आकाश खुल्ला थियो । फराकिलो नीलो आकाशको परपरसम्म कतै पनि बादलका ढिस्का थिएनन्, त्यसैले पनि आकाशको बीचोबीच झल्किरहेको सूर्य झन् निख्खर देखिन्थ्यो । पार्कको एक छेउमा राखिएको एउटा सानो बेन्चमा टेकिएर एक वृद्ध हल्का खालको शारीरिक व्यायाम गर्दै थिए । स्पष्टै थियो, घामको निख्खरतासँग शरीरलाई मस्तले तताउन सक्ने सामथ्र्य काफी मात्रामा थिएन । अनुहारको अलिकति भागलाई मात्र नाङ्गो पारेर सम्पूर्ण शरीरलाई बाक्लो कपडामा ढाकेका ती वृद्ध नुवाकोटका केदार लामिछाने थिए । लन्डनस्थित बेम्ब्लीतिर बसोबास गर्ने बहत्तर वर्षीय लामिछाने आफ्ना छोरीज्वाइँ र नातिसँगै तिनको घरमा विगत तीन वर्षदेखि बसिरहेका थिए । एक्लिनुलाई मात्र देश छोड्नुको कारण भन्न नरुचाउने, श्रीमतीको मृत्यु भएपछि बिदेसिएका पूर्वहेडमास्टर वृद्ध लामिछाने केही अप्ठ्यारो मान्दै ‘वर्तमान बदलिँदो परिवेश’लाई दोष दिन्छन् ।
‘यो एक्लोपन र यस्तो जाडोले यो उमेरमा तपाईँलाई कत्तिको नेपालको सम्झना दिइरहेको छ त ?’ भन्ने प्रश्नमा ‘जन्मेको ठाउँ जे–जस्तो भए पनि दिल–दिमागबाट कहिल्यै हराउँदैन’ भन्दै वृद्ध लामिछाने यसरी एकोहोरो एकातिर टोलाउँदछन् कि आफ्नो सम्झनामा बसेको विगतहरूमा खुसी खोज्दै छन् या दुःखले पिरोलिँदै छन्, बुझ्न गाह्रो हुने गरी केही घोरिएपछि अगाडि भन्दछन्, ‘नरिसाउनु बाबु, तिमीहरूका पुस्ताहरूले नेपाललाई बस्नलायक बनाएनन् ।’ भोगाइको असर हुनुपर्दछ, त्यही असरले विचार बनाउँदछ । समय मन्द गतिमा चलेको लाग्ने सुदूर विगतमा जन्मेकाहरूले खासगरी बदलिँदो परिवेशको गतिलाई पछ्याउन नसकेर दुखेका भने अवश्य हुन्छन् । ‘खास त्यस्तो त होइन होला, तपाईं सायद समयसँग चल्न सक्नुभएन । स्थिति अनि अवस्थाहरू त समयसँगै परिवर्तनशील हुन्छन्, होइन र ? तपाईं त बुझ्ने मान्छे ……।’ हल्का–हल्का हल्लिन छोडेर बेन्चमा बसेका वृद्ध लामिछानेलाई फेब्रुअरी महिनाको जाडोले थर्थराउँदै थियो । तीन वर्षपछि लन्डनको यो क्षेत्रमा पनि हिउँ परेको थियो । रसुवाको धुन्चेबाट नुवाकोट झरेका लामिछाने खानदानले जुगौँजुग ती जिल्लाहरूवरपर बिताएको थियो । लौरोको रूपमा छातालाई टेक्दै अगाडि हिँड्दै गरेका वृद्ध भन्दै थिए, ‘गोसाइँकुण्ड जाँदा उसबेला मज्जाले हिउँ खेलिन्थ्यो, यो हिउँले मलाई त्यो बेलाको नेपाली संसारको याद आउँछ । गरिबीमा बाँच्न पनि समाजमा निक्कै सुखशान्ति थियो । एक–अर्कामा भरोसा थियो, समाजमा हाम्रो इज्जत थियो । अहिले त्यही गाउँमा आफ्नो परम्परालाई धान्दै इज्जतले बाँच्न नसक्ने अवस्था छ । छुवाछूत कानुनी रूपमा हटाइएको हो, तर आफ्नो अधिकारको स्थापना गर्ने भन्दै अर्कालाई आफ्नो परम्परा, अरूलाई चोट नदिई पालन गर्न पाउनुपर्ने अधिकारको हनन त गर्नुभएन नि ?’
