विश्वकपमा भारत र न्युजिल्यान्डको दबदबा

विश्वकपमा भारत र न्युजिल्यान्डको दबदबा


sportअस्ट्रेलिया र न्युजिल्यान्डमा सञ्चालन भइरहेको विश्वकप क्रिकेट प्रतियोगितामा भारत र न्युजिल्यान्डले सनसनीपूर्ण प्रदर्शन गरेका छन् । विश्वकपको प्रमुख दाबेदारको रूपमा गणना गरिएका यी दुई टिमको प्रदर्शनले विश्वकपलाई नै सनसनीपूर्ण र रोमाञ्चित बनाइदिएको छ । दुवै टिमले विश्वकपमा सनसनीपूर्ण प्रदर्शन गर्दै विश्वकपमा नौलो कीर्तिमान कायम गर्न सफलसमेत भएका छन् । भारतका विराट कोहली, शिखर धवन र न्युजिल्यान्डका ब्रेन्डन म्याकलम र टिम साउथीको उत्कृष्ट प्रदर्शनले विश्वकपको गणितलाई समेत प्रभावित तुल्याइदिएको छ । जसले गर्दा यसअघि विश्वकपको विजेताको बारेमा गरिएका अड्कल र अनुमानहरू गलत सावित हुने कगारमा पुगेका छन् । आयोजकको नाताले न्युजिल्यान्डलाई प्रमुख दाबेदारको रूपमा चित्रित गरिए पनि डिफेन्डिङ च्याम्पियन भारतलाई प्रमुख आठ टिमको रूपमा मात्र हेरिएको थियो । अस्ट्रेलियामा हालै सम्पन्न भएको त्रिकोणीय शृङ्खलामा कमजोर प्रदर्शन गरेको भारतलाई सोही आधारमा क्रिकेटका विश्लेषणकर्ताहरूले आँकलन गरेका थिए । ती विश्लेषणकर्ताहरूले यो विश्वकप अस्ट्रेलिया, न्युजिल्यान्ड र दक्षिण अफ्रिकामध्ये एक देशले जित्ने दाबीसमेत गरेका थिए । तर, ती विश्लेषणकर्ताहरूको विश्लेषणलाई गलत सावित गर्दै भारत निकै खरो उत्रिएको छ । भारतीय खेलाडीहरूले विश्वकपमा उत्कृष्ट प्रदर्शन गर्दै आलोचकहरूको मुखमा नराम्रो थप्पड हान्न सफल भएका छन् ।
भारतले आफ्नो पहिलो खेलमा चिरप्रतिद्वन्द्वी पाकिस्तानलाई पराजित गर्दै विश्वकपमा पाकिस्तानसँगको अपराजित शृङ्खलालाई कायम राखेको थियो । भारतले हालसम्म विश्वकपमा पाकिस्तानलाई ६ पटक पराजित गरेर नौलो कीर्तिमानसमेत कायम गरेको छ । विश्वकप सुरु हुनअघि भारतलाई पाकिस्तानभन्दा कमजोर टिमको रूपमा गणना गरिएको थियो । तर, भारतले पाकिस्तानलाई ७६ रनको विशाल अन्तरले पराजित गर्दै विश्वकपमा सफल सुरुवात गरेपछि भारतको अग्निपरीक्षाको रूपमा दक्षिण अफ्रिकाविरुद्धको खेललाई हेरिएको थियो । यसर्थमा अहिलेसम्म विश्वकपमा भएका चारवटा भिडन्तमा भारत दक्षिण अफ्रिकासँग पराजित भएको थियो । यसपटक भारतका लागि दक्षिण अफ्रिका विरुद्धको खेल गर कि मरको अवस्थामा थियो । किनकि यो भारतभन्दा दक्षिण अफ्रिका क्रिकेट पण्डितहरूको फेभरेट टिममा परेको थियो । यसै कुरालाई मध्यनजर राख्दै दक्षिण अफ्रिकाका सामु भारत निरीह सावित हुने विश्लेषण गरिएको थियो । विगतको विश्वकपको इतिहास पल्टाउँदा यसपटक दक्षिण अफ्रिकी टिमको प्रदर्शन हेर्दा सञ्चारकर्मीहरूले पनि भारतलाई दक्षिण