ताजमहल र प्रेमका अनुभूति -मणि लोहनी

ताजमहल र प्रेमका अनुभूति -मणि लोहनी


Mani Lohaniभनिन्छ, प्रेम हार्दैन तर असफल प्रेमको पीडा, हारभन्दा पीडादायी हुन्छ । परास्त हुनु हार्नु मात्र होइन निकै ठूलो चिज गुम्नु पनि हो । प्रेम हारहरूको सङ्ग्रह होइन । गुम्नु र गुमिरहनुको अनुभूति हो । गुमेकाहरूको अनुभूतिको तस्बिर बनेको ताजमहल मलाई प्रेमको सुन्दर चिहानभन्दा बढ्ता अरू केही लाग्दैन ।
प्रेम त यसै पनि जितहारभन्दा माथिको कुरा हो । प्रेममा पनि कोही हार्न सक्छन् र ? फेरि हारेर पनि के हार्ने प्रेममा ? त्यसो त भन्नेहरूले प्रेममा केही पनि गुम्दैन भन्न सक्छन् । यसो हेर्दा हो पनि । तर, प्रेम भनेकै गुमाइरहनु हो । दिइरहनु हो । निरन्तर दिनु र दिइरहनु नै प्रेम हो । त्यही गुमाउनुको पीडामा स्थापित ताजमहल प्रेमको प्रतीक बनेर उभिएको छ । उखरमाउलो गर्मी र व्यस्तताका बीच पनि यहाँ ओइरिने मान्छेको कुनै कमी छैन । दुनियाँमा प्रेमको शक्ति सबैभन्दा उच्च छ र त्यो उच्च हुने क्रम बढ्दै गइरहेको छ ।
प्रेमका विविध आयाम हुन्छन् । प्रेम सिक्ने कुरा होइन महसुस गर्ने कुरा हो । तर, प्रेमलाई महसुस गरिरहँदा अनुभूतिमा सुख मात्रै होइन दुःख पनि जोडिएर आउँछ । प्रेम र दुःख एउटै सिक्काका दुई पाटा भने पनि हुन्छ ।
प्रेम र दुःखको यो अजीव सम्बन्धले मलाई एकै साथ धरै कुराको सम्झना गराउँछ । १७औँ शताब्दीमा सिंगमरमरले बनेको चिहानघरमा उभिएर म यतिखेर प्रेमका विविध सन्दर्भहरूलाई सम्झिरहेछु । भारतको आग्रामा रहेको ताजमहल मुगल सम्राट शाहजहाँले आफ्नी बेगम मुमताजको सम्झनामा बनाउन लगाएका थिए । मुमताजको प्रेममा विह्वल भएका शाहजहाँले लेखेका पनि छन्, ‘यो भवन देखेर दुःख लाग्नेछ । र सूर्य र चन्द्रमाले आफ्नो आँखाबाट आँसु बगाउनेछन् ।’
तर, यहाँ आइपुग्दा अधिकांशलाई दुःखभन्दा ज्यादा अचम्म लाग्ने गर्छ । रोमाञ्चक लाग्छ यसको कालीगढी । असफल प्रेमकथाको कता–कता दुःख अनुभूत भए पनि दुःखहरूमा नै सुख प्राप्त भएजस्तो लाग्छ । ताजमहललाई ‘कालको गालामा आँसु’ पनि भन्ने गरिन्छ । अङ्ग्रेजी कवि आर्नोल्डले ताजमहललाई ‘जिउँदो ढुङ्गाहरूमा एउटा बादशाहको प्रेमको अंहकारपूर्ण लगन’ भनेका छन् । हुन त प्रेमलाई जीवनको मुख्य आधार मानेर प्रेमको प्रतिमा बनाउन लगाएका शाहजहाँले कालिगढहरूको हात काटिदिएर क्रूरताको परिचय नदिएका पनि होइनन् । यो सुन्दा प्रेममा घायल भएका राजामा क्रूरताको यति भयानक रूप कसरी आयो भन्ने लाग्छ । त्यसो त ताजमहल दुःखदायी प्रेमको प्रतीक नै हो ।
