पहिलोचोटि प्रेमकविता उत्सव गरेको दश वर्ष बितेछ ।
गएको शुक्रबार प्रेमकविता उत्सवको ११औँ संस्करणको आयोजना गरिरहँदा मैले अनमोलमणिलाई सम्झिएँ । जो अहिले सपरिवार युरोप पलायन भएको छ । विक्रमसम्वत् ०६० सालको माघ अन्तिम साता हुनुपर्छ । अनमोल एकाबिहानै हान्निएर मेरो निवास बसुन्धरा आइपुगेको थियो ।
‘दाइ, भ्यालेन्टाइनमा केही गर्नुप-यो,’ उसले भन्यो ।
‘के गर्ने ? म्यालेन्टाइनमा त तिमीले तिम्रो गर्लफ्रेन्डसँग मनाउन । मेरो के काम ?’
‘हैन दाइ, कवितामा केही गरौँ न ।’ उसले भनेपछि भने मलाई निकै रमाइलो लाग्यो । नेपाली प्रेम कविताको कार्यक्रम गरेर १४ फेब्रुअरी मनाउने योजना बनायौँ । मकहाँ नै खाना खाएर हामी सीधै गुरुकुलतर्फ लाग्यौँ । पुरानो बानेश्वरमा रहेको गुरुकुल त्यसताका रंगकर्म, साहित्य, संगीत, चित्रकलाका लागि चर्चित थियो । प्रेमकविताको कार्यक्रम गर्ने थलो हामीले गुरुकुल नै छान्यौँ । र अनुमतिका लागि पुग्यौँ गुरुकुलका गुरु सुनील पोखरेलकहाँ । उनी हाम्रा कुराले खुसी भए ।
‘कविहरू को–को हुन्छन् ?’ सुनीलको प्रश्न थियो ।
‘यो समयका प्रतिनिधि कविहरू सबै हुन्छन्,’ मैले भनँे । उनले हलको पैसा नलिने र टिकट शोमा कार्यक्रम गर्दा पैसा उठ्यो भने त्यो जेनेरेटर खर्च भनेर गुरुकुलले लिने बताए । हामीलाई उनको प्रस्ताव ठीकै लाग्यो र हामीले १४ फेब्रुअरीको अवसर पारेर ०६० फागुन २ गतेलाई प्रेमकविता उत्सव मनाउने घोषणा ग-यौँ ।
त्यतिखेर अहिलेको जस्तो सामाजिक सञ्जालहरू थिएनन् । विभिन्न पत्रपत्रिकामा प्रेमकविता उत्सव हुँदै छ भनेर समाचारहरू हाल्यौँ । त्यसताका म स्पेसटाइम दैनिकमा काम गर्थेँ । अनमोल समाचारपत्रमा थियो । हामीले तत्कालीन समयमा राम्रा कविता लेखिरहेका साथीहरू पदम गौतम, नारायण श्रेष्ठ र विमला तुम्खेवासँग पनि प्रेमकविता उत्सवको कुरा ग-यौँ । उनीहरू पनि उत्साहित भए । त्यसपछि पाँचजना स्रष्टाहरू सम्मिलित एउटा अनौपचारिक संस्था गठन भयो– कविता क्लब । त्यही कविता क्लबको आयोजनामा पहिलो प्रेमकविता उत्सवको आयोजना गरियो । गुरुकुलको गोठाले नाटकघरमा ।
उपत्यकामा परेको सिमसिमे पानीबीच कविहरूले प्रेमका रोमाञ्चक कविता सुनाएका थिए । प्रेमकविता उत्सवको उद्घोषण गरेका थिए कवि कथाकार राजेन्द्र पराजुलीले । कविता उत्सवको सोच र यसको आवश्यकताबारे मैले बोलेको थिएँ र सहभागी सबैलाई धन्यवाद ज्ञापन अनमोलले गरेका थिए । कार्यक्रममा सहभागी कवि थिए– बैरागी काइँला, तुलसी दिवस, राजेन्द्र पराजुली, राजेन्द्र शलभ, श्रवण मुकारुङ, भूपाल राई, विप्लव प्रतीक, रमेश क्षितिज, मणि लोहनी, पदम गौतम, अनमोलमणि, नारायण श्रेष्ठ र विमला तुम्खेवा ।
कार्यक्रम सकिएपछि कविता क्लबका हामी पाँचै निकै सन्तुष्ट र उत्साहित भएर छुट्टियौँ ।
भोलिपल्ट बिहानै अनमोल आत्तिँदै फेरि मेरो घर आइपुग्यो ।
‘दाइ खत्तमै भयो नि ।’