अफ्रिकाले सहजै पराजित गर्ने समाचार सम्प्रेषण गरेका थिए । तर, यी सबै कुरालाई गलत सावित गर्दै भारतले आफ्नो दोस्रो खेलमा दक्षिण अफ्रिकालाई एक सय ३० रनले पराजित गर्दै यो विश्वकपको प्रमुख दाबेदारको रूपमा उभ्याएको छ । यो खेल निकै प्रतिस्पर्धात्मक हुने अनुमान गरिए पनि भारतले दक्षिण अफ्रिकालाई कागजी बाघको रूपमा सीमित राख्दै विश्वकपमा लगातार चारचोटिको पराजयको बदलासमेत लिएको छ । यो हारले दक्षिण अफ्रिका पुनः विश्वकपको अभागी टिमको रूपमा चिनिने हो कि भन्ने शङ्का–उपशङ्का उत्पन्न भएका छन् ।
त्यस्तै आफ्नो पहिलो खेलमा न्युजिल्यान्डले श्रीलङ्कालाई ठूलो अन्तरले पराजित गर्दै सनसनी फैलाएको थियो । एकोहोरो खेलमा न्युजिल्यान्डका सामु श्रीलङ्का मुसो सावित भएको थियो । न्युजिल्यान्डले बलिङ, ब्याटिङ र फिल्डिङमा उत्कृष्ट प्रदर्शन गर्दै श्रीलङ्कालाई निराश तुल्याएको थियो । एसोसियट राष्ट्र स्कटल्यान्डसँग भएको दोस्रो खेलमा पनि सहज विजय पाएको न्युजिल्यान्डको तेस्रो भिडन्त चिरप्रतिद्वन्द्वी इंग्ल्यान्डसँग भएको थियो । यो खेल निकै प्रतिस्पर्धात्मक हुने विश्वास गरिए पनि न्युजिल्यान्डका सामु इंग्ल्यान्डका शेरहरू नराम्रोसँग ढल्न पुगेका थिए । न्युजिल्यान्डले इंग्ल्यान्डलाई एक सय २३ रनमा रोक्दै अविष्मरणीय प्रदर्शन गरेको थियो । इंग्ल्यान्डका बाघहरूलाई ढाल्न न्युजिल्यान्डका तीव्रगतिका बलर टिम साउथीले महत्वपूर्ण भूमिका निभाएका थिए । साउथीले नौ औभरमा ३३ रन दिएर इंग्ल्यान्डका सात विकेट लिएका थिए । विश्वकप क्रिकेटको इतिहासमा साउथीको यो प्रदर्शन अस्ट्रेलियाका म्याक ग्रा (७–१५) र एन्डी विचेल (७–२०) पछिको उत्कृष्ट तेस्रो हो । यसपछि न्युजिल्यान्डका कप्तान तथा विश्वचर्चित विस्फोटक ब्याट्सम्यान ब्रेन्डन म्याकलमले २५ बलमा ७७ रन बनाएर १२.२ ओभरमै न्युजिल्यान्डलाई विजयी बनाएका थिए । यही खेलमा म्याकलमले १८ बलमा अर्धशतक बनाउँदै विश्वकीर्तिमान कायमसमेत गरेका थिए । यसअघिको विश्वकपमा उनले २० बलमा अर्धशतक बनाएर विश्वकीर्तिमान राखेका थिए । विश्वकपमा म्याकलमले आफ्नो रेकर्ड आफैँ ताडेका हुन् । यसरी अहिलेसम्म तीन खेलमा अपराजित रहेर आफ्नो समूहमा शीर्ष स्थान हासिल गरेको न्युजिल्यान्डलाई उसको प्रदर्शनको आधारमा यो विश्वकपको प्रमुख दाबेदारको रूपमा हेरिन थालिएको छ ।
