(गताङ्कबाट जारी)
अन्तर्राष्ट्रिय कानुनी मान्यता तथा विश्वव्यापी सत्यताअनुसार पनि अपराधी तबसम्म अपराधी कहलिँदैन, जबसम्म मुलुकको अदालतबाट उक्त व्यक्तिलाई अपराधी प्रमाणित गरिँदैन । कानुनी रूपमा अपराधी वा हत्यारा नबताइएको व्यक्तिसँग कुनै पनि मुलुकमा अन्य नागरिकसरहको आत्मसम्मान अनि आमअधिकारहरूको वहन गरेको अवस्था हुन्छ । उक्त व्यक्तिलाई तदनुरूप पनि अपराधी भन्नेहरूमाथि मानहानिको मुद्दा हाल्न सक्ने पूर्ण कानुनी अधिकार उक्त व्यक्तिसँग रहेको हुन्छ । राजगद्दी छोडेर आमनागरिकसरह जीवन बिताइरहेका पूर्वराजा ज्ञानेन्द्रसँग अन्य आमनागरिकसरह के यो मौलिक अधिकार छैन त, आफ्नो परिवार तथा आफ्नो आत्मसम्मानको रुक्षा गर्न ?
विश्वमा अद्यावधि १०७ वटा देशमा राजसंस्था छन् र त्यसमध्ये ४० वटा देशमा संविधानसम्मत राजतन्त्र रहेको छ । जम्माजम्मी १०२ वटा देशहरूबाट पूर्ण रूपमा राजसंस्था हटाइएको छ । बेलायती राजसंस्था पुनर्वहाली भएको राजसत्ता हो भने अन्य केही मुलुकहरू जस्तै बुल्गेरिया र क्याम्बोडियामा राजसंस्थाको पुनर्वहालीका कामहरू तीव्र रूपमा भइरहेका छन् । हाल विश्वमा राजतन्त्र गुमाएर अद्यापि जीवित अवस्थामा रहेका पूर्वराजाहरूमा बेलायतलाई छोडेर वास्तवमा ६ जना छन् । बुल्गेरियाका सिमेओन द्वितीया, ग्रीसका कन्स्टेनटाइन द्वितीया, रोमानियाका माइकल प्रथम, रुवान्डाका किगेली पाँचौँ, जन्जिबारका सुल्तान जम्सिद विन अब्दुल्ला र नेपालका ज्ञानेन्द्र शाहमध्ये पूर्वराजा ज्ञानेन्द्रबाहेक सबैले सत्ताच्यूत भएपछि आ–आफ्नो देश छोडी अन्य देशमा शरण लिएर आरामको जीवन बिताइरहेका छन् । यो एउटा वास्तविक्रा हो । किन कसैले ज्ञानेन्द्रको यो कदमको बारेमा सोचेनन् र तदनुरूप बोलेनन् ?
इतिहास साक्षी छ, विगतमा नेपाली राजनीतिमा लाग्नेहरूका लस्करहरू छन्, जसलाई राजनीतिको यात्रामा लागेर अन्ततः हासिल भएको पदले फलाएको थियो, फुलाएको थियो र त्यसैले पनि भन्न सकिन्छ, तिनलाई नेपाली राजनीति फापेको भने हो । प्रधानमन्त्री, मन्त्रीहरू मात्रै होइनन्, तिनका आसेपासेहरूलगायत सांसदहरू अनि तिनका आसेपासेहरूका पनि फलिफाप भएका उदाहरणहरू यथेष्ठ छन् । देशले भोग्नैपर्ने वा विकासका आँधीबाट बच्नै नसक्ने समयसापेक्ष प्रगतिहरूबाहेक, वास्तवमै भन्ने भए देशले विकास कहिले पायो ? कुन नेतालाई आफ्नो अनि परिवारको लगायत, आफ्नो परिवेशको बाहेक, सम्पूर्ण रूपमा राष्ट्रको बारेमा सोच्ने चासो थियो र छ पनि ? चुनावभन्दा अगाडि मुसाजस्ता भएर आउने नेताहरू, पदमा पुगेपछि हात्तीको स्वरूपमा फुक्दछन् । उदाहरणहरू खोज्न प्रयास गर्नुपर्दैन, जताततै छर्लङ्ग हुनेगरी ती देखिएका छन् । नेपाली राजनीतिको दूषित मन्त्रले गर्दा आज नेपाली जातजातमा, क्षेत्र अनि धर्ममा विभाजित छन्, त्यसैको फलस्वरूप समाजमा वैमनष्यता फैलँदो छ । सबैलाई आफू र आफ्नो जमात प्यारो लाग्ने भएको छ भने साझा तथा सम्पूर्ण पनको कसैलाई मतलब नै छैन । यसबारे ज्यादा बोल्नु जरुरी छैन, सर्वत्र व्याप्त छ ।
