जीवनवादी श्लोकका सर्जक – मणि लोहनी

जीवनवादी श्लोकका सर्जक – मणि लोहनी


Mani Lohaniगत साता भैरहवाको एक कार्यक्रममा मलाई नयाँ कविहरूको एउटा भीडले घे-यो । उनीहरूको एउटै प्रश्न थियो, ‘कविता लेखिरहेका हामीहरूले पढ्नैपर्ने कवि को–को हुन् ?’
मेरो जवाफ थियो, ‘तिमीहरू वासु शशी पढ ।’
उनीहरू छक्क परे । भने, ‘हामीले त भूपी पढेका छौँ, रिमाल पढेका छौँ । विमल निभा र श्यामल पढेका छौँ । विष्णुविभु पढेका छौँ । तपाईं र ठाकुर बेलवासेलाई पढेका छौँ ।’
‘सबै राम्रै कवि पढेछौ, तर पढ्नैपर्ने कविचाहिँ पढेनछौ । वासु शशीको पानी गल्दैन भन्ने किताव पढ । नेपाली कविताप्रतिको तिमीहरूको धारणा अझ फराकिलो हुनेछ । तिमीहरूको कवितालेखन अझ परिस्कार हुनेछ,’ मेरो कुरा उनीहरूले निकै चाख मानेर सुने, ‘बीसौँ शताब्दीको गीत पढ । तिमीहरूले नेपाली कविताको विशिष्ट अवस्थालाई महसुस गर्नेछौ ।’
उनीहरूसँगको कुराकानीपछि म भैरहवाको देवकोटाचोकमा रहेको लाकौर होटेलको २०५ नम्बर रुममा छिरेँ । कवि ठाकुर बेलवासे आज कार्यक्रममा वाचन गर्नका लागि कविता छान्दै रहेछ ।
‘कुन कविता पढ्ने होला ?’ उसले सोध्यो । मलाई उसका प्रायः कविता मनपर्छन् । मैले एउटा कविता छनोट गरिदिएँ र बाहिर नयाँ कविसँग भएको कुराकानीको प्रसङ्ग सुनाएँ । वासु शशीको नाम लिएको र उनीहरू छक्क परेको कुरा सुनाएँ । उसले वासु शशीलाई आममानिससम्म पु-याउन हामीले मिडियामार्फत केही गर्नुप-यो भन्ने कुरा ग-यो र मैले उसको कुरामा समर्थन जनाएँ ।
हुन पनि हो, पछिल्लो पुस्ताले विदेशी कवि पढेका छन्, तर स्वदेशभित्रकै शक्तिशाली कविहरू पढेका छैनन् । कतिसम्म भने नेपाली कविताका एउटा भिन्न मानक वासु शशी पढेका छैनन् । उनीहरूसम्म वासु शशीका कविता पु-याउनैपर्छ भन्ने मलाई लाग्छ । यसका लागि म आफूसमेत सदस्य रहेको वासु शशी स्मृति परिषद्बाट के–के गर्न सकिन्छ अध्ययन गर्न मन लाग्यो । एकचोटि कवि प्रद्युम्न जोशीले भनेको सम्झिन्छु, ‘वासु शशीका कविताको वाचन कार्यक्रम गर्न मन लागेको छ ।’ यो पनि एउटा तरिका हुन सक्छ– नयाँ पुस्तासम्म वासु शशीलाई पु-याउने । अर्को भनेको सञ्चारमाध्यमको प्रयोग नै हो ।
नेपाली कवितामा वासु शशीको स्थान उपल्लो छ । नेपाली कवितालाई एउटा भिन्न स्थान र उचाइ दिन शशीले दिएको योगदान नेपाली कविले सधैँ स्मरण गरिरहनेछन् । शशीको कवितामा भेटिने जीवनवादी श्लोक आजका अधिकांश कविको आधारभूमि हो । शशीकै कविताले बनाएको बाटोमा आजका अधिकांश कवि हिँडिरहेका छन् । वासु शशी नेपाली कविताका एक अराजक सर्जक मात्र थिएनन्– साङ्गठनिक कार्य र प्रजातान्त्रिक आन्दोलनमा उनले पु-याएको योगदान अझ अब्बल थियो । प्रजातान्त्रिक आन्दोलनमा राजनीतिक दलका नेताहरूको हारमा हार मिलाएर लेखक–कविलाई उनैले हो सडकमा पु-याएका हुन् । उनैले हो प्रजातान्त्रिक आन्दोलनका लागि लेखक कविहरूलाई जनउत्तरदायी हुन प्रेरित गरेको । उनको सिर्जनामा भेटिने अराजकता र व्यवहारमा भेटिने आत्मीयताको अझै पनि उनका समकालीन र उनीभन्दा पछिका पुस्ता स्मरण गरिरहेछन् ।
हरेक वर्ष चैतमा कवि वासु शशीको जन्मजयन्ती मनाउने गरिएको छ । वासु शशी स्मृति परिषद्को संयोजनमा जन्मजयन्तीकै अवसरमा दुई स्रष्टालाई सम्मान र पुरस्कार प्रदान गर्ने गरिन्छ । रमाइलो त के छ भने वासु शशीको नामसँग जोडिएको यो सम्मान र पुरस्कार नेपाली साहित्यमा सिर्जनशील हस्तक्षेप गर्नेहरूलाई नै अर्पण गरिन्छ । र, यो सम्मान र पुरस्कारका लागि सबै लेखक कवि लालायित हुने गरेका छन् । लेखक–कवि यसरी लालायित हुनुमा वासु शशीको इमानदारिता, निडरपना, हठी स्वभाव र प्रजातन्त्रका लागि समर्पित हुनुले नै हो भन्ने मलाई लाग्छ ।