अर्को प्रमुख दाबेदारको रूपमा हेरिएको अस्ट्रेलियाले आफ्ने पहिलो खेलमा इंग्ल्यान्डलाई पराजित गरेर उत्कृष्ट सुरुवात गरे पनि बंगलादेशविरुद्धको दोस्रो खेल वर्षाले प्रभावित हुँदा बाध्यतावश अङ्क बाँड्नुपरेको छ । यो समूहमा न्युजिल्यान्ड, अस्ट्रेलिया र बंगलादेश अपराजित रहेका छन् । बंगलादेशले आफ्नो पहिलो खेलमा यूएईलाई पराजित गरेको थियो । त्यस्तै आफ्नो पहिलो खेलमा एसोसियट राष्ट्र आयरल्यान्डसँग अकल्पनीय पराजय भोगेको वेष्टइन्डिजले दोस्रो खेलमा पाकिस्तानलाई एक सय ५० रनको ठूलो अन्तरले पराजित गरेको छ । पाकिस्तान आफ्ना दुवै खेलमा पराजय भोगेर अन्तिम आठका लागि सङ्घर्षरत छ । पाकिस्तानको तेस्रो भिडन्त एसोसियट राष्ट्र आयरल्यान्डसँग हुँदै छ । यदि आयरल्यान्डसँग पनि पाकिस्तान पराजित भयो भने प्रतियोगिताबाट बाहिरिने प्रबल सम्भावना छ । आयरल्यान्डले वेष्टइन्डिजको विशाल स्कोर पछ्याउँदै पराजित गर्नु र वेष्टइन्डिजले पाकिस्तानलाई पराजित गर्नु अहिले पाकिस्तानका लागि आयरल्यान्ड टाउको दुःखाइ बनेको छ । यो खेल पाकिस्तानका लागि गर कि मर हुनेछ । आयरल्यान्डले तीन सय पाँच रनको लक्ष्य सहजै पार गर्दै वेष्टइन्डिजमाथि विजय हासिल गरेको थियो । यदि पाकिस्तानलाई आयरल्यान्डले पाखा लगाउन सफल भयो भने अन्तिम आठका लागि उसको ढोका सहज हुनेछ । यो विश्वकपमा चारवटा एसोसियट राष्ट्रहरूले सहभागिता जनाए पनि आयरल्यान्डबाहेक कसैले पनि ठूला मानिएका अर्थात् टेस्ट खेल्ने राष्ट्रलाई विश्वकपमा पराजित गर्न सकेका छैनन् । यसअघिको विश्वकपमा पनि आयरल्यान्डले इंग्ल्यान्डलाई पराजित गरेर ठूलो उलटफेर गरेको थियो ।
यसरी हाल सञ्चालन भइरहेको विश्वकपमा सहभागी राष्ट्रले आफ्ना दुई–दुईवटा लिग खेल खेलिसकेका छन् । जसमा टेस्ट खेल्ने राष्ट्रहरू नै हाबी देखिएका छन् । एसोसियट राष्ट्रहरूमा आयरल्यान्डबाहेक कसैले पनि आफ्नो खेल जित्न सकेका छैैनन् । नवप्रवेशी अफगानिस्तानले उत्कृष्ट खेलको प्रदर्शन गरे पनि अनुभवी टिमको अगाडि घुँडा टेक्नुपरेको छ । त्यस्तै, यूएई र स्कटल्यान्डले पनि सोचेकोभन्दा राम्रो प्रदर्शन गरेका छन् । तर, अनुभवको कमीले गर्दा उनीहरूले माथ खानुपरेको छ । यसरी सर्सर्ती विश्लेषण गर्दा यो विश्वकपमा बलियो मानिएका टिमहरूकै दबदबा रहने विश्वास गर्न सकिन्छ । जसमा आयोजक अस्ट्रेलिया, न्युजिल्यान्ड, भारत र दक्षिण अफ्रिकामध्ये एकले बाजी मार्न सक्ने देखिन्छ । वर्तमान अवस्थामा इंग्ल्यान्ड र पाकिस्तानको प्रदर्शन हेर्दा उनीहरू अन्तिम आठमा पुग्ने कुरामा समेत प्रश्नचिह्न खडा भएकोे छ । लगातार दुई खेलमा ठूलो अन्तरले पराजित हुनुले क्वार्टरफाइनलमा पुग्न उनीहरूलाई रनरेट समस्या हुने देखिन्छ ।

कीर्तिमान नै कीर्तिमान
न्युजिल्यान्डको तीव्र शतक