देश अविछिन्न रहने भनेको आफ्नो मौलिक संस्कृति तथा परम्पराले गर्दा हो । आज नेपालसँग के छ, जसको लागि नेपालीले गर्व गर्न सकून् । लामिछानेजस्ता हजारौँ ब्राह्मणहरू छन्, जो आफ्नो परम्परासहित आफ्नै थातथलोमा इज्जतसाथ बाँच्न सक्दैनन् । धर्मनिरपेक्षताको नाममा वा परिवर्तनको नाममा हिन्दू धर्मावलम्बीहरूको सक्दो खिल्ली उडाइएको छ । आफ्नो अधिकारको उपभोग गर्ने भन्दै हिन्दूधर्मीहरूको अगाडि नै गाईलाई काटी मासु खान थालियो भने त्यहीँ गाईलाई माता मानी पुज्न पाउनुपर्ने हिन्दू आस्थाको अनि तिनको मौलिक अधिकारको खिल्ली उडाइयो । सम्पूर्ण धर्मावलम्बीहरूको गहन आस्थालाई अपहेलित गरियो । कोही व्यक्ति आफ्नै घरमा अन्यले देख्ने गरेर नाङ्गो रहे, अरूलाई यौनदायी यातना दिएको मानिन्छ र सोअनुसार अपराधी ठहरिन सक्दछ भने हिन्दूहरूले देख्ने गरी गाई काटिनु कत्तिको ठूलो यातना होला ? त्यस्तो ठाउँमा ती आस्थावानहरूलाई इज्जत साथ, सुरक्षित रूपमा जिउन पाउने अधिकारको, सरकारले ग्यारेन्टी किन दिएन ? त्यस्तो अप्ठ्यारो परिवेशमा लामिछानेजस्ताहरूसँग अन्य विकल्प के होला ? त्यस्तै हङकङमा एक प्रतिशत गैरजनजातिहरूले निश्चिन्त रूपमा नेपालको प्रतिनिधित्व गरेर आउनेलाई सम्मान, बेफिक्री साथ किन गर्न पाउँदैनन् ? नेपालको प्रतिनिधित्व गरेर आएका महावाणिज्यदूतहरूलाई विदेशी भूमिमा बहिष्कार गर्नेले, त्यो अल्पमतका आस्थालाई पनि त अपहेलना गरेनन् र ? त्यसरी बाँच्न कति गाह्रो होला तिनलाई हङकङमा ?
संविधान बनाउनका लागि देशको सम्पूर्ण सामाजिक, धार्मिक, जातिगत, पेसागत आदिको प्रतिनिधित्व गरेको भन्दै बटुलिएका ६०१ मा परेकाहरूका कार्यगत शैली भर्खरै देखियो र नतिजा पनि आयो– संविधान झन्झन् पो जटिल बन्दै गएको छ । आफ्नो जातिलाई ठूलो मान्दै सोअनुरूप राज्यको स्थापना गर्न चाहनेहरू, धर्मको नाममा राजनीति गरी आफ्नो धर्मलाई श्रेष्ठ बनाउन खोज्नेहरू, पार्टीगत विचारमा संलग्न भई देशमा साझापनमा होइन, विचाराधारागत विविधतामा खिची वर्गीकृत गर्न चाहनेहरू, देश अप्ठ्यारोमा परेको बखत मौका पार्दै आफ्नो व्यापारलाई चौगुना गर्नेहरू, देशमा समस्या बल्झिएको बेला देश छोडी बिदेसिनेहरू, राष्ट्रियतालाई ओझेल पार्दै इमानदारीको हवाला दिएर बेलायती बनेका भूतपूर्व गुर्खाहरू, कोटामा पढ्न बिदेसिएर विदेशी बन्ने दौडमा उन्मुक्त विद्यार्थीहरूलगायत वृद्ध केदार लामिछानेहरू अनि उनै पूर्वराजा ज्ञानेन्द्रमा को होलान् सच्चा राष्ट्रभक्त वा राष्ट्रवादी ?