‘के भयो ?’ म पनि आत्तिएँ । उसले त्यो दिनको सबै दैनिक पत्रिकाहरू लिएर आएको रहेछ । सबै पत्रिकामा प्रेमकविता उत्सवको विरोध गरेर लेखिएको रहेछ । ‘यो समय प्रेम कविताको होइन’ भन्ने आशयका टिप्पणी र समाचारमा हामीले आयोजना गरेको प्रेमकविता उत्सवको विरोध गरिएको थियो । कहाँसम्म भने म आफैँले काम गर्ने स्पेसटाइम दैनिकमा समेत मेरा सहकर्मी कवि मित्रले विरोध गरेर आर्टिकल लेखेका रहेछन् । दुई छोराका बाबु ती कविको आशय थियो– प्रेम सस्तो विषय हो । देशभक्ति र विचारयुक्त क्रान्तिकारी कविता मात्रै कविता हुन् । फेरि भ्यालेन्टाइन अरूहरूको संस्कृति हो । त्यसको पछि लाग्नु गलत हो । यसो भनेर उनले आर्टिकल लेखेताका उनी नाइक लेखिएको जुत्ता लगाउँथे ।
सर्वत्र विरोध भएपछि सन्ध्याकालीन दैनिकमा काम गर्ने कवि मित्र पदम गौतम आत्तिए । त्यसबेला सगरमाथा रेडियोमा काम गर्ने कवि नारायण श्रेष्ठ पनि अलि पछि हटे । विमलाजीको त के कुरा अरूहरू आत्तिएपछि उनी पनि अगाडि बढ्ने आँट गर्न सकिनन् । तर, अनमोल र म आत्तिएनौँ ।
हामीले अर्को वर्ष पनि १४ फेब्रुअरीमा प्रेमकविता उत्सव गरेरै छाड्यौँ । त्यो वर्ष छापामा आउने विरोध केही मत्थर भयो । विरोध पातलिएको अनुभव भयो र हामी झन् उत्साहित भयौँ ।
त्यसयता हरेक वर्ष हामीले १४ फेब्रुअरीमा प्रेमकविता उत्सव गर्दै आइरहेका छौँ । अनमोल विदेश गएपछि भने मैले कहिले कवि तथा चलचित्रकर्मी राजेन्द्र शलभसँग मिलेर त कहिले कवि मित्र ठाकुर बेल्वासेसँग मिलेरर प्रेमकविता उत्सव गरिरहँे ।
प्रेम मलाई मन पर्ने विषय हो । कविता आग्रह र मागहरूभन्दा परको कुरा हो । यो अनुभूतिको विशिष्ट स्वरूप हो । यसमा मनका भाषा हुन्छन् । र, मनको प्रिय भनेको माया नै हो । र, मलाई लाग्छ प्रेमकविता सर्वव्यापी र सर्वकालीन हुन्छ । यसले सधैँ आफ्नो सामथ्र्य र शक्तिको प्रदर्शन गरिरहन सक्छ ।
प्रेमकविता उत्सवको ११औँ संस्करण शुक्रबार काठमाडौंमा आयोजना गरियो । टेलिभिजनमा प्रसारण गरिएको प्रेमकविता उत्सवको ११औँ संस्करणलाई दुईवटा रेडियोले प्रसारण गरेका थिए । प्रेमकविता उत्सवमा दशजना कवि सहभागी थिए । र, सबैले एक से एक प्रेमकविता सुनाएका थिए । कविहरू उषा शेरचन, मोमिला, अनुपम रोशी, राजेन्द्र शलभ, मणि लोहनी, फूलमान बल, ठाकुर बेल्वासे, भोजराज न्यौपाने र दीपेन्द्र दोङले कविता सुनाएका थिए ।
अहिले नेपाली कवितामा प्रशस्त काम भएका छन् । राम्रा कुरा धेरै भएका छन् । तर, दुःखका कुरा कवितामा आग्रह र मागहरू राखेर केही कवि आफ्नो सीमित उद्देश्य पूरा गर्न खोजिरहेछन् र कविताको प्रयोग हुन थालेको छ । र, योभन्दा पनि डरलाग्दो कुरा प्रेमका कवितालाई सस्तो र अर्थहीन ठान्ने जत्था कवितामा नारा लेखेर आफूलाई क्रान्तिकारीको बिल्ला झुन्डाउन उद्यत् छन् । जसले कवितालाई बदनाम गर्ने प्रयास भइरहेको छ ।
यी र यस्ता सन्दर्भहरूबाट कवितालाई जोगाउन पनि प्रेमकविता उत्सव फलदायी हुने मेरो विश्वास छ । र यही विश्वासको निरन्तरता हो– प्रेमकविता उत्सवको ११औँ संस्करण ।
प्रतिक्रिया