–अस्ट्रेलिया र न्युजिल्यान्डमा सञ्चालन भइरहेको विश्वकपमा कीर्तिमानको ओइरो लागेको छ । प्रत्येक खेलमा कीर्तिमान कायम हुन थालेका छन् । त्यस्तै न्युजिल्यान्डले इंग्ल्यान्डविरुद्धको तेस्रो खेलमा अकल्पनीय शतक प्रहार गरेर विश्वकपमा नयाँ कीर्तिमान कायम गरेको छ । उक्त खेलमा न्युजिल्यान्डले ६.४ ओभरमा एक सय रन बनाएको थियो । त्यस्तै २००७ मा पनि विस्फोटक पारी खेल्दै न्युजिल्यान्डले सर्वाधिक छिटो अर्धशतक बनाएर कीर्तिमान कायम गरेको थियो । न्युजिल्यान्डले उक्त कीर्तिमान आफ्नो नाममा खेलाउने क्रममा ३.३ ओभरमा ५० रन बंगलादेशविरुद्ध बनाएको थियो ।

ब्रेन्डन म्याकुलमको तीव्र अर्धशतक
त्यस्तै इंग्ल्यान्डविरुद्धको खेलमा न्युजिल्यान्डका ब्रेन्डन म्याकुलमले तीव्र अर्धशतक बनाएर विश्वकपमा नौलो कीर्तिमान कायम गरेका छन् । म्याकुलमले विस्फोटक ब्याटिङ गर्दै १८ बलमा ५० रन बनाएका थिए । यसअघि २००७ को विश्वकपमा क्यानडाविरुद्धको खेलमा म्याकुलमले २० बलमा अर्धशतक बनाएर कीर्तिमान कायम गरेका थिए । हाल भइरहेको विश्वकपमा इंग्ल्यान्डविरुद्ध सर्वाधिक छिटो ५० रन बनाएर म्याकुलम आफ्नो कीर्तिमान आफैँले तोडेका हुन् । उनले यो खेलमा २५ बलको सामना गर्दै ७७ रन बनाएका थिए । म्याकुलमले आफ्नो विस्फोटक पारीमा सात छक्का र आठ चौका प्रहार गरेका थिए । उनले फिनको बलमा लगातार चार चौका प्रहारसमेत गरेका थिए । एकदिवसीय क्रिकेटमा भने म्याकुलमको यो तेस्रो तीव्र अर्धशतक हो । दक्षिण अफ्रिका कप्तान एबी डेभिलियर्स १६ बलमा अर्धशतक बनाएका छन् । यसभन्दा अघि श्रीलङ्काका ब्याट्सम्यान जयसूर्याले १७ बलमा अर्धशतक बनाएका थिए ।

इंग्ल्यान्डको उल्टो कीर्तिमान
विश्वकप इतिहासमा इंग्ल्यान्डले पनि कीर्तिमान कायम गरेको छ । इंग्ल्यान्डले उत्कृष्ट प्रदर्शन गरेर नभई खराब प्रदर्शन गरेर उक्त कीर्तिमान कायम गरेको हो । न्युजिल्यान्डविरुद्धको खेलमा पहिलो ब्याटिङ गरेको इंग्ल्यान्ड एक सय २३ रनमै समेटिएको थियो । यो विश्वकपमा इंग्ल्यान्डले बनाएको सबैभन्दा कम योगफल हो । यो लक्ष्य न्युजिल्यान्डले १२.२ ओभरमा पार गरेर छिटो लक्ष्य भेट्टाउने दोस्रो राष्ट्रको रूपमा आफ्नो नाम दर्ता गराएको छ । सन् २००३ मा दक्षिण अफ्रिकाले बंगलादेशविरुद्धको खेलमा १२ ओभरमा एक सय नौ रनको लक्ष्य पार गरेको थियो ।
साउथीले नाम दर्ता गराए
–इंग्ल्यान्डविरुद्धको खेलमा न्युजिल्यान्डका तीव्र बलर टिम साउथीले पनि उत्कृष्ट प्रदर्शन गरेर कीर्तिमानी खेलाडीको नाममा आफ्नो नाम पनि दर्ता गरेका छन् । साउथीले नौ ओभरमा ३३ रन दिँदै इंग्ल्यान्डका सात विकेट लिएका थिए । यो न्युजिल्यान्डका खेलाडीले एकदिवसीय क्रिकेटमा गरेको सबैभन्दा उत्कृष्ट प्रदर्शन हो । विश्वकपमा भने अस्ट्रेलियाका म्याग्रा र एन्डी विचेलले सात विकेट लिएर यो कीर्तिमान कायम गरेका थिए । एकदिवसीय क्रिकेटको इतिहासमा एकै बलरले सात विकेट लिएको यो सातौँपटक हो ।
