‘अर्घाखाँचीको कर्णाली’को यस्तो छ व्यथा– मुक्तिनाथ भुसाल

‘अर्घाखाँचीको कर्णाली’को यस्तो छ व्यथा– मुक्तिनाथ भुसाल


muktiअर्घाखाँचीको क्षेत्र नम्बर–२ स्थित सिद्धारा गाविस मुलुकको एक यस्तो विकट स्थान हो, जहाँका सबै बस्तीमा पुग्ने रेकर्ड बनाउन कसैले सकेका छैनन् । तसर्थ, सदरमुकाममा रहेका सरकारी कर्मचारी तथा कुनै पनि सङ्घ–संस्थाले जिल्लामा कुनै कार्यक्रम सञ्चालन गरेर अर्घाखाँचीवासी लाभान्वित भए भनी दाबी गर्नु स्थानीय जनताको उपहास तथा राज्यलाई ठग्नुसिवाय केही हुन सक्दैन ।
‘अर्घाखाँचीको कर्णाली’ भनी सम्बोधन गर्न सकिने जिल्लाकै सबभन्दा ठूलो यस गाविसलाई ठाडा, जुकेना र जलुके गाविसले छोएको छ भने गाविसको वडा नं. १ को उपल्लो सिद्धारामा स्वास्थ्यचौकी र वडा नं. २ को लामिदमारमा उपस्वास्थ्यचौकी रहेका छन् । जम्मा २१ प्रावि र तीनवटा निमावि रहेको सिद्धारा वडा नं. ३ बर्रेमा एउटा मावि अनि वडा नं. १ मा रहेको स्वास्थ्यचौकीदेखि एक घन्टाको फरक दूरी वडा नं. २ को बोखरमा एउटा उमावि रहेको छ । मौहावारी, लुङ्गी, ढुङ्गेशेरा, नयाँबस्ती, भंैसीथरी, कानाचौर, सिलिङ खोलाको फेदी टुँडिखेललगायतका बस्तीबाट स्वास्थ्यचौकी तथा उमाविमा आउनका लागि कमसेकम ११ घन्टाको एकतर्फी पैदल यात्राको सामना गर्नुपर्छ । त्यसैगरी डिहीबाट दुई घन्टा, लिसिकुनाबाट एक घन्टा, उनाय र काठेखोलाबाट तीन घन्टा, बाँकेबाट चार घन्टा, बाटुलेबाट पाँच घन्टाको पैदलमा उमावि तथा स्वास्थ्यचौकीमा पुग्न सकिने स्थानीयको भनाइ छ । दिनभरको यात्राद्वारा स्वास्थ्यचौकीमा पुगेका बिमारीले डाक्टर फेला नपारे वा निको नभएमा थप ६ घन्टा पैदल हिँडी कालोपत्रे सडक छुन सक्छन् । काठेखोलावासीले आफ्ना नानीलाई शिशुकक्षा पढाउनका लागि कम्तीमा अढाइ घन्टा पैदल यात्राद्वारा जनता प्रावि हर्रेमा आउनुको विकल्प छैन । वर्षाको समय कुसुमखोला उर्लने र झोलुङे पुलकोे अभावका कारण विद्यालय पुग्न नसक्ने स्थानीय हेमन्ता थापाको गुनासो रहेको छ । विकटबस्तीको फाइदा उठाउँदै कतिपय शिक्षकले दिउँसै दारुपानी खानुको अलवा पहुँचवालाका परिवारले महिनौँ दिनको हाजिरी एकैचोटि मिलाई तलब लिने कार्यलाई नियन्त्रण गर्न नसक्दा धेरैजसो विद्यालय बाल स्वयम्सेविकाको भरमा चलेको नौलो मानिँदैन । जसको कारण स्थानीयहरू शिक्षाक्षेत्रमा धेरै नै पछि परेको अनुभूति गर्न सकिन्छ ।
सिद्धारा गाविसको बस्तीलाई सङ्क्षेपमा जानकारी गराउनुपर्दा, वडा नं. १ मा तालुकदार जीवनारायण बेल्वासे बसोबास गरेको स्थान हो । उपल्लो सिद्धारा, गुन्टे, सिस्ने, दिउराल थुम, पाकुरी, लामिदमार, करमगौरा, ठाडाखोला, कालधारे, नुने, मिठे आँप, गँगोटे, नयाँबस्तीलगायतका गाउँमा दुई सय ७२ घरधुरी रहेका छन् । वडा नं. २ मा बोखर, सिद्धारा, डिहीलगायतका गाउँमा ८४ घरधुरी रहेका छन् । त्यसैगरी वडा नं. ३ अन्तर्गत वर्रे, कचुरेनी, उनाय, पात्ला, धाँते, राक्सेलगायतका बस्तीमा एक सय ७४ घरधुरी रहेका छन् । वडा नं. ४ को हर्रे, बाटुले, काठेखोला, सामकोटलगायतका गाउँमा एक सय ७६ घरधुरी रहेका छन् भने वडा