अहिले नेपाली कविता सङ्कटमा छ ।
कविता भीडमा मिसिएको छ । समूहमा विभाजित भएको छ । जाति र धर्ममा बाँडिएको छ । कविता आग्रह र सम्बोधनको सिलसिला भएको छ । कवितामा राजनीतिका कुराहरू, आग्रहका कुराहरू र अपेक्षाका कुराहरू ज्यादा हुन थालेका छन् ।
कवितालेखन या कविता पढ्नु भनेको आनन्दको नजिक पुग्नु हो । कविता एक किसिमको विपश्यना हो । एक किसिमको चित्ताकर्षक क्षण । जहाँ आग्रह, अपेक्षा र सम्बोधनहरू छुट्छन् । मात्र आनन्द बाँकी रहन्छ । मनको कता–कता झन्कार हुन्छ । कविता पढेपछि एउटा सन्तोष प्राप्त हुनुपर्छ । तर, अहिले अधिकांश बजारिया कवितामा ध्वनि त छ, तर त्यसले मनलाई झङ्कृत गर्दैन । शब्द त छ तर त्यसले शाश्वततालाई छुँदैन । लय त छ तर त्यसले जीवनलाई डोहो-याउँदैन ।
यसरी नेपाली कविता अहिले सङ्कटमा छ । केही सीमित मिडिया र व्यक्तिले कविताको मापन गरिरहेका र त्यसलाई धेरैले पत्याएकाले पनि यस्तो भएको हो । कवि र पाठक दुवैलाई दिग्भ्रमित बनाउन केही मिडिया र व्यक्ति हात धोएर लागेका छन् । यसमा केही कविहरूको सक्रियता झन् डरलाग्दो छ ।
यही अवस्थामा केही महत्वपूर्ण कविहरूले कविता लेखिरहेका छन् । जो साँच्चिनै कविता लेखिरहेका छन् र यो दिग्भ्रमित समयलाई चिरेर अघि बढिरहेछन् । निश्चित क्षेत्र, वर्ग र जातबाट उठेर सबैका लागि कविता लेखिरहेका छन् । जसका कारण सङ्कटमा पनि कविताको लाज जोगिएको छ । यिनैमध्येका एक कवि हुन्– विप्लव ढकाल ।
संसार बदल्न हिँडेको विप्लव आफैं बदलिएका छन् । उनका कवितामा युद्धमा मरेका केटाकेटीहरूले उखुको राइफल बोकेर लखेट्छन् । आफ्नो जीवन माग्दै खरानीबाट कङ्कालहरू जुरुकजुरुक उठ्छन् । यस्तो बेला कवि विप्लव झन्डाले मुख छोपेर आँसु पुस्छन् । कविता भाव, प्रस्तुति र सोचका कारण पनि विप्लव समकालीन उम्दा कवि बनेका हुन् ।
कवि विप्लव ढकाल समकालीन नेपाली कविताका अब्बल कवि हुन् । यसमा दुई मत छैन । उनका प्रतिनिधि कविताहरूको सङ्ग्रह ‘च्याउको जङ्गल’ उम्दा कविताको सङ्कलन हो । विप्लवलाई अब ऊ कवि हो भनिरहनुपर्दैन । उनको नाम छुटाएर अब नेपाली कविताले पूर्णता पाउन सक्दैन । यो समयको नपढी नहुने कवि हुन् विप्लव । उनका कविता बेजोडका छन् । उनी माझिएका कवि हुन्, यसमा कुनै शङ्का छैन । उनका कविताले समाज बोल्छ । उनको कविताले बोल्ने शैली अत्यन्त मार्मिक र सामथ्र्यवान छ ।
पहिलोपटक ‘चिताको ज्वाला’ प्रकाशित गरिसकेका कवि ढकालका यसअघि ‘हिउँको यात्रा’ मुक्तकसङ्ग्रह ०४५, निर्जन बन्दरगाह कवितासङ्ग्रह ०५१, कालो मध्यान्तर कवितासङ्ग्रह ०६०, ‘प्रोफेसर शर्माको डायरी’ लामा कविताको सङ्ग्रह ०६५ प्रकाशित छन् ।
उनका लामा कविताको सङ्ग्रह प्रोफेसर शर्माको डायरी त्यतिबेला नेपाली काव्यजगत्मा निकै चर्चामा आएको थियो । काव्यबाहेक विप्लवका ‘अन्तिम नायिका’ नामक एकाङ्कीसङ्ग्रह र ‘भोजपुरको साहित्यिक रूपरेखा’ नामक समीक्षात्मक कृति पनि प्रकाशित छन् ।
च्याउको जङ्गल समकालीन नेपाली कविताको स्वर हो । अहिलेको कविताको अनुहार हो । यो समयको वास्तविक तस्बिर हो । यसभित्रका कवितालाई ‘त्यो आइमाई’, ‘केटाकेटीहरू र हल्ला’, ‘रूख बाबाका साथी’, ‘अँध्यारोको गीत’, ‘राज्यको अनुहार’ र ‘फेरि राज्यको अनुहार’ गरी ६ खण्डमा विभाजन गरी प्रस्तुत गरिएको छ ।
पहिलो खण्ड ‘त्यो आइमाई’मा गाउँका कुना कन्दरादेखि राजधानीको सहरसम्म उत्पीडनमा परेका अवलाहरूको चित्रण गरिएको छ । यस खण्डका १० कवितामा पृथ्वी ढल्नुअघि निकै शक्तिशाली कविता हो । यस कवितामा लोग्नेको हत्या गरेर सुत्केरी पत्नीको हत्या गर्न लखेटिरहेका नरपिसाचहरूको चित्रण छ । ‘सान्नानी फगत गलैँचा हो’ त्यस्तै शक्तिशाली अर्को कविता हो ः
ऊ फगत गलैँचा हो
र, एउटा बूढो धर्मगुरु
त्यही गलैँचामा सुतीसुती
हरेक रात
न्यानो घाम तापिरहन्छ
‘डम्बरीको देश’ विप्लवको सर्वप्रिय कविता हो । यो देशका सबैको कविता हो । देशभित्र जिउन बाध्य हरेकको कविता हो । देशका निरीह गरबिका अनुहारहरूको कविता हो । यस धर्तीको बैभन्दा महँगो बजारमा आफ्नै देशसँगै आफ्नो गरिबी बिक्री गरिरहेकाहरूको कविता हो ‘डम्बरीको देश’ ।
‘केटाकेटीहरू र हल्ला’मा सबै कविता एक से एक छन् । अझ कसाई र फूलमतिको तकियामुनि निकै सशक्त छन् । जतिपल्ट पढे पनि पढिरहुँ लाग्ने । ‘राज्यको अनुहार’ र ‘फेरि राज्यको अनुहार’ सङ्ग्रहकै विशिष्ट खण्ड हुन् । ‘बादशाहले एउटा गीत गाएका थिए’ र ‘बन्दुकको मृत्यु’ यो समयकै अब्बल कविता हुन् । शीर्षक कविता ‘च्याउको जङ्गल’ सङ्ग्रहको अन्तिम खण्ड ‘फेरि राज्यको अनुहार’ खण्डको मात्र होइन, सङ्ग्रहको मात्र पनि होइन, नेपाली कविताकै हारमा अब्बल कविता हो ।
कवितामा विचार मात्र होइन, अभिव्यक्तिलाई पनि कसरी तिक्खर बनाउनुपर्छ भन्ने विप्लवलाई थाहा छ । विम्बहरूको सटिक प्रयोग र नयाँ विचारको आकार विप्लवको कविताको शक्ति हो ।
प्रतिक्रिया