रमाइलो–घमाइलो

रमाइलो–घमाइलो


ramailo-ghamailo2एउटै अण्डा बहत्तर हजारको
कुखुराको एउटा अण्डाको मूल्य चार सय असी पाउण्ड, अर्थात् झन्डै बहत्तर हजार ! सुन्दा हम्मेसी पत्याउन सकिन्न, तर यो सत्य हो । बेलायतको एसेक्सनिवासी किम ब्राउटन नामक व्यक्तिले पालेको पिङपाङ नाम दिइएको एक कुखुरीले गत १७ फेब्रुअरीका दिन सामान्य आकारभन्दा बिल्कुल अलग खालको पूरै गोलो अण्डा पारेपछि त्यो चर्चाको एक रोचक विषय बनेको थियो । यस्तो दुर्लभ प्रकृतिको असामान्य अण्डालाई खानुभन्दा कुनै सौखिन व्यक्तिले सङ्कलन गरेर सुरक्षित राख्न पनि सक्छ भन्ने विचार ब्राउटनको मनमा फु-यो । भर्खरै पुत्रशोकमा परेको आफ्नो एक आफ्नो साथीको सहयोगको निम्ति खुलेको ट्रस्टलाई चन्दा दिने उद्देश्यले उनले उक्त अण्डालाई लिलामीमा राख्ने निर्णय गरे । नभन्दै अनलाइन माध्यमबाट भएको लिलामीमा उक्त अण्डालाई चार सय असी पाउण्ड (लगभग ७२ हजार रुपैयाँ)मा खरिद गर्ने एक खरिदार फेला प-यो । जम्मा ६४ जनाले सो असामान्य अण्डामाथि बोली लगाएका थिए । सो अण्डा लिलाम गरिएकै अवसरमा सन् १९६६ मा अन्तरिक्ष यात्री बज एल्ड्रिनद्वारा अन्तरिक्षमा लिइएको पहिलो सेल्फी पनि अनुमानभन्दा दश गुण ज्यादा मूल्य अर्थात् ६० हजार पाउण्ड (करिब आठ लाख ८८ हजार)मा बिकेको थियो ।

दुलही किन्ने बजार
बजार भन्नेबित्तिकै हामी खाने–पिउने कुरा या अन्य आवश्यक सामानको खरिद–बिक्री गर्ने स्थान भन्ने बुझ्छौँ । र, संसारमा यस्ता ठाउँ पनि छन् जहाँ खाने–पिउने या पहिरिने सामानको नभई ‘दुलही’को व्यापार हुन्छ । युरोपियन मुलुक बुल्गेरियामा एउटा यस्तो ठाउँ छ जहाँ टिनएजका युवती सिँगारिएर आउँछन् र युवक आएर छानी–छानी किनेर उनीहरूलाई पत्नी बनाई लैजान्छन् । डेली मेलले जनाएअनुसार बुल्गेरियाको स्टारा जगोरा भन्ने स्थानमा यसरी वर्षको चारपटक दुलही खरिद गर्ने मेला लाग्छ । आर्थिक रूपले कमजोर परिवार, जसले आफ्नी छोरीको विवाह चाहेजति खर्च लगाएर गर्न सक्दैनन्, उनीहरू छोरीलाई उक्त मेलामा लैजान्छन् र घरजम गराइदिन्छन् । पुस्तौँदेखि लाग्दै आएको यस मेलामा मन खाने लोग्ने फेला पार्न युवतीहरू साजसज्जाका साथ पुग्छन् । सबैजसो युवतीका साथ तिनका बाबु–आमा पनि हुन्छन्, तर केटा छान्ने कुरामा उनीहरू छोरीलाई पूरै स्वतन्त्रता दिन्छन् । युवकले आफूलाई मन परेको युवतीसँग कुराकानी गरी एकछिन एकान्तमा घुम्छन् र कुरा मिलेपछि युवतीका अभिभावकलाई युवकको परिवारले केही रकम बुझाएर दुलही घर भित्याउने चलन छ ।

