काव्यमय कोलकाता– मणि लोहनी

काव्यमय कोलकाता– मणि लोहनी


Mani Lohaniभारतीय लेखिका कुसुम खेवानीले नेपाली भाषा र साहित्यबारे निकै राम्रो बोलिन् । नेपाली र हिन्दी भाषामा एकैप्रकारको रिदम रहेको उनको जिकिर थियो । कुसुमले नेपालीलेखन अन्तर्राष्ट्रियस्तरउन्मुख भइरहेको दाबीसमेत गरिन् । लामो समयदेखि यावर्थ साहित्यिक पत्रिकाको सम्पादक रहेकी कुसुमका यात्रा निबन्ध र उपन्यास प्रकाशित छन् । ‘कहानिया सुनाती है यात्राएँ’ भन्ने नियात्रा कृति उनको चर्चित छ । उनले नेपालीभाषीहरू अनुहार र साहित्य दुवैमा लोभलाग्दा हुने बताइन् । नेपाली भाषा–साहित्यको शिष्ट र बौद्धिक शैलीले प्रशंसा गरेकी उनले आफ्नो मन्तव्यको अन्त्यमा भनिन्, ‘नेपाली स्त्रीहरू मात्र होइन, पुरुष पनि निकै आकर्षित हुन्छन् ।’ सभाकक्ष तालीले गुञ्जायमान भयो । पञ्जावीसँग विवाह गरेकी यी ५२ वर्षीया लेखिकाको मनहर्ने नेपाली पुरुष नै रहेछन् । भनिन्, ‘जिन्दगीमा मैले सर्वाधिक सुन्दर पुरुष देखेको भनेको नेपाली नै हो । जो भुटानको वाणिज्यमन्त्री बनेका थिए कुनै बेला ।’ उनलाई अहिले पनि नेपाली पुरुष देख्यो भने सिरिङ्ग हुन्छ रे ।
भारतको प्राचीन र व्यापारिक सहर कोलकातास्थित भारतीय भाषा परिषद्को हल भारतीय, बंगाली र नेपाली लेखकले खचाखच भरिएको थियो । भारत–नेपाल जनमैत्री सांस्कृतिक मञ्च कोलकाताको आयोजनामा भएको नेपाली साहित्य सम्मेलनको पहिलो दिन थियो यो । सम्मलेनको उद्घाटन गरेका थिए, पश्चिम बंगालका शिक्षामन्त्री ब्रत्य वसुले । ब्रत्य वसु रंगकर्मी हुन् । उनले लामो समय पश्चिम बंगालको प्रतिनिधित्व गर्दै विश्वका विभिन्न स्थानमा नाटक प्रदर्शन गरेका छन् । उनी आफैँ अभिनेता र निर्देशक हुन् । कवि चन्द्र घिमिरेका साथी पनि रहेछन् उनी । कवि चन्द्र अहिले भारतको कोलकातास्थित नेपाल वाणिज्य दूतावासका महावाणिज्य दूत छन् । उनकै सक्रियतामा भारत–नेपाल जनमैत्री सांस्कृतिक मञ्चले सम्मेलनको आयोजना गरेको हो । सम्मेलनका संयोजक नारायण होमगाईं भन्छन्, ‘नेपाल वाणिज्य दूतावास कोलकाता र भारतको दिल्लीस्थित नेपाली दूतावासको सहयोग र कोलकातामा रहेका नेपाली समुदाय, विद्यार्थीको सद्भावका कारण सम्मेलनको आयोजना गर्न सकिएको हो ।’
विश्वभर १४ फेब्रुअरीको चटारो भर्खरै सकिएको बेला कार्यक्रममा सहभागी हुन नेपालबाट वैरागी काइँला, मोदनाथ प्रश्रित, श्यामल, निनु चापागाईं, राधेश्याम लेकाली, डा. खगेन्द्रप्रसाद लुइँटेल, युवराज नयाँघरे, रमेश पौडेल, नगेन्द्र रेग्मी, कविता पौडेल, लीला लुइँटेल, वसन्त बस्नेत र म कोलकाता पुगेका थियौँ । सम्मेलनको पहिलो दिन पाँचवटा कार्यपत्र प्रस्तुत गरिए । नेपाल र भारतका विभिन्न स्थानका गरी करिब तीन सय लेखक–कविको सहभागिता रहेको सम्मेलनको उद्घाटन गर्दै पश्चिम बंगालका शिक्षामन्त्री वसुले भने, ‘चन्द्रजीले सक्रियता देखाउनुभो भने हामी नेपाली र बंगाली कविलाई अनुवादका माध्यमबाट आदान–प्रदान गर्न सक्छौँ । यसका लागि म साहित्य अकादमी र केन्द्रीय सरकारसँग पहल गर्छु ।’ शुभकामना मन्त्यव्य दिँदै बंगला साहित्यका ज्ञाता डा. रामकुमार मुखोपाध्यायले नेपाली लेखक र बंगाली लेखकबीच विद्यमान सद्भावपूर्ण सम्बन्धलाई सिर्जनशील बनाउनुपर्ने बताउनुभयो ।