जातपात र छुवाछूत हटेको भन्दै ब्राह्मणहरूको घरभित्रको चुल्होहरूमा जुत्तासहित गाउँका त्यस्ता जातिका युवाहरू भित्रिन थालेपछि लामिछानेको परिवार शान्त मनसँगै सो गाउँमा बस्न नसकी त्रिशूली बजारमा झरेका थिए । एक छोरो अमेरिकाको डल्लासमा र अर्की छोरी युकेको लन्डनमा वर्षौंदेखि घरजम गरी बस्दै आएकाले श्रीमती बितेपछि कहिले अमेरिका र कहिले युके बस्दै आउने वृद्ध लामिछाने अन्त्यमा भन्दै थिए, ‘आफैँ भन त बाबु, जहाँ इज्जतका साथ शिर ठाडो गरेर हिँडिएको थियो, त्यही ठाउँमा शिर निहु-याएर अनि अपहेलित भएर बाँच्न सकिन्छ त ? त्यसैले नेपालको त सम्झना मात्रै छ बाँकी, फर्केर त्यतै बाँकी जीवन बिताउन सकिने मचाहिँ देख्दिनँ पक्कै नै ।’
हङकङमा वर्षौंदेखि बसोबास गर्दै आउने नेपालीहरूका ९९ प्रतिशत जनजातिहरू भएको स्थानीय नेपाली जमातका चर्चा छ । हङकङमा रहेको नेपाली महावाणिज्य दूतावासमा आजसम्म नेपाल सरकारले एकजना पनि जनजातिमूलका महावाणिज्यदूत पठाएको छैन, जसका लागि हङकङमा जनजाति महासङ्घलगायतका अनेकौँ जातीय संस्थाहरूले त्यहाँ नेपाल सरकारको प्रतिनिधित्व गरेर आउने गैरजनजातीय महावाणिज्यदूतको औपचारिक रूपमा विरोध गर्दछन् र सो गैरजनजातिमूलको व्यक्तिको सार्वजनिक रूपमा नेपाली संस्थाहरूले गरेको भन्दै सामाजिक बहिष्कार पनि गर्दछन् ।
पानी परेको अगस्टको एक वाफिलो साँझ, चिम सा चुईस्थित स्टार फेरी पियरबाट फेरीमा यात्रा गर्दै वानचाई जाने क्रममा, केही हप्ताका लागि श्रीमतीसहित हङकङ आएका कृष्णप्रसाद भण्डारी हङकङमा प्रकाशित एक नेपाली साप्ताहिक पत्रिकाको मुख्य पृष्ठ पढ्दै थिए र साथमा श्रीमतीसँग बोल्दै पनि थिए, ‘नेपाली राजनीतिक पार्टीहरूको भागमा पर्ने हङकङमा पठाइएको सरकारी दूतलाई हङकङमा बस्ने सहुलियत पाएका नेपालीका बहुमतले सार्वजनिक रूपमा यहाँ बहिष्कार गर्ने रे, …अल्पमतमा रहेकाहरूलाई उक्त नेपाली प्रतिनिधिलाई यहाँ सम्मान गर्न चाहे पनि नपाउने भए । यस्तो पनि हुन्छ र ?’