नं. ५ अन्तर्गत ढुङ्गेशेरा, छापा, पोखरा, माझकाखाडा, टिक्करी, मौहावारी, लुङ्गी, आँपखोलालगायत गाउँमा दुई सय ५७ घरधुरी रहेका छन् । गाविसको वडा नं. ६ मा रहेका बाँके, ढोडेनी, दमार, सुपारे, चावादीप, सिमल्टी, काब्रादीप, चिउरीखरी, भैंसीथरी, चाबेनेटा, वेलदमार, वैनेरी, दोबाटा, चिसापानी, फोर्सल, खएरभट्टी, दहखोलालगायतका गाउँहरूमा दुई सय ५८ घरधुरी रहेका छन् । वडा नं. ७ को तल्लासिद्धारा, अक्काशे, छहरे, कानाचौर, साखिने, चिसापानीलगायतका गाउँमा एक सय तीन घरधुरी रहेका छन् । वडा नं. ८ मा रहेका लौरी, सिलिङ खोला, तीनखन्ने, टुँडिखेल, बाह्रमुरे, बिसमुरे, धोखोलालगायतका गाउँमा एक सय ९० घरधुरी रहेका छन् र वडा नं. ९ मा एउटा मात्रै लिसिकुना गाउँमा ४२ घरधुरी बसोबास गर्दछन् ।
यातायातको सन्दर्भमा चाक्लाचोकदेखि उपल्लो सिद्धारासम्म मोटरबाटोको महसुस गर्न सकिन्छ । जिल्लाका सम्पूर्ण गाविसमा बस पुगेको सन्देश मुलुकमा दिनका लागि करिब दुई वर्षअगाडि जिल्लाका राजनीतिक दलका नेता तथा प्रतिनिधिको सक्रिय सहभागितामा र एमाओवादी नेता टोपबहादुर रायमाझीको प्रमुख उपस्थितिमा सदरमुकामबाट केही बस गाविसको बोखरमा बल्लतल्ल पु-याइएको भए पनि त्यहाँ उप्रान्त स्थानीयले आफ्नो गाउँमा बस देखेका छैनन् । बस उद्घाटनको समयमा जङ्गलका जडीबुटी खाई हुर्किएका खसीबोका ढालेर उनीहरूलाई खुवाउनुको अलवा लगाइदिएको अबिरमाला र स्थानीय नित्य तथा बाजागाजाको खुसियाली एक दिनका लागि मात्र सीमित बनेको दुखेसो स्थानीयमा पाउन सकिन्छ । वर्षाको समयमा पैदल हिँड्नसमेत कठिनाइ रहेको उक्त सडकमा हिउँदको समयमा कहिलेकाहीँ एउटा सवारी जिप चल्ने गर्दछ । यसको अलवा कपिलवस्तुको इमेलियाबाट मौहावारीसम्म सवारी जिप चल्ने गरेका छन् । राज्यबाट उपेक्षा गरिएको सिद्धारामा ८५ प्रतिशत घरधुरी यातायातको सुविधाबाट वञ्चित रहेका कारण उपभोग्य समान महँगो रेटमा खरिद गर्ने स्थानीय विवश बनेका छन् । गाविसको वडा नं. ६ मा बसोबास गर्ने सम्पूर्ण घरधुरीमा पुग्नका लागि कमसेकम बीस दिनको पैदल यात्रा गर्नुपर्दछ ।
सिङ्गो गाविस वर्षौंदेखि यस्तो दर्दनाक स्थितिमा रहँदासमेत गरिब जनताका हितका लागि आफू राजनीतिमा लागेको भाषण गर्ने दलका नेताहरू र यसै क्षेत्रबाट चुनाव जितेर संविधानसभामा पुगेकाहरू मौन बस्नु सिद्धारावासीका लागि विडम्बनाकै विषय हो । सबै कुराबाट वाक्कदिक्क बनेका र थोरबहुत हुनेखाने परिवारहरू आफ्नो गाउँ त्यत्तिकै छाडेर बसाइँसराइ गर्ने क्रमले पनि तीव्रता लिँदै गएको छ । खुम्चिकोटदेखि उपल्लो सिद्धारासम्म, मौहावारी, लुङ्गीलगायतका केही बस्तीलाई थोरै–धेरै रकममा खरिद–बिक्री हुने भए पनि बाँकी बस्तीहरू त्यत्तिकै छाडेर स्थानीयहरू विस्थापित भएकोे स्थानीय रामजीप्रसाद बेल्वासेको भनाइ रहेको छ । केही वर्षअगाडिसम्म ४५ घरधुरी बसोबास गर्ने छापा गाउँ र करिब ४० घरधुरी रहेको दुम्सीका सम्पूर्ण स्थानीयवासी हाल विस्थापित भइसकेका र धेरै गाउँका स्थानीयहरू विस्थापित बन्ने क्रमलाई तीव्रता दिएको बोखरनिवासी चन्द्रबहादुर थापा बताउँछन् ।