रमाइलो–घमाइलो

रमाइलो–घमाइलो


ramailo-ghamailo2कुम्भकर्णहरूको गाउँ !
सामान्यतया प्रत्येक व्यक्ति दिनमा काम गर्छन् र रातमा निदाउँछन् । तर, एउटा गाउँ यस्तो पनि छ जहाँका निवासी जुनसुकै बेला पनि निदाइरहेका हुन्छन् । अर्थात्, दिनमा पनि उनीहरूलाई निद्राले सताइरहेको हुन्छ । यो यथार्थ हो– कजाखस्तानस्थित कलाची नामक गाउँको हो । विगत चार वर्षदेखि कलाचीका बासिन्दा ‘स्लिपिङ एपिडेमिक’को सिकार भएका छन् । कतिबेला निदाइन्छ पत्तै नहुने भएपछि त्यहाँका मानिस त्रस्त छन् । हालसम्म गाउँका पन्ध्र प्रतिशत मानिस पीडित भए पनि समस्या दिनानुदिन बढ्दो छ । पीडितहरूको स्मरणशक्ति ह्रास हुँदै जानु अर्को डरलाग्दो पक्ष भएको ‘डेली मेल’को रिपोर्ट छ । ‘निद्राको महामारी नाम दिइएको यस रोगबाट खासगरी बालबालिका तथा किशोरकिशोरी बढ्ता प्रभावित छन् । जतिबेला पनि निद्रा लागिरहने भएकाले उनीहरू दिनमै पनि राम्ररी सम्हालिएर हिँड्नसम्म सकिरहेका छैनन् । रुस र कजाखखस्तानमा पनि युरेनियमको खानी खोतल्ने काम चलिरहेको र त्यसैको प्रभावले यस्तो रोग निम्तिएको स्थानीयको बुझाइ रहे पनि वैज्ञानिकहरूले यसको खण्डन गरेका छन् । किनकि, युरेनियमकै खानीमा काम गर्ने मजदूरहरूमा यस्तो कुनै लक्षण भेटिएको छैन ।

आत्मविश्वास जगाउन ब्रा पहिरन
विश्वमा ब्रेस्ट क्यान्सरको सिकार हुने महिलाको सङ्ख्या निकै छ । ब्रेस्टमा क्यान्सर भएको जानकारी सम्बन्धित महिलाले ढिलो पाउने हुनाले यो रोग खतरनाक बन्ने गरेको छ । यसबाट बच्न महिलाले भ्यासेक्टोमी गराउने र सर्जरी गरी आफ्नो स्तन नै फाल्ने गरेका पनि छन् । तर, यस्तो प्रक्रियाबाट गुज्रेका अधिकांश महिलाले आफ्नो आत्मविश्वास गुमाउँछन् या आफू एक महिला भएको वास्तविक अनुभूतिबाटै वञ्चित हुन पुग्छन् । यस्तै महिलाको आत्मविश्वास जगाउन चीनको हुनान प्रान्तका पुरुषले अनौठो तरिका अपनाएका छन् । ब्रेस्ट क्यान्सरपछिको शल्यक्रियाबाट गुज्रिएका महिलाको आत्मविश्वास जगाउन उनीहरू प्रस्थेटिक ब्रा (नक्कली ब्रा) पहिरिएर स्टेजमा उत्रिए र डोरी खोल्नेदेखि भाँडावर्तन माझ्नेलगायतका काम स्टेजमै प्रदर्शन गरे । यस्तो गरेर उनीहरू यो बताउन चाहन्थे कि शल्यक्रियाबाट स्तन गुमाएका महिलाले नक्कली ब्रा पहिरिएर आफूलाई ‘पूर्ण’ महसुस गर्न सक्नेछन् । तर, असल नियतबाट केही पुरुषले स्टेजमा यस्तो प्रदर्शन गरे पनि उनीहरू यतिबेला आलोचनाको सिकार भएका छन् । उद्देश्य राम्रो भए पनि तरिका बेठीक भन्दै कैयन महिला अधिकारवादीले नै उनीहरूको विरोध गरेका हुन् ।

