हत्यारा गोहीको हत्या
बदलाको भावले ग्रसित भई कुनै मानिसले मानिसको हत्या गरेका कुरा सामान्यजस्तै भए पनि बदला लिनकै लागि गोहीजस्तो हिंस्रक र भयानक जन्तुको हत्या गरेको कुराचाहिँ असामान्य नै मान्न सकिन्छ । यस्तै अस्वाभाविक काम गरेर चर्चामा आएका छन् युगाण्डाका मुबारक बाताम्बुज नामक एक व्यक्ति । मुबारकले यसरी गोहीप्रति बदलाको भाव राख्नुको विशेष कारण रहेछ । केही महिनाअघि मुबारककी पत्नी दमित्री पानी लिन बस्तीनजिकको ठूलो ताल जाँदा गोहीको सिकार बनेकी रहिछिन् । आफ्नी गर्भवती पत्नीलाई गोहीले निलेपछि मुबारकमा भयानक किसिमले बदलाको भाव उत्पन्न भएछ । हत्यारा गोही कतिबेला बाहिर निस्कन्छ भन्ने ताकमा बसेका उनले गोहीलाई ढुङ्गा र लाठीको सहारामा मार्ने कोसिस गरेछन्, तर दैत्याकार गोही सकुशल उम्किएछ । त्यसपछि गोहीहत्याकै निम्ति उनले विशेष काँडेदार भाला निर्माण गराए र मौका ढुक्न थाले । आफ्नो ज्यान नै गए पनि पर्वाह नगर्ने अठोटका साथ गोही मार्न कस्सिएका मुबारकले अन्ततः १२ सातापछि दुई घण्टाको लडाइँ लडेर ज्यानमारा गोहीको हत्या गरिछाडे । गोहीको पेट चिरेर हेर्दा उनकी पत्नीको खुट्टाको हड्डी पेटमै रहेको पाइएको थियो ।
परस्त्री चाहनेलाई बेग्लै सेवा
यौन प्यास मेटाउन आफ्नो जीवनसाथीभन्दा बाहिर आँखा लगाउने पुरुषहरू सकभर अविवाहित र कम उमेरका महिलाको चाहना राख्ने गर्छन् । यस विश्वव्यापी मान्यतालाई चुनौती दिँदै रुसमा एउटा यस्तो वेश्यालय सञ्चालनमा आएको छ जहाँ अर्काकी पत्नी या विवाहित महिलासँग सुत्न चाहनेलाई यौन पार्टनर उपलब्ध गराइन्छ । वेश्यालयका सञ्चालकले विवाहित महिलालाई देहव्यापार धन्दामा अनेक तरहले आकर्षित गर्ने गरे पनि सम्बन्धित महिलाले आफू विवाहित भएको प्रमाणपत्रचाहिँ अनिवार्य रूपमा पेस गर्नुपर्ने सर्त राखिएको डेली मेलले जनाएको छ । कैयन पुरुष आफ्नी पत्नी नै उक्त वेश्यालयसँग जोडिएर देहव्यापारमा लिप्त भएको खुलासा हुँदा चकित परेका छन् भने ती परस्त्रीहरूले एक घण्टा सेवा दिएबापत तीस–पैंतीस हजारसम्म असुल्ने गरिएको छ । कैयन पुरुषले आफूलाई विवाहित महिलासँग यौनक्रीडा गर्ने चाहना भएको भन्दै अनुरोध गरेपछि एक अधबैंसे विवाहित महिलाले नै उक्त नौलो खालको वेश्यालय सञ्चालनमा ल्याएको र मस्कोमा ‘अम्मा’ नामले चिनिने ती महिलाको प्रहरीले व्यापक खोजतलास गरिरहेको छ ।
सुन्दरीले खोलिन् पोल
