शाश्वत जीवनको लय – मणि लोहनी

शाश्वत जीवनको लय – मणि लोहनी


Mani Lohaniभीमसेन थापा एउटा सर्वकालिक मिथ हो । समयको विसङ्गति र दासत्वलाई उजागर गर्ने शक्तिशाली मिथ । भीमसेन थापा एउटा यस्तो सन्दर्भ हो जोसँग समयको अप्ठ्यारो र इमानदारिताको पालना गर्ने क्रममा भोगेको सजायको तस्बिर छ । दुःखको चित्र छ । राज्यले र शासकले नबुझेको आँसु छ । मनको भित्र एउटा कुनामा डरलाग्दो घाउ छ ।
भीमसेन थापाको आत्महत्याबारे थुप्रै सन्दर्भ छन् साहित्यमा । कवि मोमिलाले त्यही ऐतिहासिक घटनालाई वर्तमान राजनीतिक–सामाजिक पक्षसँग जोडेर कविता लेखेकी छिन्– ‘भीमसेन थापाको सुसाइड नोट ।’ इमान–जमान र नैतिकतामा ह्रास आउँदै गरेको अहिलेको समय र समाजमाथि व्यङ्ग्य गरेर लेखिएको भीमसेन थापाको सुसाइड नोट उनको राजनीतिक कविता हो । यही कवितालाई शीर्ष बनाई तयार पारिएको उनको नयाँ कवितासङ्ग्रह निकै गहनतम् कृति बनेको छ ।
मोमिलाका कवितामा कविता मात्रै छैनन् प्रत्येक कविताले एउटा भाव, एउटा दर्शन बोकेका छन् । उनका हरेक कवितामा गहिराइ छ । र, त्यो गहिराइमा डुबुल्की मार्दा उचाइ भेटिन्छ । हो, यही उचाइ नै कविताबाट प्राप्त हुने आनन्द हो । शाश्वत जीवनको लय ।
‘पैयुँ फुल्न थालेपछि’, ‘जुनकिरी ओर्लिरहेछन्’, ‘दुर्गम उचाइमा फूलको आँधी’जस्ता कविता कृति र ‘ईश्वरको अदालतमा आउटसाइडरको बयान’, ‘नीलोनीलो आकाश र दुई थोपा आँसु’जस्ता निबन्ध कृति दिइसकेकी उनको यो कविता कृति भने दश वर्षपछि प्रकाशनमा आएको हो ।
मोमिलाको लेखनमा एकप्रकारको जादु छ । शब्दहरूसँग खेल्ने जबर्जस्त उनको ताकतले कवितालाई उम्दा बनाएका छन् । मोमिलाका रसदार शब्द र बिम्बहरूको प्रयोगले मानवीय संवेदनालाई उद्वेलित बनाइदिन्छ । उनका कवितामा तरलता, गतिशीलता र आनन्द भेटिन्छ । यस्तो तरलता जसले सबैको मनलाई भिजाइदिन्छ । यस्तो गतिशीलता जसले सबैको मस्तिष्कलाई तरङ्गित बनाइदिन्छ । र, यस्तो आनन्द जसले जीवनको शौन्दर्यबोध गराइदिन्छ ।
विभिन्न विषय र भावका भिन्नभिन्न परिवेश र समयमा रचिएका ३२ कविता यस सङग्रहमा अटाएका छन् । हरेक कविताको छुट्टै हैसियत र महत्व छ । प्रत्येक कविता भिन्न छन् । प्रत्येक कविताले भिन्नभिन्न पात्र र परिवेश रोजेको छ । तर, समग्रमा पढ्दा सबै कविताले मानिसलाई खोजेको छ । मानिसको चेतनाको स्तर र भोगाइको पराकाष्ठा खोजेको छ । कवितामार्फत मोमिलाले मानवीय मूल्य र मान्यता, सामाजिक चेतना, स्वतन्त्रता, समाज परिवर्तनको चाहना र लैङ्गिक भेदभावविरुद्ध आफ्ना आवाज पस्केकी छिन्, तर कविताकै शिल्पमा । कविताको गाम्भीर्य र सौन्दर्यलाई नभत्काई उनले सामाजिक चेतना र समाज परिवर्तनको चाहनालाई कवितामा मिसाएकी छिन् । मलाई लाग्छ– मोमिलाको कविताकर्मको उच्चतम् शक्ति पनि यही नै हो ।
