अनुपम रोशी नेपाली साहित्यमा अब नयाँ रहिनन् ।
पछिल्लो तीन वर्षमा लगातार उनका तीन शक्तिशाली उपन्यास आए ।
आख्यान पढिने विधामा पर्छ । ज्यादा बिक्छ पनि यही । लेखकहरू आख्यानतिर झ्याम्मिएका छन् । प्रकाशकहरू पनि आख्यान छाप्न नै हतारिन्छन् । आख्यान लेखनमा नयाँ लेखकको आगमनसँगै कथाले विविधता पाएको छ । नयाँ र नौला विषयले साहित्यमा प्रवेश पाएको छ । मुलुकभित्रैका विविध सन्दर्भ र जीवनलाई उपन्यासमा उतार्ने क्रम बढेको छ ।
हामीले सुनेका, देखेका र भोगेका कैयन विषय छन् जुन साहित्यमा अझै नयाँ बन्छन् । त्यस्तै एक विषय हो सुदूरपश्चिमको छाउपडी प्रथा । मानव सभ्यताकै कालो दागझँै रहेको सुदूरपश्चिमको छाउपडी प्रथामाथि स्थलगत अध्ययन गरी लेखिएको उपन्यास ‘कालो छाया’ बजारमा आएको छ । यसका लेखक हुन् अनुपम रोशी । अनुपम रोशी नेपाली साहित्यमा अब नयाँ रहिनन् । तर, उनले ‘कालो छाया’ उपन्यासमा लिएर आएको विषयमा भने नौलो बनेको छ । पछिल्लो तीन वर्षमा उनका तीन उपन्यास प्रकाशित भए । जब्बर र नयाँ विषयका कारण उनको पहिलो उपन्यास ‘कुमारी आमा’ निकै चर्चित रह्यो । अहिले तेस्रो उपन्यास ‘कालो छाया’ले सुदूरपश्चिममा रहेको छाउपडी र त्यहाँको जनजीवनलाई समेटेको छ । यो उपन्यास सुदूरपश्चिमेली पीडाको सग्लो तस्बिर हो । त्यहाँको दुःख र अप्ठ्यारोको वर्णन हो । त्यस दुःख र पीडाबाट पार पाउने उपायहरूको खोजी पनि हो ।
उपन्यास कालो छाया लेख्नका लागि अनुपम सुदूरपश्चिमका अछामसम्म पुगिन् । केही समय त्यही बसेर उनले उपन्यासको प्रारूप तयार पारिन् । सुदूरपश्चिमका यथार्थ घटनाहरूलाई जोड्न उनले काल्पनिक पात्रहरूलाई यसमा उभ्याएकी छिन् । तर, ती सबै वास्तविक लाग्छन् । तपाईं–हामीले भेटिरहेकै मानिसहरू उपन्यासमा मूल पात्र भएर आएझँै लाग्छ । उपन्यासको विषय जसरी नवीन छ त्यसैगरी यसको भाषा र प्रस्तुति पनि बेजोडको छ ।
‘कालो छाया’ सुदूरपश्चिमको एउटा विकराल समस्या हो । छाउपडीबाट अझै पनि सुदूरपश्चिममा वर्षेनी आधा दर्जनभन्दा बढीको ज्यान जाने गरेको छ । दर्जनौँको सङ्ख्यामा बहुलाउने र विक्षिप्त बन्ने गरेका छन् । त्यसभन्दा पनि ठूलो कुरा छाउपडीका कारण सुदूरपश्चिमका सयौँ महिला हरेक महिना मानसिक डर र त्रासबाट गुज्रिन बाध्य भएका छन् । छाउपडी सुदूरपश्चिमका महिलामा कालो छायाझैँ टाँसिएर रहेको छ । यसबाट न उनीहरू भाग्न सकेका छन् । न यो ‘कालो छाया’ले नै उनीहरूलाई कहिल्यै छोडेको छ । यही यथार्थलाई उपन्यासकार अनुपमले मिहिनेतपूर्वक लेखेकी छिन् ।
कैलालीको टीकापुरबाट सुरु भएको एक युवतीको कथा अछामसम्म जोडिएको छ । एउटी युवतीको पागलपन र उसको दयनीय अवस्था सुदूरपश्चिमको कालो दाग छाउपडीसँग गाँसिएको छ । छाउले महिलामा पारेको मानसिक र सामाजिक अप्ठ्यारोलाई मिहिन ढङ्गले केलाइएको छ । छाउपडी गोठमा बस्दा महिलाले भोग्नुपर्ने दुःख र शोषणलाई प्रस्टसँग लेखिएको छ । अछामका महिलासँग कुराकानी गरेर लेखिएकाले पनि होला उपन्यास पढिरहँदा यथार्थ घटनासँग साक्षात्कार बन्दै गएको आभास हुन्छ । छाउले आजको समय र आजको महिलामा पारेको प्रभाव र यसको समाधानको खोजीमा उपन्यासको कथा अगाडि बढेको छ ।