दुःख र प्रेमको सन्दर्भसँगै मैले आग्राको यो गर्मीमा स्यारोनलाई सम्झिएँ । अस्ट्रेलियाकी स्यारोनले कुनै दिन भनेकी थिइन्, ‘तिमीहरूकहाँ दुःख बिक्छ ।’ एउटा क्याफेको बरन्डामा बसेर परपरका हरिया डाँडाहरू हेरेर रोमाञ्चित भइरहेको बेला उनले मलाई भनेकी थिइन् । थोरै नेपाली जान्ने स्यारोन एउटा अन्तर्राष्ट्रिय नियोगमा कार्यरत थिइन् । हामीकहाँ दुःख र पीडाजन्य साहित्य बिकिरहेको देखेर उनले त्यसो भनेकी थिइन् ।
‘हामी भावुक छौँ, आफ्नाहरूप्रति संवेदनशील छौँ । हामीलाई आफ्नाहरूको मोहले दुःखी बनाउँछ । आफन्तहरूलाई गुमाउनुको पीडाले दुःख दिन्छ । त्यसैले हाम्रो साहित्यमा प्रेम हुन्छ र प्रेमले दिएको दुःख ।’ मैले भनेथेँ, ‘अर्काको दुःख हेरेर हामी आफ्नो दुःखलाई कम महसुुस गर्छौं र चित्त बुझाउँछौँ ।’ मैले त्यहीँनेर गाईजात्रा पर्वको सन्दर्भ उप्काएको थिएँ ।
राजा प्रताप मल्लले आफ्नो छोरोको वियोगमा विक्षिप्त रानीलाई ‘तिम्रो मात्र छोरो मरेको होइन, हेर सहरमा कतिका छोरा मरेका छन्’ भनेर गाईजात्रा पर्वको प्रचलन सुरु गरेका थिए । त्यही सन्दर्भमा राजा प्रताप मल्लले बनाएको काठमाडौंको रानीपोखरी होस् या खड्गशमशेरले कान्छी रानी तेजकुमारीको सम्झनामा पाल्पास्थित कालीगण्डकीको तीरमा बनाएको रानीमहल होस् । सबै प्रेमका प्रतीक हुन् ।
‘त्यति मात्र होइन, तिमीहरू दुःखमा मनोरञ्जन गर्छौ ।’ उसले अङ्ग्रेजीमा भनेको यो वाक्यलाई सुनिरहँदा मैले आफ्नै कथाका केही संवादहरू सम्झिरहेको थिएँ । कुनै कथामा मैले लेखेको छु, ‘दुःख भनेको गहना हो मान्छेको ।’ मैले होइन भन्न सकिनँ । भइरहेको पनि यस्तै छ । समाचार होस् या साहित्य, पीडा र दुःखहरू नै बिकिरहेका छन् ।
‘स्यारोन, मैले दुःख बिक्छ भनेर दुःख लेखेको होइन । लेख्दै जाँदा दुःखहरूमा पुगेर टुङ्गिँदो रहेछ,’ मैले स्पष्टीकरण दिएथँे । हुन पनि हो, प्रेम र जीवनका कथा लेखिरहँदा दुःख र पीडाभन्दा माथि उठ्न नसकिँदो रहेछ ।
कलालाई परिभाषित गर्ने नौ रस— शृङ्गार, हास्य, रौद्र, करुणा, बीभत्स, भयानक, वीर, अद्भूत र शान्तमध्ये शृङ्गार अर्थात् प्रेमको पनि दुई पक्ष हुँदोरहेछ । सम्भोग अर्थात् एकात्मक हुनु र वियोग अर्थात् अलग हुनु । पूर्वीय समाजमा प्रेम रहस्यमै राख्ने गरिन्छ जसका कारण यहाँका मान्छेमा भावुकता अर्थात् संवेदनशीलता ज्यादा हुने गर्छ । त्यसैले साहित्यमा पनि प्रेमी–प्रेमिकालाई अलग गरिदिएर उत्पन्न हुने पीडा र दुःखको प्रभावशाली वर्णन गरिएका रचना बढी चर्चित हुने गर्छन् ।
