यसकारण बढारियो दिल्लीमा बीजेपी – बुद्धि शर्मा

यसकारण बढारियो दिल्लीमा बीजेपी – बुद्धि शर्मा


BJP-to-use-IT-for-a-new-Indiaभारतको दिल्ली विधानसभाको निर्वाचनको नतिजालाई लिएर भारतभरि मात्रै नभएर दक्षिण एसियाभरिमै चर्चा, परिचर्चा एवम् विश्लेषणहरू भए । नरेन्द्र मोदीको घनघोर चुवावी प्रचारका बाबजुत दिल्लीका मतदाताले कुराले मात्र पिठो नबन्ने खालको महत्वपूर्ण सन्देश दिएका छन् । भारतका टिप्पणीकारहरूले प्रधानमन्त्री भएयता मोदीले केवल वाचा मात्रै गर्ने गरेको, तर ठोस काम केही गर्न नसकेको कारण दिल्लीका जनताले त्यो बुझेर गतिलो सबक सिकाएको टिप्पणी गरेका छन् ।
दिल्ली विधानसभाको नतिजालाई लिएर विभिन्न किसिमका विश्लेषणहरू भएका छन् । धेरैले भारतमा पुराना शक्तिहरूको विकल्पमा नयाँ शक्तिको रोजाइमा जनता पुगेको हुनसक्ने पनि बताएका छन् । भारतको राजनीतिमा पुराना शक्तिहरूको दबदबाले जनता आजित भइसकेको र पुराना शक्तिहरूले आफूलाई सामान्य जनताभन्दा धेरै माथि सम्झने प्रयास गरेको कारण पनि जनता विकल्पको रोजाइमा पुगेको हुनसक्ने बताइन्छ । भारतकै कतिपय मिडियाले चाहिँ मोदी प्रधानमन्त्री भयएता उनले आफूलाई दिल्लीबाट शासन गर्ने प्रधानमन्त्रीभन्दा पनि गुजरातको नेताजस्तो व्यवहार गरिरहेकै कारण दिल्लीका जनताले मोदीलाई तिमी भारतकै प्रधानमन्त्री अझै बन्न सकिरहेका छैनौ भन्ने सन्देश दिएको हुनसक्ने पनि टिप्पणी गरेका छन् ।
वास्तवमा दिल्ली विधानसभा चुनावको नतिजाले सिङ्गो दक्षिण एसियालाई तरङ्गित पा-यो । दक्षिण एसियाको राजनीतिमा लामो समयदेखि पुरानै शक्तिहरूको रजाइँ छ । जसले जनताका चासो र भावनालाई प्रत्यक्षरूपमा सम्बोधन गर्न सकिरहेका छैनन् । त्यति मात्र होइन, दक्षिण एसियाको लामो राजनीतिक अस्थिरता र द्वन्द्वको कारकतत्व पनि यहाँका पुराना शक्तिहरू भएको मान्ने गरिन्छ । जसले जनतालाई जनार्दन कहिल्यै मान्दैन । पार्टीभित्रको सानो कोटेरीले पूरै राजनीतिलाई बन्धक बनाइराखेको हुन्छ । अर्काे कुरा पुराना शक्तिहरूले नयाँ शक्तिलाई अस्तित्वमा आउन नदिन धेरै किसिमका तिकडम गरिरहन्छ । दिल्ली विधानसभाको चुनावताका बीजेपी र काङ्ग्रेस पार्टीले केजरिवालको पार्टीलाई गिराउन गर्नु हत्कण्डा गरेका थिए । मोदीले त आफू प्रधानमन्त्री भएको जिम्मेवारीसमेत बिर्सिएर केजरिवाललाई साह्रै तल्लोस्तरको गाली–गलौजसम्म गरेका थिए । भारतीय चर्चित विद्वान् मेघनाथ देसाईका अनुसार बीजेपी कांग्रेस पार्टीले सामान्य राजनीतिक नैतिकतासमेत ख्याल नगरी केजरिवालविरुद्ध खनिएका थिए । आफूलाई आमजनताभन्दा माथि सम्झिने बीजेपी र काङ्ग्रेसका नेताहरूलाई भन्दा सामान्य जनतासँग प्रत्यक्ष घुलमिल हुने केजरिवाल नेतृत्वको आम आदमी पार्टीलाई आफ्नो ठान्न पुगे जनताले । यसले पनि के सङ्केत गर्छ भने अबका जनताले त्यस्तो शक्तिलाई मात्र आफ्नो ठान्छन् जसले व्यावहारिक रूपमा आफूलाई जनताको सेवक ठान्दछ ।
दिल्लीमा नयाँ शक्ति आम आदमी पार्टीको विजयले नेपाली युवा जमातमा एकखालको उत्साह ल्याइदियो । सामाजिक सञ्जालमा आएका प्रतिक्रियाहरूलाई मात्र आधार मान्ने हो भने पनि हालसम्म नेपालको राजनीतिमा देखापरेका कुनै पनि शक्तिले जनताको हित गर्न नसक्ने भएकाले विकसित नेपालको निर्माणका लागि तत्काल नयाँ शक्तिको निर्माण हुनुपर्ने र त्यसका लागि गतिलो वातावरण तयार भइसकेको आवाज उठेको छ । चियापसलदेखि सार्वजनिक स्थलमा समेत नयाँ शक्तिको बहस गर्माएको छ । नेपालमा मात्र होइन, दक्षिण एसियाका पाकिस्तान, बङ्गलादेश, अफगानिस्तानलगायतका देशहरूका सञ्चारमाध्यम एवम् सामाजिक सञ्जालहरूमा समेत पुराना शक्तिहरूलाई बिदाइ र नयाँ शक्तिको उदय अपरिहार्य भएको टिप्पणीहरू गरिएको छ ।
जे होस्, दिल्ली विधानसभामा नयाँ शक्तिको अप्रत्यारिलो विजयले पुराना शक्तिहरूबाट आजित दक्षिण एसियाका जनताले नयाँ विचार, दृष्टिकोण र जनतालाई सम्मान गर्ने शक्तिको खाँचो महसुस गरेको बुझ्न सकिन्छ । हुन त दिल्ली विधानसभाजस्तो भारतको एउटा सानो क्षेत्रको चुवावी नतिजाले समग्र विश्लेषण गर्न नसकिएला, तर के कुरा प्रस्ट हो भने कामले भन्दा पनि कुराले राजनीति गर्दै आएका र आफूलाई जनताको मालिक सम्झिने पुराना शक्तिहरूको रवाफ अझै कायमै रहे जनताले स्वीकार अब गर्ने छैनन् । नयाँ विकल्पमा जान सक्नेछन् जनता । दक्षिण एसियाका सबै पुरातन शक्तिहरूले यो कुरा राम्रैसँग बुझ्नुपर्ने भएको छ ।