– मुक्तिनाथ भुसाल
कपिलवस्तु/ इलाका हुलाक कार्यालय पत्थरकोट कपिलवस्तुमा रजिस्ट्री तथा साधारण पत्रपत्रिकालगायत फोटोकपी, कम्प्युटर तालिम बेसिस कोर्स प्रिन्ट आदि सेवा उपलब्ध गराइएको दाबी गरिए पनि त्यसबाट स्थानीय बिल्कुलै लाभान्वित बन्न नसकेका पाइएको छ । पत्थरकोट बजारको भित्री सडकमा प्रतिमहिना दुई हजार भाडा तिर्नेगरी हुलाक कार्यालय रहेको भए पनि स्थानीयको हुलाकप्रतिको उदासीनता र हुलाक सेवा सञ्चालन गर्नका निम्ति दक्ष इन्चार्जको अभावका कारण राज्यको लगानी बालुवामा पानीजस्तै बेकार बन्न पुगेको छ । अधिकांश स्थानीयवासीलाई उक्त हुलाकमा कम्प्युटर चलाउने तालिम दिइन्छ भन्ने नै जानकारी नभएको र फोटोकपीका लागि लोडसेडिङ आदिका कारण सरोकारवालाहरू निजी साइबरतर्फ आकर्षित भएका पाउन सकिन्छ । हुलाक कार्यालयमा रहेका प्रयोगमा आउन नसकेका कम्प्युटरहरू बिग्रिएका र मर्मतका लागि महिनौँ दिन लाग्नेजस्ता समस्या रहेको पनि बुझिएको छ । खरिदार, हल्कारा र करारमा कम्प्युटर अपरेटरसहित चारजना कर्मचारीलाई राज्यले पालनपोषण गरेको भए पनि कम्प्युटर सिक्नका लागि भने यहाँका युवायुवती दैनिक २२ किमि यात्रा गरी गोरुसिङ्गे, इमेलिया बा४नं. बजार पुगी कम्प्युटर सिक्ने गरेका छन् ।
०६७ साल जेठ २ गतेबाट कम्प्युटर तालिम सञ्चालन गरेको यस हुलाकले ०७० माघ २० गतेसम्म २१ महिनामा जम्मा तीसजनालाई तालिम दिएको र सोबापत रु. १ लाख ९ हजार चार सय छपन्न मात्र आम्दानी गरेको जानकारी उपलब्ध गराइएको छ । इन्टरनेट इमेलको विकासले तीव्रता लिँदै गएको कारण पत्रको चलन हराउँदै गएकाले यदाकदा टिकट खरिद गर्नका लागि मात्र सो हुलाकमा सेवाग्राही देखापर्छन् । गत माघ ८ गते ७०८४३२२ र ७०८४३२३ नम्बरका दुईवटा रजिस्ट्री पत्र काठमाडौंका लागि पठाइएको भए पनि लामो खोजीपश्चात् प्रापक स्वयम् गोश्वरा हुलाक पुगी गत फागुन २८ गते बिहीबार ४९औँ दिनमा फेला पारेको बुझिएको छ । ०७१ माघ मसान्तसम्म सम्बन्धित ठेगानामा रजिस्ट्री पत्र नपुगेको र फिर्ता पनि नआएको कारण गत फागुन १ गते सोसँग सम्बन्धित भई सूचना मागको निवेदन नेपालको अन्तरिम संविधान, २०६३ को धारा २७ तथा सूचनाको हकसम्बन्धी ऐन, २०६४ को दफा ३ अनुसार सोही हुलाकको ११ नम्बरमा दर्ता भएको थियो । यसरी सूचना मागको निवेदन दर्ता भएको मितिले बढीमा १५ दिनभित्र सूचना अधिकारीले माग गरिएको सूचना उपलब्ध गराउनुपर्ने व्यवस्था सूचनाको हक २०६४ मा उल्लेख गरिएको भए पनि उक्त हुलाकले नियमको पालना नगरेको पाइयो ।
रजिस्ट्री प्रेसकले माग गरेका सूचना निश्चित समयभित्र प्राप्त गर्न नसकेपछि कार्यालयप्रमुखलाई दिएको उजुरी निवेदन हुलाकका इन्चार्ज नारायणप्रसाद गैरेले दर्ता गर्न अस्वीकार गरेका थिए । कार्यालयलाई प्राप्त निवेदन स्वीकार गर्न नमानेपछि उनैसँग टिकट खरिद गरी खाममा निवेदन प्याक गरेर प्रेसकले ७०८४३३२ नम्बरको रजिस्ट्रीमा उजुरी निवेदन गर्नुप-यो । महत्वपूर्ण कुरा के छ भने कुनै पनि सार्वजनिक निकायका सूचनाहरू सो कार्यालयका सूचना अधिकारीले बढीमा १५ दिनभित्र र कार्यालयप्रमुखले सात दिनभित्र उपलब्ध गराउनुपर्ने प्रावधान रहेको छ ।
प्रतिक्रिया