मर्नुअघि महिलाको यस्तो सोख
पैसाको लोभमा आफ्नै लोग्नेलाई प्रेमी प्रयोग गरेर हत्या गर्न पछिनपरेकी यी महिलाको इहलीला आजकै दिन अर्थात् २५ फेब्रुअरीमा समाप्त हुँदै छ । रेनी गेसिनडेर नामक यी अमेरिकी महिलाले सन् १९९७ मा जीवनबिमाबापतको रकम हत्याएर ऐस गर्ने सोचले अपहरणको नाटक रची आफ्नो लोग्नेको हत्या गरेकी थिइन् । तर, दुर्भाग्यले उनका लोग्नेले बिमाको कुनै पोलिसी नै बनाएका रहेनछन् । यहाँसम्म त जो भयो–भयो, तर मृत लोग्नेलाई सुनसान जङ्गलमा लगी भुइँतिर उल्टो पारेर रूखको हाँगामा झुन्ड्याएकी थिइन् रेनीले । यसो गर्नुको तात्पर्य लोग्नेले झुन्डिएर आत्महत्या गरेको भन्ने बुझियोस् र कुनै जङ्गली जनावरले शव खाएर हत्याको प्रमाण नष्ट होस् भन्ने थियो । तर, प्रेमीसँग पछि खटपट पर्दा अपराधको भन्डाफोर भयो र नृसंस हत्याको अभियोगमा उनलाई मृत्युदण्डको सजाय सुनाइयो । २५ फेब्रुअरीका दिन विषालु इन्जेक्सन दिएर मृत्युदण्ड दिनुअघि अन्तिम इच्छा के छ भनी सोध्दा यी महिलाले जे जवाफ दिइन्, यो सबैलाई चकित तुल्याउने खालको थियो । त्यत्रो अपराध गरेर पनि कुनै पश्चात्ताप नदर्शाएकी रेनीलाई खानाको सोखले छोडेको रहेनछ । मृत्युदण्ड कार्यान्वयन गर्नुअघि उनले दुईवटा चिज बर्गर, बटर मिल्कवाला कर्नब्रेड, पपकर्न, लेमोनेड, उसिनेको अण्डासँग सलाद, सिमला चिल्ली, प्याज, गाजर र पनीरको साथ केही अन्य खानेकुराको लिस्ट थमाएर भनिन्– मैले यति खाना खाएर आनन्द लिन बाँकी नै छ ।
यिनलाई लाग्यो नाङ्गिने रोग
दिमागी रूपले यिनी पूरै स्वस्थ छिन्, तर यदाकदा हिँड्दाहिँड्दै यी महिला आफ्नो बस्त्र फुकालेर सर्वाङ्ग हुने गर्छिन् । यिनलाई यो कस्तो अचम्मको सोख रहेछ भन्ने नठान्नुहोला । बेलायतको नर्थ ह्याम्पटननिवासी ४१ वर्षीया लियान लियोन नामकी यी महिला दश लाख मानिसमा एकजनालाई लाग्ने रोग हाइपोथेलमिक हमर्टोमा नामक अनौठो रोगबाट ग्रसित भएर यस्तो लज्जास्पद हर्कत देखाउन विवश बनेकी हुन् । ब्रेनट्युमरसँग सम्बन्धित यस रोगका कारण महिनामा तीन–चारपटक उनी सार्वजनिक स्थानमै शरीरको कपडा खोलेर नाङ्गिँदै आएकी छिन् । यस्तो व्यवहार प्रदर्शन गर्नुअघि उनी बेहोसीको सिकार बन्छिन् । बेहोसीमै उनी सरासर शरीरका कपडा उतार्न थाल्छिन् । यस्तो अवस्थाबाट पत्नीलाई जोगाउन उनका पति अक्सर सँगै हुन्छन्, तथापि आफ्नो नोकरीका कारण सधैँ पत्नीको गोठालो लाग्न पाउँदैनन् उनी । नाङ्गिने डरले हरदम घर बसिरहन पनि लियोनलाई गाह्रै पर्छ । तैपनि चाहेको बेला चाहेको मार्केट गएर किनमेल गर्ने, मन लागेको ठाउँमा एक्लै निस्फिक्री घुम्नेजस्ता रहरचाहिँ लियोनले मुटु मिचेर मार्नुपरेको छ । उनलाई आफ्ना दुई नाबालक छोराकै सामुन्नेचाहिँ कहिल्यै निर्वस्त्र हुनु नपरे हुन्थ्यो भन्ने पीरले सताइरहन्छ ।