भगवान्लाई आइफोन दान †
मठ–मन्दिरमा नगद तथा जिन्सी दान गर्ने चलन त रहिआएकै हो । तर, दान गर्नका लागि साथमा चानचुन पैसा नभएकै कारणले कसैले मोबाइल फोन सेट नै चढाएकोचाहिँ हम्मेसी सुन्न पाइन्न । तर, गुम्बामा राखिएको दानपात्रमा यस्तै अनौठो दान चढाएर चीनको ग्वाङडोङ प्रान्तस्थित फोसानमा काङ चु नामक व्यक्तिले साथमा नगद नभएको कारण आफूले प्रयोग गरिरहेको महँगो आइफोन–६ नै दानपात्रमा खसालेर भगवान्को आशीर्वाद हासिल गर्न खोजेको प्रसङ्गले मिडियामा समेत स्थान पाएको छ । डेली मेलले जनाएअनुसार टुरिस्टको रूपमा फोसान पुगेका ३१ वर्षीय काङले स्थानीय एक प्रसिद्ध गुम्बाको दर्शन गर्ने क्रममा त्यहाँ केही दान गरे भगवान्को कृपा प्राप्त हुने जानकारी पाए । उक्त सूचनालाई उनले गुम्बामा केही न केही दान गर्नैपर्ने रहेछ भन्ने अर्थमा बुझेछन् र साथमा चानचुन नगद नभएपछि आइफोन नै दान–पेटिकामा खसालेछन् । तर, काङ त्यहाँबाट निस्केपछि गुम्बाको व्यवस्थापन पक्षले त्यहाँ नगद मात्रै दानको रूपमा लिइने र भक्तले दान गर्नैपर्ने कुनै बाध्यता पनि नभएको भन्दै उनको मोबाइल सेट फर्काइदिएको थियो ।

‘च्याटेलभ’मा डुब्दा करोडौँ स्वाहा
आफूले प्रत्यक्ष भेट्दै नभेटेको दूरदराजको कथित प्रेमीलाई कुनै प्रेमिकाले ‘अनलाइन लभ’कै आधारमा करोडौँ रकम सुम्पिन्छिन् र पछि धोका भयो भन्दै पश्चात्ताप गर्छिन् भने त्यस्ती प्रेमिकालाई कसरी सहानुभूति दिने ? यस्तै सवाल पैदा गरिदिएकी छिन् सराह नामकी अमेरिकी महिलाले । अत्यन्त मोटी जिउकी हुनाले हम्मेसी कसैले आफूलाई मन नपराउने धारणा बनाएकी सराहको दुईपटक डिभोर्स भइसकेकाले च्याटिङमार्फत नयाँ प्रेमी पाउँदा उनी निकै खुसी थिइन् र त्यो प्रेम जोगाएर विवाहसम्म पुग्ने उनको धोको थियो । त्यसैले इटाली घर भई अफ्रिकामा व्यवसाय गरिरहेको र आफ्नो नाम क्रिस ओल्सन बताउने कथित प्रेमीलाई उसले मागेबमोजिम पटक–पटक रकम पठाइन् । ‘च्याटेलभ’को जम्माजम्मी आठ महिनाकै अवधिबीच सराहले क्रिसलाई लगभग १३ करोड रुपैयाँ पठाइसकेकी थिइन् । क्रिसचाहिँ व्यावसायिक बाध्यताका कारण आफू तत्काल अमेरिका आउन नसक्ने, तर छिट्टै समय मिलाएर भेटघाट गरी बिहे गरी घरजम बसाउनेजस्ता मीठा कुरा गरेर सराहलाई लुटिरहेको थियो । प्रेममा अन्धी बनेकी सराहले अनलाइन लभको क्रममा आफूले करोडौँ रकम डुबाएको कुरा स्थानीय मिडियामार्फत सार्वजनिक त गरिन्, तर उदेकलाग्दोचाहिँ के छ भने अझै पनि उनी कथित प्रेमी एक न एकदिन आफूलाई भेट्न आउने र बिहेवारी पनि हुने कुरामा विश्वस्त छिन् ।