वासु शशी बाँचुञ्जेल जनउत्तरदायी भएर बाँचे । देश र जनताका लागि बाँचे । नेपाली कवितालाई अन्तर्राष्ट्रिय उचाइमा पु-याउनका लागि अनवरत क्रियाशील रहे । उनको देहान्तपछि पनि कवि प्रद्युम्न जोशीको सक्रियतामा वासु शशी स्मृति परिषद्को गठन भयो र यस संस्थाले नेपाली साहित्यमा केही अब्बल र उम्दा कार्यक्रम गरिरहेको छ ।
बङ्गाली कवि सुविमल बसाकले दुई वर्षअघि भारतको कोलकातामा मसँग वासु शशीको जिकिर गरेका थिए । उनले त्यो भेटमा पटकपटक मलाई भनेका थिए, ‘नेपाली कवितालाई अन्तर्राष्ट्रिय स्तरमा पु-याउन वासु शशीको कविता पर्याप्त छ ।’ सँगै थिए कवि श्यामल । तिनले पनि बसाकको कुरामा समर्थन गर्दै भनेका थिए, ‘वासुदाइका कविताले नै हाम्रो कविताको लिक बनेको छ ।’
सुविमल बसाकले भने, ‘नेपालमा राम्रा कविहरू छन् । उनीहरूले अरू भाषामा एक्सेस पाउने हो भने नेपाली कविताले विश्व–कवितामा आफ्नो जबर्जस्त स्थान ओगट्ने थियो ।’ उनले पुराना एक से एक कविको नाम लिँदै बोले, ‘वासु शशी, वैरागी काहिँला, मोहनहिमांशु थापा, कृष्णभक्त श्रेष्ठलाई विश्वसाहित्यमा लैजानु जरुरी छ ।’
सन् ६० को दशकमा पहिलोपल्ट नेपाल घुम्न आएका बङ्गाली कवि सुविमल बसाकले काठमाडौंमा पारिजातलाई भेटेका थिए । कवि वासु शशीलाई भेटेका थिए । र, पटकपटक नेपाल आइरहे । यसबीचमा उनले नेपालका धेरै कविको कविता बङ्गालीमा अनुवाद गरे । पारिजात, वासु शशी, डा. मोहनहिमांशु थापा, उपेन्द्र श्रेष्ठ, कृष्णभक्त श्रेष्ठ, वैगारी काहिँला, रत्नशमशेर थापा, डा. बेञ्जु शर्माका धेरै कविता उनले त्यतिखेरै अनुवाद गरिसकेका रहेछन् । ‘अनुवाद गर्नु भनेको दुई भाषाबीचको समन्वय हो । यसको लागि ठूलो मिहिनेत पर्छ,’ उनले भने ।
कुनै बेला नेपाली भाषाबाट धेरै कविता अनुवाद गरेका सुविमलले हामीसँग प्रस्ट नेपाली बोल्न सकिरहेका थिएनन् । ‘प्राक्टिस छुट्यो नि त्यही भएर,’ उनले भने, ‘लामो समय प्राक्टिस भएन भने पौडी पनि बिर्सिन्छ मान्छेले । भाषा पनि त्यस्तै हो । बोल्न र लेख्न छुट्यो भने बिर्सिइन्छ ।’
सुविमलसँगको भेटपछि काठमाडौं आएर मैले वासु शशीका कविता फेरि पढेको थिएँ । मलाई सुविमल गलत लागेन ।
यसपालि भैरहवामा नै रहँदा कवि प्रद्युम्न जोशीको एसएमएस आएको थियो, ‘मणिजी निर्णय यस्तो भयो । वासु शशी स्मृति अभिनन्दन आख्यानकार परशु प्रधानलाई । वासु शशी स्मृति पुरस्कार कवि कणाद महर्षिलाई दिने निर्णय गरियो ।’ वासु शशी स्मृति परिषद्ले हरेक वर्ष प्रदान गर्ने यी दुई सम्मान र पुरस्कारको ठूलै महत्व छ नेपाली साहित्यमा ।
आख्यानकार प्रधानले विगत साढे पाँच दशकदेखि अनवरत रूपले नेपाली भाषा–साहित्य क्षेत्रमा निरन्तर योगदान दिँदै आएका छन् । नेपाली आख्यानमा उनको सिर्जनशील हस्तक्षेप सम्मानयोग्य छ । एक से एक उनका कथाहरूले नेपाली कथा साहित्यलाई निकै बल प्रदान गरेको छ ।
यस्तै ‘वासु–शशी स्मृति पुरस्कार–२०७१’ बाट सम्मानित हुन लागेका कवि एवम् कथाकार कणाद महर्षिले नेपाली भाषा–साहित्यको क्षेत्रमा चार दशकदेखि निरन्तर योगदान दिँदै आएका छन् । महर्षिको ०४५ मा प्रकाशित ‘आजको मान्छेका कविता’ निकै चर्चित कवितासङ्ग्रह हो । ०५८ मा प्रकाशित ‘घाउमा हरिभक्त कटुवाल’ मलाई निकै रोचक लागेको कृति हो ।
चैतको दोस्रो साता दुवै स्रष्टालाई सम्मान गरिनेछ ।