आजको उदार र उपभोक्तामुखी जमानामा विभिन्न कोटिका ब्युटी कन्टेस्ट आयोजना हुनु स्वाभाविक मानिन्छ । विश्वभर नै यस्ता सुन्दरी प्रतियोगिता छ्यास्छ्यास्ती आयोजना भइरहेका हुन्छन् तापनि यस्ता प्रतियोगितामा सहभागिता जनाउने सुन्दरीलाई राम्रो दृष्टिले नहेर्ने रोग अझै पनि विश्वव्यापी रूपमै रहेको पाइन्छ । ब्राजिलमा हालै सम्पन्न ‘मिस अमेजन कम्पिटिसन’ नामक राष्ट्रयस्तरको सुन्दरी प्रतियोगितामा सहभागी सुन्दरीहरूले दर्शाएको व्यवहारले मोडल सुन्दरीहरूमाथि लाग्दै आएको अश्लील आरोपलाई पुष्टि गरिदिएको छ । भयो के भने जब क्यारोलिना टोलेडो नामकी सुन्दरीलाई विजेता घोषित गरेर क्राउन पहि-याइँदै थियो, फस्र्ट रनरअप सिसलाने हयाल्ले नामकी सुन्दरीले उग्र रूप धारण गर्दै विजेताको शिरमा पहि-याउँदै गरेको ताज थुतेर भुइँमा मिल्काइदिइन् । सबैलाई स्तब्ध पार्दै उनले क्यारोलिनाले आयोजकलाई आफ्नो यौन सुम्पिएर प्रतियोगितामा विजेताको पगरी हात पारेको आरोपसमेत लगाइन् । फस्र्ट रनरअप भएकी युवतीले नै यस्तो अश्लील आरोप लगाउँदा अन्य प्रतियोगी सुन्दरीहरू भने लज्जाले पानी–पानी बन्न पुगे ।
नाङ्गिँदै रेस्टुरेन्टको स्वाद लिँदै
घरको खाना खाँदा–खाँदा वाक्क भएपछि मानिस रेस्टुरेन्टको स्वादिस्ट खाना खाएर मन बहलाउँदै सन्तुष्टि लिन चाहन्छन् । संसारभरका शहरबजारनिवासी मानिसमा यस्तो फेसन नै चलेको छ । तर, यसभन्दा पनि अघि बढेर सौखिन मानिसलाई लक्षित गर्दै आश्चर्यलाग्दा विशेषतायुक्त रेस्टुरेन्ट खुल्न थालेका छन् । न्युयोर्कमा हालै एक यस्तो रेस्टुरेन्ट सञ्चालनमा आएको छ जहाँ खाना खान जानेले आफूलाई सर्वाङ्ग नङ्ग्याउनुपर्ने हुन्छ । खाना खाँदा प्रयोग गर्न राखिएका रुमालका टुक्राले शरीरका गोप्य हिस्सा छोप्न खोज्नेहरू यदाकदा भेटिए पनि त्यहाँ प्रायः महिला तथा पुरुषहरू नाङ्गै निर्धक्क खाना खाइरहेका हुन्छन् । यस्तै बेल्जियममा यस्तो एक रेस्टुरेन्ट सञ्चालनमा छ जो क्रेनको सहायताले आकाशमा झुन्डिरहेको छ । पचास मिटर लामो टेबुलवरपर बसेर सेवाग्राहीहरू होहल्लाभन्दा माथि रहेको रेस्टुरेन्टको आनन्द उठाउँछन् । यस्तै, हार्बिनको एक प्रसिद्ध रेस्टुराँमा रोबोटले खाना पस्किने काम गर्छ भने बर्लिनस्थित एक रेस्टुरेन्टमा पनि हावामै खाना पस्केर खुवाउने गरिन्छ । चीनको एउटा रेस्टुरेन्टमा चाहिँ ट्वाइलेटमा राख्ने कमोडमा ग्राहकलाई बसाएर थरीथरीका पकवानहरू पस्किने गरिन्छ ।
प्रतिक्रिया