पादक मुलुक पनि हो । जसबाट प्राप्त हुने आय आर्थिक तथा सामाजिक क्षेत्रमा लगानी गर्ने गर्दछ । यहाँको नाटकीय विकासका कारण विश्वभरका मानिस रोजगारीको खोजीमा साउदी पुग्छन् । नेपाली कामदारका लागि पनि साउदी एक महत्वपूर्ण गन्तव्य हो । आर्थिक रूपमा मजबुत भए पनि प्रजातान्त्रिक हक–अधिकार नभएको तथा मानवअधिकारको नाजुक अवस्था भएको भन्दै साउदीको आलोचना गर्ने गरिन्छ । महिलामाथि धेरै नै विभेद छ यो मुलुकमा ।
१८ अर्ब डलर सम्पत्ति भएका दिवंगत राजा अब्दुल्लाह विश्वकै तेस्रो धनी शासक पनि मानिन्छन् । उनको निधनपछि बनेका नयाँ राजा सल्मान विन अब्दुल अजिज अल साउदले दिवंगत राजा अब्दुल्लाहको सुधारवादी योजनालाई पूरा गर्ने प्रतिबद्धता गरेका छन् ।
प्रतिक्रिया