स्वास्नीमानिस किन पुरुषभन्दा कमजोर छन् ? किन उनीहरू श्रापित जीवन जिउन बाध्य छन् ? किन अझै पनि महिलाहरू घरभन्दा पर गोठमा गएर जीवन बिताउनुपर्ने ? महिलाको शारीरिक अवस्थाका कारण हुने रजस्वला एउटा स्वाभाविक प्रक्रिया हो । यो प्रक्रिया पाप र धर्मसँग जोडिएको हँुदैन । यो प्राकृतिक कुरा हो । यसलाई गुण र दोषसँग जोडिनुहुँदैन । तर, भइरहेको छ त्यस्तै । जति नै सभ्य र सम्पन्न भनिए पनि अधिकांश घरमा अहिले पनि छाउ बार्ने परम्परा जारी नै छ । शहरतिर र शहरउन्मुख गाउँमा केही सुधार भए पनि सुदूरपश्चिमका दुर्गम गाउँमा छाउपडी अझै पनि घाउझँै दुखिरहेछ स्थानीय महिलालाई ।
गरिबी, रोग र भोकसँग लडिरहेका मानिसको सग्लो चित्र उपन्यासमा भेटिन्छ । उपन्यासमा थुप्रै पात्र छाउको विरोधमा उभिन्छन् । उनीहरू छाउ उन्मूलनका लागि सक्रिय पनि बन्छन् । र, समाधानका उपायको खोजी गर्छन् ।
राजनीतिबाट वितृष्णा भोगेकी स्वयम् प्रभाले टीकापुरमा भेटिएकी एक किशोरीको उद्धार गर्ने क्रमसँगै उपन्यासको कथा अघि बढेको छ । राज्यका सामाजिक, राजनीतिक र आर्थिक पक्षसँग अन्तरसङ्घर्ष गर्दै उपन्यासका प्रमुख पात्रहरू स्वयम् प्रभा, रवि, केशरी र अपिलले एउटा आन्दोलन सुरु गर्छन्– छाउपडी प्रथा हटाउने र अछाम बदल्ने । हो ‘कालो छाया’ यही आन्दोलन र सङ्घर्षको कथा हो । यसभित्र यी युवाका उत्साह, सपना, सङ्घर्ष मात्र छैन उनीहरूले प्रेम र सङ्घर्षको क्रममा भेटेको हैरानी र निराशा पनि छ ।
उनीहरूको लक्ष्य अछामसम्म पुग्छ । स्थानीयलाई राहतमुखी होइन उत्पादनशील बनाउनुपर्छ भनेर उनीहरू सक्रिय हुन्छन् । सरकारी निकायको ढोका ढकढक्याउँछन् । तर, कुनै सहयोग नपाएपछि आफैँ काम थाल्न कम्मर कसेर लाग्छन् । उनीहरूले अछाममा ओखर र फलफूल खेती गर्छन् । सुरुमा स्थानीयले खिल्ली उडाए पनि पछि सबै त्यसतर्फ आकर्षित हुन्छन् । बिस्तारै अछामभर व्यावसायिक खेती सुरु हुन्छ । मानिसहरू आयआर्जनमा व्यस्त हुन्छन् । गरिबी बिस्तारै हट्न थाल्छ ।
उपन्यासमा समस्याहरू मात्र छैनन् । अनुपमले समाधान पनि समेटेकी छिन् । उपन्यासले सामाजिक विषय उठाएको भए पनि यसभित्र प्रेम र जीवनका सन्दर्भहरू पनि त्यत्तिकै अटाएका छन् । उपन्यासका मुख्य पात्र स्वयम् प्रभाको जीवन आफँैमा एउटा सङ्घर्ष र सपनाबाट अभिप्रेरित छ । प्रेम र सपनाले ऊ डसिएकी छे । रविसँगको उसको प्रेम अजीवको छ । रविले स्वयम् प्रभालाई गरेको त्याग र समर्पणको प्रेम उपन्यासको अर्को चाखलाग्दो पाटो हो ।
भाषिक दक्षता र कथा भन्ने उपन्यासकारको भिन्न शैलीले पाठकलाई बलियोसँग बाध्न सक्छ । तर, फाट्टफुट्ट भेटिने भाषिक त्रुटिहरूले दाँतमा ढुङ्गा लागेझैँ हुन्छ । केशरीको बेवास्ता र अपिलको प्रेमले धेरै पाठकलाई जिज्ञासु बनाउँछ । उपन्यासको अन्ततिर केशरीको मृत्यु केही पाठकलाई नाटकीयजस्तो लाग्न सक्छ । अपिल र रविले आ–आफ्नो प्रेम सम्झेर गरेको कुराकानी स्वाभाविक देखिए पनि स्वयम् प्रभाको श्रीमान् उसलाई लिन आएको प्रसङ्ग अस्वाभाविक हो कि जस्तो लाग्छ । तर, उपन्यासकारले स्वयम् प्रभामार्फत श्रीमान्को आग्रहलाई लत्याउन लगाएर उपन्यासको उचाइलाई थप बलियो बनाएकी छिन् ।
प्रतिक्रिया