भारतमा नेपाली भाषा, अवसर एवम् चुनौती विषयक पहिलो कार्यपत्र सिक्किमबाट आएका साहित्यकार पेमा तामाङले प्रस्तुत गरेका थिए । ‘भारतमा रहेका नेपालीभाषीले आ–आफ्नो जातिगत भाषालाई छाडेर नेपाली भाषालाई मातृभाषाका रूपमा स्वीकार गरेको कार्यपत्रमा उल्लेख छ । कार्यपत्रमाथि दार्जिलिङका कवि मनप्रसाद सुब्बाले टिप्पणी गरे । सहजकर्ताको भूमिकामा थिए देहरादूनबाट आएका लेखक भुपेन अधिकारी । हिन्दी, नेपाली र मैथलीबीचको साहित्य सम्बन्ध तथा बंगला र नेपाली साहित्यको अन्तर सम्बन्ध विषयक कार्यपत्र अन्य कार्यपत्रभन्दा विशिष्ट थिए । दुवै कार्यपत्र प्रस्तोताले निकै मिहिनेत गरेको देखियो । डा. कृपाशंकर चौभेको अध्यक्षतामा डा. राम अहलाद चौधरीले प्रस्तुत गरेको हिन्दी, नेपाली र मैथलीबीचको साहित्य सम्बन्ध विषयक कार्यपत्रमा मिथिलेस झाले टिप्पणी गरेका थिए । डा. चौधरी कोलकाता युनिर्भसिटीका प्रसिद्ध प्रोफेसर रहेछन् । त्यस्तै प्रोफेसर हरेन घोषले प्रस्तुत गरेको बंगला र नेपाली साहित्यको अन्तर सम्बन्ध विषयक कार्यपत्रमा डा. दिवाकर प्रधानले टिप्पणी गरेका थिए । नेपालबाट गएका साहित्यकार मोदनाथ प्रश्रितको अध्यक्षतामा डा. खगेन्द्रप्रसाद लुइँटेलले समकालीन नेपाली साहित्यको गति एवम् सम्भावना विषयक कार्यपत्र प्रस्तुत गरे । टिप्पणी निनु चापागाईंले गरे । कोलकाताबाट नेपाली भाषा प्रकाशनको सय वर्ष विषयक विकास कार्कीको अन्तिम कार्यपत्रमाथि डा. उदय क्षेत्रीले टिप्पणी गरेका थिए ।
सम्मेलनको दोस्रो दिनको काव्यसभा विशेष महत्वको देखियो । नेपालीभाषी कविहरू नेपाल र भारतका दार्जिलिङ, सिक्किम, सिलगुढी, देहरादून, असम, गुवाहाटी, कोलकाताबाट सहभागी थिए । अझ नेपाली कविको सम्मानमा बंगाली कविहरूको बाक्लो उपस्थिति थियो । नेपाली लेखक वैरागी काइँला, श्यामल, मनप्रसाद सुब्बा, चन्द्र घिमिरे, मणि लोहनी, युवराज नयाँघरे, जीवराज घिमिरे, नव सापकोटा, डा. शान्ति थापासँगै हारमा हार मिलाएर उभिएका थिए बंगाली कविहरू सुविमल बसाक, म्रिनाल वसु, अनन्य बन्धोपाध्याय, विश्वजित राय, सुब्रकान्ती कर, सौमित्री घोषदोस्तिदार, फुललोरा मुखपाध्याय, पार्थप्रितम विश्वास । काव्यसभामा उर्दू कवि पनि थिए— महमद साइद हुसेन साइद । काव्यसभामा सहजकर्ताका रूपमा थिए कवि श्यामल, मनप्रसाद सुब्बा, राधेश्याम लेकाली र नव सापकोटा । बिहान ११ बजेदेखि सुरु भएको काव्यसभा बेलुका पाँच बजेसम्म चलेको थियो । गीतकार रमेश पौडेलले सञ्चालन गरेको काव्यसभामा करिब ७५ जना कविले कविता वाचन गरेका थिए ।
कार्यक्रमको अन्तिम दिन कोलकातामा अध्ययनरत नेपाली विद्यार्थीको संस्था भोलिका लागि आजका हातहरूले सांस्कृतिक कार्यक्रमको आयोजना गरेको थियो । कार्यक्रमको सुरुमा नेपाली विद्यार्थीले नेपाली र भारतीय राष्ट्रियगान गाएका थिए । त्यस अवसरमा विभिन्न नेपाली नृत्य, गीत र नेपाली भेषभूषाको प्रदर्शन गरिएको थियो ।
[email protected]