पूर्व रामेछापको जिल्ला अदालतमा काम गर्ने वकिल पेसाका भण्डारीलाई नपचेको कुरा, आफ्नो अधिकारको सम्वद्र्धन गर्दै भनेर गरिएको अधिकारको प्रयोगमा, अर्काको अधिकारलाई हनन गर्न कोही पछि पर्दैनन् रहेछन् भन्ने थियो । उनको बुझाइमा नै हङकङ नेपालको कुनै एक जिल्ला वा अञ्चल वा क्षेत्र थिएन, जसमा पठाउनका लागि सरकारले त्यहाँ बस्ने मानिसको रुचि र मागलाई आधार बनाओस् । पार्टीगत कोटाको हिसाबमा भागबन्डा गरिएर नियुक्ति थमाइने परिपाटी चलेको वर्तमान राजनीतिगत क्रियाकलापहरूमा व्यक्तिको राजनीतिक साँठगाँठ अनि पहुँचले नै मान्यता पाउँदछ पदका लागि छानिनुमा भने, त्यहाँ जातीय विविधिकरणको त कुरै आउँदैन । हङकङमा कानुनी रूपमा बसोबास गर्ने, त्यहीमाथि भनिएकै जम्मा एक प्रतिशतका गैरजनजातिहरूलाई, सायद हुन सक्दछ, गैरजनजातिमूलका महावाणिज्यदूतलाई सम्मान गर्ने चाहना होस्, तर ९९ प्रतिशतका मानिसले उनलाई विरोध गर्न पाउने अधिकारका बीच, त्यो एक प्रतिशतले उनलाई सम्मान गर्न पाउनुपर्ने अधिकार मिचिएको थियो । भण्डारी भन्दै थिए, ‘यसरी ९९ प्रतिशतका आप्रवासी नेपालीका घृणाको पात्र भएर आएको महावाणिज्यदूतहरूलाई यहाँ बाँच्न कति गाह्रो भयो होला ? अनि त्यो एक प्रतिशतहरूलाई आफ्ना मौलिक अधिकारहरूको उपयोग गर्न नपाई भित्रभित्रै कुँजिएर बस्दा कत्तिको अप्ठ्यारो भयो होला !’
मानिस सामाजिक प्राणी हो, समाजबाट अलग रहेर कतै बस्नै सक्दैनन् । मानिसलाई खुसियाली बाँड्न समाजको साथ चाहिन्छ, अर्काले सहानुभूति नदेखाउने भए मानिसलाई वास्तवमा कुनै दुःखले दुखाउँदैन । चाड, पर्वहरू तथा मौसमहरू सबै–सबै समाजमा सामाजिक हुँदा प्यारो लाग्दछ भने जस्तोसुकै विपद्हरू पनि समाजमा सजिलोसँग पार लाग्दछन् । माथि राखिएको दुई उदाहरण निक्कै नै सारगर्भित छन् । नुवाकोटका लामिछाने र रामेछापका भण्डारीहरूले राख्ने विचारहरू पक्कै नै व्यक्तिगत मात्र होइनन् । समयसापेक्ष भन्ने गरिएका भए तापनि त्यो परिवर्तनमा समाजमा व्यापक विखण्डन भने ल्याएको हो । लामिछानेले भोगेका घटनाले उनको एक्लो प्रतिनिधित्व गर्दैन, त्यसले एक सिङ्गो कालखण्डको पनि प्रतिनिधित्व गर्दछ ।
एउटा सिङ्गो कालखण्डलाई थन्क्याउने गरेर नेपालमा शाह वंशको विनाश गरियो । देशमा विकराल किसिमले आन्तरिक गृहयुद्धजस्तो चलिरहेको सङ्क्रमित बेलामा घटाइएको उक्त वीरेन्द्र शाहको वंशनाशको बेला, त्यसबेला नारायणहिटी दरबारमा सम्पूर्ण पारिवारिक जमघटको अवसरमा पूर्वराजा ज्ञानेन्द्रको अनुपस्थिति हुनु, उनकी श्रीमती कोमल र छोरो पारस घटनास्थलमा भएर पनि सकुशल हुनुले अपरिमेय रूपमा पूर्वराजा ज्ञानेन्द्रमाथि सबैको शङ्का परेको हो । प्रजातान्त्रिक राज्यव्यवस्था भएको अवस्थामा घटाइएको सो घटनापछि तत्कालीन सरकारलाई घटनाको निष्पक्ष जाँचबुझ गर्न कसैले पनि रोक्न सक्ने अवस्था थिएन र त्यहीअनुरूप विभिन्न प्रतिवेदनहरू आए, अनुसन्धानहरू भए र अन्तिममा पूर्वराजकुमार दीपेन्द्रको पागलपनको नतिजा भएको समाचारहरू बाहिर आयो । अन्ततः ज्ञानेन्द्र राजगद्दीमा बसेर केही समय अप्रत्यक्ष र केही समय प्रत्यक्ष नेपाल सरकारको हैसियतमा शासन गरे नेपालमा । तथापि कैयनको नजर र बुझाइमा, स्व. राजा वीरेन्द्रको वंशनाश, उनकै भाइ पूर्वराजा ज्ञानेन्द्रबाट भएको हो भन्ने धारणा अद्यापि हटेर गएको छैन ।
(बाँकी आगामी अङ्कमा)
प्रतिक्रिया