साँढे डाम्ने बेला अब– प्रेम वली ढकलपुरे
हेर्दा आकृति मान्छेजस्तो लाग्ने
चुनाव आयो कि खाली भोट मात्र माग्ने
जितेपछि बेपत्ता भई भाग्ने
एउटा घरपालुवा जीव हराएको हुँदा
कृपया कतै फेला पार्नुभयो भने
बानेश्वरको गोठमा हालिदिनु होला
मानेन भने कडै कदम चालिदिनु होला ।
बाहिर, नाक–मुख ठ्याक्कै हामीजस्तो
भित्र– बाघ, भालु, चितुवाजस्तो
अस्ति चुनावताका
भोट दिने मान्छे खोज्छु भन्थ्यो
भोट नदिनेलाई गोद्छु भन्थ्यो
चुनाव जितेपछि न भेट्न आ’को छ
सम्पर्कविहीन भा’को छ
कहिलेकाहीँ टीभीमा जुलुस गरेको देखिन्छ
कहिलेकाहीँ उसकै बारे
ठूला अक्षरमा अखबारमा लेखिन्छ
कतै तारे कतै लाले
कतै माले कतै काले भन्दै हिँड्छ
खान पायो भने जता पनि छिर्छ
हेर्दा तपाईं–हामीजस्तै देखिए पनि
बुझ्दा अर्कै जन्तु रहेछ
त्यसैले अचेल साँढेजस्तै भएछ
कृपया उसलाई कतै भेटेपछि
बानेश्वरको गोठमा हुलिदिनु होला
मानेन भने
ठोकठाक पारेर भए पनि ठेलिदिनु होला ।
हेर्दा दुईखुट्टे भए पनि
पशुपतिनाथको साँढे परेछन्
त्यसैले, बानेश्वरको गोठमा
घारा घोचा भाँच्दै गर्नु गरेछन्
कृपया यी साँढेलाई कतै देख्नुभयो भने
साङ्लोले बाँधी राखिदिनु होला
मानेनन् भने तातो पन्यूले दागिदिनु होला ।
साँढेलाई डाम्ने चलन कता गयो कता
डाम्ने साँचो पनि छैन त्यो यता
डाम्ने औजार छेमिकीतिर प-यो
खोजी ल्याउ प्रधान डाम्ने औजार चाँडो
हाम्रालाई छैन आँट डाम्ने भए पनि भाँडो
उतैबाट बोलाई ल्याउनुस् डाम्ने धामी पनि
डामी छोडिदिनु प-यो साँढेलाई बेकामी भनी ।
प्रतिक्रिया