ताजमहलमा बसेर यी सब कुरा सम्झिरहँदा मलाई रमाइलो लाग्छ । ताजमहलभित्रको शाहजहाँ र मुमताजको शव राखिएको कलात्मक कफन हेरिसकेपछि लाग्यो— चाह्यो भने मृत्युलाई पनि कलात्मक र सुन्दर बनाउन सकिँदोरहेछ । अझ योगीहरूले झैँ बिनाभौतिक पूर्वाधार, जीवन र मृत्यु दुवैलाई कलात्मक बनाउन पाए कति सहज हुन्थ्यो होला जीवन । त्यहाँ पुगेका सबै मान्छे प्रेम र दुःखकै चर्चामा व्यस्त छन् । म भने जीवन र मृत्युबीचको गोरेटोमा उभिएर मान्छेको चेतनालाई बुझ्न खोजिरहेको छु । चाहना र वितृष्णाको आयतन नापिरहेछु ।
ताजमहलको निर्माणको कथा बेग्लै छ । यो त्यति सजिलै कहाँ बनेको हो र ? हजारौँ आग्रावासीको रगत–पसिनाले सिञ्चिएको इतिहास छ ताजमहलसँग । राजा–महाराजाहरूको पालामा बनेका यस्ता मठ–मन्दिर होस् या दरबार, पुल–पुलेसा होउन् या बाटाघाटा सबैमा जनताको मिहिनेत र पसिना बगेको हुन्थ्यो । उनीहरूको नजरमा त्यो एउटा अवसर हुन्थ्यो । रगत–पसिना बगाउनुलाई गर्व गर्थे । सोच्दैनथे हामी दास भएका छौँ । अथवा हामीलाई प्रयोग गरिएको छ । बरु खुसी हुन्थे राजाको काम गर्न पाएकोमा । त्यसैले त निर्माण भएका छन्, यस्ता अमूल्य कलाकृतिहरू । आजको समयमा निर्माण गर्न नसकिने कलाको निर्माण १७औँ शताब्दीका मान्छेको चेतनाले गरेको देख्दा भने निकै आश्चार्य लाग्छ । न प्रशस्त भौतिक पूर्वाधार न मेसिनरी औजार । र पनि त मिहिनेत र लगन सुन्दर र शक्तिशाली हुँदोरहेछ । मान्छेका दुई हात–खुट्टा र चेतनाले पत्थरलाई पनि बोल्न सिकाउँदो रहेछ । ढुङ्गा र माटोलाई पनि कलात्मक बनाउँदो रहेछ ।
प्रेम र दुःखको बीचबाट भागेर म मान्छेको शक्ति र सामथ्र्यमा आइपुगेँछु । हुन पनि यहाँको कलात्मक सौन्दर्य नै यस्तै छ । म हेरक सिंगमरमरको जोडाइ र ढुङ्गाको कुँदाइमा हात काटिएका ती कालिगढहरू सम्झिरहेछु । जसले मुमताजको सम्झना बिर्साउन शाहजहाँलाई यो सुन्दर उपहार सुम्पेका थिए । कठै ती काटिएका हातहरू ! मलाई हेर्दाहेर्दै ताजमहलमा तिनै हातहरू झुन्डिएजस्तो लाग्छ । नजिकैको पोखरी तिनकै रगत र आँसुले भरिएजस्तो लाग्छ । एकाएक ताजमहलको सुन्दरतामा मुमताज र शाहजहाँको प्रेमभन्दा पनि ती काटिएका हातहरूले जोडेको दर्दपूर्ण इतिहास झुल्किन आइपुग्छ । बिचरा ती हातहरू जसको कुनै इतिहास छैन । न कसैको सङ्गीतमा गीत बन्यो न कसैको कविताको हरफले समेट्न सक्यो ती हातहरूलाई । सबैले मुमताजकै गीत गाए र शाहजहाँकै कविता लेखे । तर, मलाई ती हातहरूको कथा लेख्न मन लागेको छ । ती हातहरूलाई सलाम गर्न मन लागेको छ । मन लागेको छ मलाई ती हातहरूलाई चुम्न, जसले कला र सौन्दर्यको उच्च उपमा सुम्पेर गए ।