कपाल उमार्ने नयाँ विधि
संसारमा तालु खुइलिएका पुरुषको सङ्ख्या कम छैन । यसलाई सामान्य रूपमा लिने गरिए पनि समयअघि नै कपाल गुमाउनुपर्दा दुःखी हुने पुरुष पनि उत्तिकै छन् । तर, अब तालु खुइलिएकोमा पीर मानिरहन नपर्ने भएको छ । वैज्ञानिकहरूले स्टेम कोशिकाको माध्यमबाट कपाल उमार्ने नयाँ विधि पत्ता लगाएका छन् । अमेरिकाको स्यानफोर्ड–बर्नहम मेडिकल रिसर्च इन्स्टिच्युटका प्रोफेसर एलेक्सी तर्सकिखले कपाल उमार्न हालसम्म अपनाउँदै आएको विधिभन्दा नितान्त फरक एवम् प्रभावकारी ढङ्गले स्टेम कोशिकाहरूको मद्दतबाट कपाल उमार्न सफलता मिलेको दाबी गरेका छन् । स्टेम कोशिका यस्तो कोशिका हो जसमा शरीरका कुनै पनि अङ्गका कोशिकाको रूपमा विकसित हुने गुण रहेको हुन्छ र यो अन्य कुनै पनि कोशिकाको रूपमा परिवर्तन हुन सक्छ । यही गुणका कारण शिरमा अजस्र कपाल उमार्न यो सहायकसिद्ध हुने वैज्ञानिकहरूको कथन छ ।

नपाउनेले केरा पायो…
‘भगवान् देता है तो छप्पड फाडके’ भन्ने हिन्दीमा एउटा उखान छ । यस्तै भयो रोमानियाका पैट्रे क्याट नामक युवकलाई । आर्थिक रूपले अत्यन्त तन्नम पैट्रे शरीरका भने धनी थिए । यिनै तन्नम युवक बडिबिल्डर बन्ने चाहनाले देश छोडेर बेलायत हान्निए । जब कठोर सङ्घर्ष गरी उनी बडिबिल्डर बने, उनको आकर्षक शरीरकै कारण उनलाई बडीगार्ड बनाउन चाहनेहरूको त्यहाँ कमी भएन । नामी–नामी व्यक्ति–व्यक्तित्वका लागि गार्डको काम गर्न थालेपछि उनलाई धनको वर्षात् हुन थाल्यो । अभावको जिन्दगी बाँचेका पैट्रेलाई अकुत धन आर्जन हुन थालेपछि के गरौँ कसो गरौँ, यत्तिका धन कहाँ खर्च गरौँ भन्ने लाग्न थाल्यो । महँगा गाडी, महँगो अपार्टमेन्टको बसाइ र मनलागेका वस्तु खरिद गर्ने कुरा त सामान्य भइहाल्यो, तर यसबाट उनलाई पटक्कै आत्मसन्तुष्टि मिलेन । आफ्नो कमाइ दुनियाँलाई कसरी प्रदर्शन गर्ने भन्ने सोचमा डुब्दा उनलाई नौलो विचार फुरेछ । फलस्वरूप पैट्रेले हालै आफ्नो एक भिडियो बनाएर सार्वजनिक गरेका छन् । भिडियोमा उनी सुत्दा, घरमा रहँदा र नुहाउँदा पनि नोट नै नोटले पुरिएका हुन्छन् । नोटसँग छ्याल्लब्याल्ती खेल्नु यतिबेला उनको सोखजस्तै भएको छ । नपाउनेले केरा पायो बोक्रैसमेत खायो भन्ने नेपाली उखान त्यसै कहाँ बनेको रहेछ र ?