– बुद्धि शर्मा
चिनियाँ संसद्मा हालै घोषणा गरिएको राष्ट्रिय बजेटमा रक्षा क्षेत्रमा गरिएको वृद्धिलाई लिएर विश्वभर चर्चा–परिचर्चा सुरु भएको छ । कतिपयले आर्थिक उन्नतिमा चरम लाभ हासिल गरेको चीनले विश्व प्रभुत्वका लागि रक्षा क्षेत्रमा व्यापक वृद्धि गर्न थालेको बताएका छन् । तर, चीनका रक्षा अधिकारीहरू, सुरक्षाविज्ञ एवम् रणनीतिकारहरूले चाहिँ विश्वका अन्य शक्तिराष्ट्रहरूको भन्दा यो अनुपातमा कम भएको र चीनको सुरक्षा आवश्यकताअनुसार सुहाउँदो भएको जवाफ दिएका छन् ।
गएको बिहीबार चिनियाँ संसद्मा पेस गरिएको सन् २०१५ को बजेटमा रक्षा क्षेत्रका लागि १४४ अर्ब डलर छुट्याइएको थियो । जुन अघिल्लो वर्षको तुलनामा १० प्रतिशतले बढी हो । चिनियाँ विज्ञहरूका अनुसार चीनको कुल गार्हस्थ उत्पादन जीडीपीअनुसार हेर्ने हो भने यो विश्वका शक्तिराष्ट्रहरूको भन्दा कम हुन आउँछ । अमेरिकाको वार्षिक बजेट ६ सय अर्ब डलरभन्दा बढी रहेको बताइन्छ । तर, अमेरिकी रक्षाविज्ञहरूचाहिँ चीनको घोषित रक्षा बजेट यथार्थपरक नभएको र अन्य शीर्षकहरूमार्फत चीनले सैन्य आधुनिकीकरणका लागि धेरै रकम खर्च गर्ने गरेको दाबी गर्दछन् ।
चीनको रक्षा बजेट प्रस्तुत गर्नेबेलामा चिनियाँ प्रधानमन्त्री ली केकियाङले चीनले आन्तरिक तथा बाह्य चुनौतीहरूको सामना गर्न परिरहेको बताउँदै चीनको सैन्य क्षेत्रलाई सङ्ख्याबाट भन्दा पनि गुणात्मक रूपमा आधुनिकीकरण गरेर अगाडि बढाउनुपर्ने बताउनुभएको थियो । उहाँले एसियालगायतका विश्वका विभिन्न क्षेत्रमा भइरहेको र हुने द्वन्द्वले चिनियाँ स्वार्थ र मामिलामा असर पार्न सक्ने भएकाले त्यसको सामनाका लागि चीनले अहिलेबाट नै चनाखोपूर्वक तयारी गर्नुपर्ने बताउनुभएको छ ।
चीनले सन् २०१४ मा रक्षा क्षेत्रमा कुल जीडीपीको १.३ प्रतिशत विनियोजन गरेको थियो । सन् २०१४ मै अमेरिकालगायतमा शक्तिशाली देशहरूको खर्चचाहिँ दुई प्रतिशतदेखि पाँच प्रतिशतसम्म थियो ।
पछिल्लो तीन दशकयता अत्यन्त तीव्र गतिमा आर्थिक उन्नति गरिरहेको चीनले आफू शान्तिपूर्ण विकास र सम्बन्धको पक्षमा भएको पटक–पटक बताइरहे पनि अमेरिकालगायतका केही पश्चिमा देशहरूले चाहिँ चीन आर्थिक प्रगतिसँगै विश्वमा राजनीतिक, आर्थिक तथा सामरिक प्रभाव कायम गर्नका लागि लागि गरिरहेको आशङ्का गर्दै आएका छन् । विश्वभरि व्यापकस्तरमा बढिरहेको चिनियाँ लगानी, व्यापार, चिनियाँ अधिकारीहरूको दौडधुप, वैकल्पिक आर्थिक मञ्च एवम् संस्थाको स्थापना एवम् पश्चिमा जगत्हरूको भन्दा अल्पविकसित एवम् विकासशील देशहरूका लागि चीनले दिँदै आएको सहयोग एव् सहुलियत यी सबैको आधारमा पश्चिमा जगत्ले चीनको उपस्थितिलाई अमेरिका पछिको विश्व शक्तिराष्ट्रको रूपमा स्थापित हुन खोजिरहेको शक्तिको रूपमा लिँदै आएका छन् ।
चीनले चाहिँ आफू बहुध्रुवीय विश्वको पक्षमा रहेको बताउँदै उदाउँदो चीन कसैका लागि खतरा नभई दुःखसुखको असल मित्र भएको र हुन चाहेको बताउँदै आएको छ । शान्तिपूर्ण विकास र सहसम्बन्ध नै चीनको विदेशनीतिको खम्बा भएकाले चीनको समृद्धिबाट मित्रराष्ट्रहरूले बेफाइदाभन्दा फाइदा नै बढी लिन सक्ने दोहो-याउँदै आएको छ ।
तर कूटनीतिक क्षेत्रका विज्ञहरूको टिप्पणीअनुसार विश्व इतिहासमै आर्थिक शक्ति बनेलगत्तै सामरिक शक्ति बन्ने र अन्ततोगत्वा विश्व शक्तिराष्ट्रको महत्वाकाङ्क्षा पूरा गर्ने इतिहास पाइएकाले चीनको बढ्दो आर्थिक, राजनीतिक एवम् सामरिक प्रभावलाई त्योभन्दा भिन्न किसिमले हेर्न नमिल्ने तर्क गर्दै आएका छन् ।
प्रतिक्रिया