बाँदरलाई धर्मपुत्र बनाएपछि…
बाँदरले आफ्नो घर बनाउँदैन र अरूको घर पनि भत्काउने काम गर्छ भन्ने प्रचलित धारणा छ । यस्तो छुल्याहा प्राणीलाई घर र धनसम्पत्तिको के प्रयोजन ? तर, भारत उत्तरप्रदेशनिवासी एक धनी दम्पतीले आफ्नो करोडौँको सम्पत्ति एउटा बाँदरको नाममा गरिदिएका छन् । कुनै पागलपनको सिकार भएर ती दम्पतीले यस्तो अनौठो निर्णय लिएका होइनन् । वास्तवमा उक्त बाँदरलाई व्यापारी वृजेश श्रीवास्तव र उनकी वकिलपत्नी सविस्ताले दश वर्षदेखि धर्मपुत्रको रूपमा पाल्दै आएका छन् । जबदेखि उक्त टुहुरो बाँदरलाई उनीहरूले पुत्रको रूपमा घरमा पाल्न थाले, उनीहरूलाई जताततै फलिफाप हुन थाल्यो र दश वर्षमै उनीहरू गरिबीबाट सम्पन्नताको शिखर चढ्न पुगे । उनीहरूको कुनै सन्तान नजन्मिएको र बाँदरलाई धर्मपुत्र मानेपछि नै समृद्धि हासिल भएकाले उक्त बाँदरलाई नै ‘चुनमुन’ नाम दिएर पुत्रका रूपमा श्रीवास्तव दम्पतीले स्वीकार गरेका हुन् । आफूहरूको मृत्युपछि पनि चुनमुनको राम्रो रेखदेख होस् भन्ने उद्देश्यले श्रीवास्तवदम्पतीले एउटा ट्रस्ट नै बनाएका छन् भने आलिसान घर, दुई सय यार्ड जमिन र करोडौँ नगद चुनमुन नामक त्यही भाग्यशाली बाँदरको नाममा उनीहरूले सुम्पिएका छन् ।
यस्तो रहेछ प्रेम र यौनको परिभाषा
उमेरले उनी ६ दशक पार भइसकिन्, तर उनको रोमान्टिक अन्दाजमा कमी आएको छैन । जिन्दगीलाई रमाइलो तुल्याउने माध्यम नै उनले ‘सेक्स’लाई बनाइन् । उनी खुल्लमखुल्ला स्वीकार्छिन् कि वर्षको लगभग सयको सङ्ख्यामा पुरुष बदल्ने उनले हालसम्म तीन हजारभन्दा बढी पुरुषसँग सेक्सुअल रिलेसन कायम गरिसकेकी छिन् । यहाँनेर आश्चर्यको कुरा त के छ भने यी सबै सम्बन्ध उनले आफ्नो लोग्नेको स्वीकृतिबाटै कायम गरेकी हुन् । बेलायतको सेफिल्डनिवासी ती महिलाका अनुसार उनलाई आफ्नो लोग्नेले नै परपुरुषसँग सम्बन्ध राखेर जीवनको आनन्द उठाउन सुझाव दिएका हुन् । सुरुमा त लोग्नेको सुझाव सुन्दा उनलाई झनक्क रिस उठ्यो । तर, अन्तरहृदयबाटै आफ्नो पतिले यस्तो सुझाव दिएको बुझेपछि भने बिस्तारै उनले परपुरुषसँग सम्बन्ध राख्न थालिन् । त्यसो त उनका श्रीमान् पनि परस्त्रीसँग सम्बन्ध राख्ने गर्छन् । तर, यी दुवैलाई एक–अर्काप्रति पटक्कै डाह र गुनासो छैन । बरु अझ एक–अर्कामा प्रेम बढेको महसुस गर्छन् उनीहरू । उनीहरूको विचारमा क्षणिक आनन्दका लागि कसैसँग शारीरिक सम्बन्ध राख्नु अलग कुरा हो भने प्रेम अर्कै कुरा हो । जतिजनासँग यौनसम्बन्ध राखे पनि प्रेमपूर्वक एकै व्यक्तिसँग जीवन बिताउनु महत्वको कुरा हो भन्ने ती जोडीको आदर्श छ ।
प्रतिक्रिया