आयरल्यान्डको कमाल जारी
विगतका विश्वकपमा उलटफेर गर्दै आएको एसोसियट राष्ट्र आयरल्यान्डले जारी विश्वकपमा पनि कमालको प्रदर्शन गरेको छ । आयरल्यान्डले वेष्टइन्डिजको तीन सय पाँच रनको विशाल चुनौतीलाई पार गर्दै यो सफलता हासिल गरेको हो । यसअघि सन् २०११ को विश्वकपमा पनि आयरल्यान्डले इंग्ल्यान्डलाई पराजित गरेर सनसनी फैलाएको थियो । आयरल्यान्डले अहिलेसम्म एकदिवसीय क्रिकेटमा पाकिस्तान र बंगलादेशलाई पराजित गरिसकेको छ । जारी विश्वकपमा आयरल्यान्डको दोस्रो भिडन्त पाकिस्तानसँग हुँदै छ । आयरल्यान्डले पाकिस्तानलाई पराजित गरे यो विश्वकपमा उसको दोस्रो ऐतिहासिक सफलता हुनेछ ।

खेल समाचार

सास्जनलाई पाकिस्तानी खेल पत्रकारको निम्ता
नेपाल दक्षिण एसियाली खेलकुद पत्रकार सङ्घसँग पाकिस्तानका खेल पत्रकारबीच अन्तरक्रिया भएको छ । पाकिस्तानको डाउन ग्रुप अफ न्युजपेपर र न्युजविक कराँचीका पत्रकारसँग नेपाल दक्षिण एसियाली खेलकुद पत्रकार सङ्घबीच अपाङ्गता भएका व्यक्तिहरूको खेलकुदमा संलग्नता विषयमा छलफल भएको थियो । न्युजविक कराँचीका इडिटर इन चिफ सइज मोहमद, डाउन ग्रुप अफ न्युजपेपरका फोटो खेलकुद पत्रकारका विषयमा अन्तरक्रिया भएको थियो ।
सो अवसरमा न्युजविक कराँचीका प्रधान सम्पादक सइज मोहमदले र डाउन गु्रप अफ न्युजपेरका पत्रकार फायसल मुजेबले नेपाल दक्षिण एसियाली खेलकुद पत्रकार सङ्घका कोषाध्यक्ष रामसुदन तिमल्सिनालाई मायाको चिनो प्रदान गर्दै सङ्घलाई पाकिस्तान भ्रमणको समेत निम्तो दिएका थिए । नेपाल स्पाइनल कर्ड इन्जुरी खेलकुद सङ्घ जोरपाटी र अन्तर्राष्ट्रिय ह्विलचेयर क्रिकेट सङ्घका अध्यक्ष जिसान मोहमदको अगुवाइमा भर्खरै नेपालमा पहिलोपटक सम्पन्न भएको ह्विलचेयर क्रिकेट प्रतियोगिताका लागि पाकिस्तानी पत्रकार नेपाल भ्रमणमा आएका हुन् । सो प्रतियोगिता टी–१० अन्तर्गत खेलाइएको थियो । जसमा पाकिस्तानले नेपाली ह्विलचेयर क्रिकेट टोलीलाई तीन खेलमा पराजित गरेको थियो । आयोजक नेपाल स्पाइनल कर्ड इन्जुरी खेलकुद सङ्घका अध्यक्ष किशोरबहादुर शाही विश्वमै पहिलोपल्ट ह्विलचेयर क्रिकेट प्रतियोगिता आयोजना भएको बताए ।

पाकिस्तानलाई ह्विलचेयरको उपाधि
पाकिस्तानले विन्टर कप अन्तर्राष्ट्रिय ह्विलचेयर क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । तीन खेलको शृङ्खला पाकिस्तानले ३–० ले कब्जा गरेको थियो । १० ओभरको पहिलो खेलमा पाकिस्तानले नेपाललाई चार रनले पराजित गरेको थियो भने पाँच ओभरको दोस्रो खेलमा पाकिस्तान नौ विकेटले विजयी भएको थियो । पुल्चोक इन्जिनियरिङ क्याम्पसमा दुवै खेल भएका थिए । नेपाल स्पाइनल कर्ड इन्जुरी खेलकुद सङ्घद्वारा आयोजित प्रतियोगितामा पाकिस्तानका असद उल्लाह ‘म्यान अफ द सिरिज’ र उत्कृष्ट ब्याट्सम्यान चुनिए । नेपालका कप्तान हिमाल अर्याल उत्कृष्ट फिल्डर चुनिए ।