कति गाह्रो भयो होला राजतन्त्र अनि राजगद्दी गुमाएर अनि अन्यसरहको सर्वसाधारण भएर उही ठाउँमा हिजोसम्म विष्णुको अवतारको रूपमा पुजिएका पूर्वराजा ज्ञानेन्द्रलाई बाँच्न ? एक व्यक्तिको सहनशीलताको आधारमा मात्रै अध्ययन गर्न सकिने के यो एउटा विषय थिएन र ? वृद्ध केदार लामिछानेलाई उनको धर्ममा खेलवाड भएको मात्रैले पनि नुवाकोटमा इज्जतका साथ बस्न सकेनन् र पलायनको बाटो रोजे । पूर्वराजा ज्ञानेन्द्रलाई कुन मापको अप्ठ्यारो अनि असजिलो भएको होला ? आफ्नो परिवार नै सबैका लागि हासोको विषय बनेको अनि आफ्नो गुम्दै गएको साख उही साँध र सिमानामा बसेर अनुभव गर्दा उनलाई कस्तो मुस्किल परेको होला ? यो कुनै राजावादी लेखको मनसाय होइन, यो मात्र मानवीय अनुभवको अन्दाजको कुरो हो । के ज्ञानेन्द्रलाई सपरिवार अन्य देशमा पलायन हुन कसले रोक्न सक्थ्यो र ? के उनीलगायत उनको परिवारसँग सम्पत्तिको अनि सम्पर्कहरूको कमी थियो र ? आज संसारको कुनै पनि देशमा इज्जतका साथ व्यापार व्यवसाय गरेर सुख–सयलले बस्न सक्ने ल्याक्रमा रहेका ज्ञानेन्द्र नेपालमै हर एकबाट अपहेलित भएर बस्न किन रुचाए ? आफ्नो अधिकारको हनन भइरहेको भोग्न वाध्य रहेका ज्ञानेन्द्रको सो कार्यमा कत्तिको राष्ट्रियता झाङ्गिएको होला भनेर किन कसैले साोचेनन् ? नेपालमा वास्तवमा भन्ने भए ज्ञानेन्द्रजत्तिको राष्ट्रभक्त कोही छैनन् भन्नु अत्योक्ति पक्कै हुँदैन । यो राजावादी सोच होइन, एक यथार्थपरक निचोड हो ।
छाताको टुप्पोलाई लठ्ठीको रूपमा प्रयोग गर्दै अगाडि बढेका वृद्ध केदार लामिछाने केहीबेर सुस्ताउँदछन् । उनलाई सायद नेपालमा आफूले भोगेका तीतो अनुभवहरूको फेहरिस्त नै सुनाउनु थियो । ‘…..बाजेलाई त त्यस्तो गाह्रो भएछ, त्यस्तो अप्ठ्यारो अवस्थामा दैनिक जीवन यापन गर्न, भने पूर्वराजा ज्ञानेन्द्रलाई कस्तो भयो होला ?’ वृद्ध लामिछाने एकपटक छक्क पर्दछन्, उनलाई सायद त्यस्तो प्रश्नको अपेक्षा थिएन । केहीबेर घोरिएर भन्दछन्, ‘ज्ञानेन्द्रको अवस्थासँग हामी आमजनताको अवस्थालाई तुलना गर्न मिल्दैन बाबु ।’ उनी तटस्थ लाग्दछन्, आफ्नो अवस्थाको अनि वर्तमान नेपाली परिवेशको दोषको भागीदार उनले राजपरिवारलाई पनि दिन चुकाएका थिएनन् । ‘..सायद तपाईं सही भन्दै हुनुहुन्छ होला, बाजे । त्यो राजाहरूलाई दुख्ने मुटु हुँदैन होला ।’ त्यसपछि वृद्ध लामिछाने चुपचाप घोरिन्छन् ।
प्रतिक्रिया