सुन्दर भाषा संयोजन र कोमलभावले कविता मीठा बनेका छन् । पठनीय भएका छन् । मोमिलाका कवितामा प्रेम छ । मानवीय पीडा छ । नारी चेतना छ । हो, यही नारी चेतनाको सहयोग लिएर उनले पुरुषरूपी अहङ्कारको खेदो खनेकी छिन् । स्वतन्त्रताको भित्री चाहनालाई व्यक्त गरेकी छिन् ।
कवितामा प्रेमका अलावा प्राकृतिक सौन्दर्य, द्वन्द्वका असर, असमानता, प्राकृतिक विपत्ति, विभिन्न विसङ्गतिहरू छन् । मानवीय स्वभाव कविताका गहना बनेका छन् । पीडा, क्रन्दन, रोदनसँग जोडिएका शब्दाबलीमा मोमिलाले मानिसका स्वभावलाई आत्मसात् गर्ने प्रयास गरेकी छिन् । मोमिलाका कविताको अर्को सबल पक्ष भनेको हरेक कवितामा सकारात्मक चिन्तन भेटिनु नै हो ।
कविता अहङ्कारमुक्त हुनुपर्छ । यसमा नैतिक सीमा हुनुपर्छ । कविता कविताका लागि मात्र होइन, यो त समाज परिवर्तनको बाहक हुनुपर्छ भन्ने आफ्नो भनाइलाई मोमिलाले कविताहरूमार्फत पटकपटक प्रमाणित गरेकी छिन् ।
मोमिलालाई प्रेम गर्नु र कविता लेख्नु उस्तैउस्तै लाग्छ । उनको कविताको आधारभूमि प्रेम हो । प्रेमको आधारभूमिमा टेकेर उनी मानिसका मस्तिष्कहरूमा प्रहार गर्छिन्– चेतनापूर्ण कवितामार्फत । आममानिसका भोगाइ, रोजाइ र भावना कवितामा भेटिन्छन् ।
कुनै देश, क्षेत्र र भूगोलमा सीमित हुन मन पराउँदिनन् । उनलाई सबैको हुनु छ । सबै क्षेत्र र वर्गका मानिसका लागि हुन् मोमिलाका कविता । उनका कवितामा भूगोलका सीमारेखाहरू छैनन् । वर्ग र बाध्यताका बन्धनहरू छैनन् । सुनामीमा आफन्त गुमाएका जापानीको पीडामा उनी त्यत्तिकै द्रविभूत भएकी छिन् जत्तिको यहाँका मानिसको पीडामा हुन्छिन् । संसारमा हामी सबैलाई जोड्ने एक मात्र चिज हो मानवीयता । मानवीय भावनाले ओतप्रोत छन् उनका कविता ।
भीमसेन थापाको सुसाइड नोट देशको पीडामा रन्थनिएर रचिएको शीर्ष कविता हो । सरल तर फरक शिल्पसंयोजनका साथ विशिष्ट बिम्बमय शैलीमा रचिएको यस कवितामा भीमसेन थापाजस्ता देशभक्तहरूले आत्महत्या गर्नुपर्नाको परिस्थितिबारे विश्लेषण गरिएको छ । कवितामा देशको दुर्गतिप्रतिको चिन्ता छ । मुलुकको विद्यमान शासकीय संयन्त्रप्रति व्यङ्ग्य छ । विगतको भावभूमिमा कविता लेखिएको भए पनि कविताले वर्तमानको विसङ्गतिमाथि तिखो प्रहार गरेको छ ।
कवितामा मोमिलाले ल्याएको भावभङ्गीमा कँहीँकँहीँ अलि अमूर्त बन्न पुगेको छ । त्यसले कताकता कवितालाई दुरुह बनाएको भान पर्न सक्छ । तर, त्यो अमूर्तता पनि निकै सम्मोहन छ । सायद मोमिलाको लेखनको अर्को महत्वपूर्ण शक्ति भनेको सम्मोहन पनि हो ।