टेबलटेनिसको राष्ट्रिय टोली तयार
टेबलटेनिसको राष्ट्रिय टिमका लागि अखिल नेपाल टेबलटेनिस सङ्घले पाँच–पाँच पुरुष–महिला खेलाडी गरी १० खेलाडी छनोट गरेको छ । राष्ट्रिय खुला छनोट प्रतियोगिताको राउन्डरोबिन लिगमा शीर्ष पाँच–पाँच स्थान हात पर्ने खेलाडी राष्ट्रिय टिमका लागि छनोट गरिएको हो । पुरुषमा नेपाल प्रहरी क्लबका दीप साउद, प्रहरीका अमरलाल मल्ल, एपीएफका पुरुषोत्तम बज्राचार्य र शिवसुन्दर गोथे तथा भक्तपुरका कृष्ण थापामगर छानिए । महिलामा प्रहरीकी नविता श्रेष्ठ र एलिना महर्जन, एपीएफकी रविना महर्जन, कास्कीकी काजोल रौनियार तथा स्वेच्छा नेम्वाङ छनोट भएका छन् ।

बनेपामा सेमिकभर्डहल
राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव युवराज लामाले काभ्रेको बनेपा नगरपालिका– ११ मा निर्माण गरिएको सेमिकभर्डहलको उद्घाटन गरेका छन् । राखेपको विभिन्न जिल्लामा सेमिकभर्डहल निर्माण गर्ने उद्देश्यअनुरूप करिब ५१ लाख लागतमा कभर्डहल निर्माण सम्पन्न गरिएको काभ्रे जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख अभिकेशर कट्टेलले जानकारी गराए । ०६९ भदौ ४ गते सदस्यसचिव लामाले नै कभर्डहलको शिलान्यास गरेका थिए । बनेपा नगरपालिकाको करिब आठ रोपनी जग्गा हाताभित्र उक्त कभर्डहल निर्माण गरिएको छ । त्यसको भोगाधिकार नगरपालिकाले काभ्रे जिल्ला खेलकुद विकास समितिलाई दिइसकेको कार्यालय प्रमुख कट्टेलले जनाएका छन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै सदस्यसचिव लामाले कभर्डहल निर्माण गर्न जग्गा उपलब्ध गराउन प्रत्यक्ष–अप्रत्यक्ष रूपमा सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद दिँदै सेमिकभर्डहलाई पछि आवश्यकताअनुसार विस्तार गर्न सकिने भएकाले राखेपले विभिन्न जिल्लामा तत्काललाई सेमिकभर्डहल निर्माणकार्यमा जोड दिएको बताए । सदस्यसचिव लामाले काभ्रेको खेलकुद विकासमा प्रस्ताव ल्याए त्यो कार्यान्वयनमा राखेपले विशेष प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गर्दै विद्यालय नै खेलकुद विकासको मेरुदण्ड भएकाले विद्यालय तहका खेलकुद गतिविधिलाई राखेपले अगाडि बढाइरहेको बताए । राखेप कोषाध्यक्ष इन्द्रबहादुर थिङले राजधानीनजिक भएर पनि लामो समयपछि काभ्रेले कभर्डहल पाएको बताउँदै कभर्डहल निर्माणले खेलाडी र खेलकर्मीमा उत्साह थपेको बताए । उनले कभर्डहलको संरक्षणका लागि समिति बनाउनुपर्ने आवश्यकता औँल्याए थिए ।