रमाइलो–घमाइलो

रमाइलो–घमाइलो


ramailo-ghamailo2कमिला टोकाएर जन्डिसको उपचार
कमिलाले टोक्दा जन्डिस निको हुन्छ भने किन नटोकाउने ? रायपुर (भारत)स्थित बस्तर नामक इलाकाका आदिवासीले वर्षौंदेखि जन्डिसको उपचार एकप्रकारको रातो कमिलालाई टोकाएर र सोही कमिलाको अचार खाएर गर्दै आएका छन् । बस्तरवासीले परम्परागत रूपमा अवलम्बन गर्दै आएको उक्त विधिबारे यतिबेला अनुसन्धान तथा शोध नै गरिन थालिएको छ । वैज्ञानिक नाम इकोफिला स्मार्ग डिना रहेको रातो कमिलाको चटनीले पेटसम्बन्धी विभिन्न रोग पनि ठीक हुने सम्बन्धित क्षेत्रका आदिवासीको दाबी छ । अध्येताहरूले उक्त कमिलाको टोकाइपछि कमिलाको विषमा रहेको फार्मिक एसिड बिलरुविन (पित्तजनक) रासायनिक क्रियामार्फत बिलुवर्डिनमा परिवर्तित हुने र यसबाट जन्डिसबिरामीको पहेँलोपन हट्दै जाने पत्ता लगाएका छन् । रायपुरमा चापडा नामले पुकारिने उक्त रातो कमिलाको अचार निकै लोकप्रिय छ भने हाटबजारमा समेत त्यसको व्यापार चल्ने गरेको छ । रायपुरको बस्तरमा कमिला बस्ने रुखमुनि कपडा ओछ्याएर रूख हल्लाउने र रूखबाट खसेका कमिलालाई पोको पारेर घर ल्याई चटनी बनाउने प्रचलन रहेको छ ।

बोनसबापत पोर्नस्टारसँग सहवास
कुनै पनि कम्पनीले आफ्ना कर्मचारीलाई बोनसको रूपमा रकम प्रदान गर्नु, घुमफिरको व्यवस्था मिलाउनु सामान्य कुरा हो । तर, कर्मचारीप्रति अत्यन्त खुसी भई कुनै कम्पनीले बोनसको रूपमा पोर्नस्टार (अश्लील फिल्ममा काम गर्ने अभिनेता÷अभिनेत्री)सँग रात बिताउने अवसर प्रदान गर्छ भने त्यसलाई कुन रूपमा बुझ्ने ? हो, एक चिनियाँ कम्पनीले कर्मचारीलाई यस्तै रोचक अफर गरेको खुलासा भएको छ । इन्टरनेट सेक्युरिटीसम्बन्धी काम गर्ने चिनियाँ कम्पनी ‘क्युहु ३६०’ले नितान्त नौलो प्रकारको बोनस योजना अघि सारेर सामाजिक सञ्जालमा तहल्का मच्चाएको मात्र नभई आफ्नै कर्मचारीलाई समेत आश्चर्यमा पारिदिएको छ । गोप्य राख्दाराख्दै चुहिएको उक्त कम्पनीको बोनस योजनाअनुसार सबभन्दा योग्य ठहरिएको कर्मचारीलाई जुलिया नामक फेमस पोर्नस्टारसँग समय बिताउने अवसर दिइँदै थियो भने अन्य कतिपयलाई बाली घुम्न पठाउने प्रस्ताव कम्पनीले बनाएको थियो । पोर्नस्टारसँग समय बिताउने बोनस पाएका कर्मचारीले प्रस्ताव स्वीकार गरे–नगरेकोबारेमा भने कुनै समाचार सार्वजनिक गरिएको छैन ।

बोकालाई गुगलको जागिर
इन्टरनेट दुनियाँको सबभन्दा ठूलो संस्था गुगल कम्पनीले जुनसुकै कदम उठाए पनि त्यो चर्चामा रहँदै आएको छ । पछिल्लोपटक गुगलले चालेको कदम पनि यस्तै रोचक प्रकृतिको छ । यसपटक गुगलले दुई सय बोकालाई कम्पनीमा जागिर दिएर नयाँ काम देखाएको हो । इन्टरनेटको काम गर्ने कम्पनीमा ती बोकाले के काम गर्ने होलान् भन्ने प्रश्न उठ्नु स्वाभाविक छ । वास्तवमा ती बोका–बाख्राहरूले गुगल कार्यालय–परिसरमा बढेका घाँस खाइदिएर कम्पनीलाई सघाउने छन् । दुई सय बोकाको बथानले हरेक दिन गुगल कार्यालयको कम्पाउन्डमा उम्रिएको घाँस खाएर घाँस काट्ने मेसिनलाई विस्थापित गरिदिने आशा उक्त कम्पनीले राखेको छ । एकातिर खसी–बोकाका पेट भरिने अर्कोतिर कम्पनी परिसर पनि सफा हुने † मेसिनबाट घाँस काट्दा आउने आवाजले डिस्टर्भ भएकाले बोकालाई उक्त जागिर दिइएको र दुई सय बोकाको रेखदेख गर्न एक व्यक्ति नियुक्त गरिएको पनि गुगलले जनाएको छ ।

ब्रा बन्यो बुलेटप्रुफ
मिति पुगेको छैन भने कालले पक्रिए पनि यमलोक पु-याउन नसक्ने रहेछ भन्ने उदाहरण हालै ब्राजिलकी एक महिला बन्न पुगेकी छिन् । एक सुपरमार्केटमा किनमेल गरिरहेको अवस्थामा दुई बदमासले गोली चलाएको त उनले चाल पाइन्, तर आफ्नो छातीमै गोली लाग्दा पनि सकुशल रहेकी इवेते मेडिरोस नामक ती महिला त्यतिबेला आश्चर्यचकित भइन् जब उनले आफूले पहिरिएको भित्री वस्त्र (ब्रा) खोलिन् । मेटलले बनेको आफ्नो ब्राले कुनै बेला बुलेटप्रुफको काम पनि गर्ला भन्ने उनले कल्पनासम्म पनि गरेकी थिइनन्, तर भयो त्यस्तै । उनको भित्री वस्त्रमा एक गोली अड्किरहेका थियो जो उक्त ब्रा छेडेर शरीरभित्र पवेश गर्न सकिरहेको थिएन । हालैको यस घटनालाई एक चमत्कारकै रूपमा स्थानीय मिडियाले समाचारको विषय तुल्याएका थिए ।