रमाइलो–घमाइलो

रमाइलो–घमाइलो


ramailo-ghamailo2खुशी किन्ने काइदा
यदि तपाईं आफ्नो धनको सदुपयोग गरी वास्तविक खुशी या सन्तुष्टि हासिल गर्न चाहनुहुन्छ भने महँगा वस्त्र–आभूषण खरिद गर्नुको साटो बिदा मनाउन विभिन्न स्थानको यात्रामा निस्कनुहोस् ! यस प्रकृतिका क्रियाकलाप वा विभिन्न अनुभवबाट तपाईंलाई जुन खुशी मिल्छ, यस्तो खुशी वा सन्तुष्टि भौतिक सम्पत्तिमाथि गरिएको लगानीबाट प्राप्त हुन सक्दैन । हो, हालै अमेरिकामा गरिएको एक अध्ययनबाट यस्तै निचोड निस्किएको छ । शोध जर्नल ‘साइकोलोजिकल साइन्स’मा प्रकाशित विवरणअनुसार कार्नेल विश्वविद्यालयका शोधकर्ताले भविष्यमा कुनै वस्तु खरिद गर्ने तयारीको तुलनामा अनुभवप्राप्तिको प्रारम्भिक अवधि अत्यधिक सुखद हुने दाबी गरेका छन् । भौतिक वस्तुको चाहनाको साटो कुनै अनुभवको प्रतीक्षाले व्यक्तिमा अत्यधिक खुशी, माधुर्य र उत्साह दिलाउने शोधकर्ताको कथन छ । अत्यधिक अनुभवको निम्ति भौतिक वस्तुसँग दूरी बनाउने तथा कुनै वस्तु खरिद गर्ने कार्यमा ढिलाइ गर्ने कुरा निकै लाभदायक हुन्छ भन्दै शोधकर्ताले भविष्यका सम्भावनाहरूको खोजीमा डुब्नुको साटो बिदा मनाउने, डिनर पार्टीमा सरिक हुने वा साङ्गीतिकलगायत विविध मनोरञ्जक समारोहमा जाने सुझाव दिएका छन् ।

पूर्वपत्नीलाई डाह भएपछि…
वैवाहिक समारोह सम्पन्न गरी आफ्नो पहिलो रातलाई स्मरणीय बनाउने कल्पना गर्दै कुनै जोडी सयनकक्षमा रहेको बेला हतियारबन्द सुरक्षाकर्मीको दस्ता ढोका फोडेर कोठामा प्रवेश ग-यो भने के होला ? यस्तै कहालीलाग्दो परिस्थिति व्यहोर्नुपर्दा एक नवविवाहिता बेहोस भई ढल्न पुगिन् । घटना इराकको हो । नवजोडी आफ्नो सुसज्जित कोठामा प्रेमालापमा मस्त रहेकै बेला हतियारधारी प्रहरीको समूह एकाएक भित्र प्रवेश गरी युवकलाई आतङ्ककारी भन्दै गिरफ्तार गरेपछि दुलही बेहोस हुन पुगिन् भने युवकले आफूमाथिको आरोपको प्रतिवाद ग-यो । सम्बन्धित युवक आईएसआईएसको एक सिनियर मेम्बर रहेको र मोसुल सहरमा आक्रमण गर्ने योजनाका साथ उसले बग्दादस्थित आफ्नो घरमा भारी मात्रामा विस्फोटक लुकाएर राखेको भन्ने सूचनाको आधारमा प्रहरीले हनिमुनको पहिलो रात नै त्यसरी हमला गरेको रहेछ । पछि प्रहरीअनुसन्धानले त्यो सब झुटो आरोप ठहरियो । भएको के रहेछ भने युवक पहिले नै विवाहित रहेछ र उसले दोस्रो बिहे गर्न लागेकोप्रति पूर्वपत्नी निकै असन्तुष्ट रहिछिन् । यही झोँकमा बदलाको भावले ग्रसित भई उनले प्रहरीलाई झुटो पोल लगाएकी रहिछिन् । सत्य उजागर भएपछि युवकको साटो उनी नै जेलको पाहुना बन्न पुगिन् ।

गति छोडेपछि कोण–कोणको तस्बिर
नारी एक देवी हुन्, तर गति छोडिन् भने नारीजस्तो कठोर र पतीत कोही हुन्नन् भन्ने पूर्वीय समाजको धारणा छ । तर, यस्तै गतिछाडा व्यवहार गरेर एक ब्रिटिस महिलाले कुख्याति कमाएकी छिन् । प्रेमीको प्रयोग गरी आफ्नो डेढवर्षे पुत्रलाई तड्पाएर मार्न खोजेको आरोपमा सन् २००७ मै ६ वर्षको जेल सजाय पाएकी ट्रेसी कोनेली नामक लन्डननिवासी यी महिला जब जमानतमा रिहा भइन्, तत्काल उनी फेरि कानुनविपरीतको घटिया धन्दामा उत्रिइन् । उनको पछिल्लो हर्कतचाहिँ आफ्ना शरीरका गोप्य अङ्गहरूको कोण–कोणका तस्बिर खिचेर आफूले चिनेका पुरुषहरूलाई बेच्नु रहेछ । अनलाइनको माध्यमबाट कोनेलीले यस्तो घिनलाग्दो धन्दा चलाइरहेकी रहिछन् । उनको विगतको अपराधलाईसमेत दृष्टिगत गर्दै प्रहरीले ट्रेसीलाई जेलको हावा खुवाएको छ ।

लोग्ने जोगाउन कपडा उदाङ्ग !
मदिरामा लट्ठिएर सवारी चलाउने कार्यलाई विश्वका कुनै पनि मुलुकले जायज ठान्दैन । चीन त झन् अनुशासन कायम गराउने सवालमा विशेष कठोर रहेको मान्यता छ । यस्तो मुलुकमा कुनै गतिछाडा जोडी मदिराको नशामा चुर हुँदै अर्धनग्न भई कार हाँक्छन् भने त्यहाँको प्रहरी कसरी प्रस्तुत होला ? निश्चय पनि सजिलै गिरफ्तार गरी अभियुक्तहरू कानुनी कठघरामा पु-याइए होलान् भन्ने लाग्न सक्छ । तर, चीनको बेन्झाउमा घटेको यो घटना फरक किसिमको छ । जब प्रहरीले जँड्याहा चालक २८ वर्षीय सिङ सेहलाई रोकेर पक्रिने सुरसार ग-यो, उनकी फिट्टु पत्नी २८ वर्षीया शियाओ चेन–लीले प्रहरीसामु तमासा देखाउन थालिन् । कम्मरमाथिको शरीर त पहिले नै उनको नाङ्गो नै थियो, प्रहरी हस्तक्षेपपछि त सडकको बीचमा उभिएर बाटो छेक्दै कम्मरमुनिको कपडासमेत खोलेर सर्वाङ्ग भइदिइन् । विरोधको यस्तो तरिका त्यसअघि नदेखेका प्रहरीहरू जिल्ल परे भने एकैछिनमा तमासेको पनि त्यहाँ भीड लाग्यो । जति नै नखरा गरे पनि अन्ततः मदिरा पिएर सार्वजनिक स्थानमा नाङ्गै गाडीमा सवार भएको र अश्लील हर्कत गरी शान्ति भङ्ग गरेको अभियोगमा उक्त रङ्गीन जोडी गिरफ्तारीमा प-यो ।