आमा– दिलु सिजाली

आमा– दिलु सिजाली


indreniआमा ब्युँझनुहुँदा सखारै
लेघ्रो तानेर घुरिबस्छ घाम बूढो चुत्रोको पिठ्युँमा ।

सिरानीमुनि फिँजारेर जानुहुन्छ आमा
सपनाहरूको बिस्कुन ।
र, पल्टाउँदै भकुन्ड्याइदिनुहुन्छ आमा
आँखामा पछ्याउँदै झुन्डिबसेको अटेर निद्रालाई ।

तिर्खाएर सास अड्केको गग्रेटोलाई
मन्छाउनुहुन्छ आमा पँधेरो डाकेर सबेरै
र, देउता चढेको झाँक्रीझैँ कामिबसेको चिसो अँगेनामा
सेकाउनुहुन्छ भोलिको एउटा सुकिलो रङ
जोरेर केही थान खुसीका चोइटाहरू ।

चिल्लो पार्नुहुन्छ आँगन आमाले
तेल घसेर कोरिबाटी गरेझैँ थाङ्ग्रोले
र, चुटुक्क पार्नुहुन्छ बेबी डलझैँ
इन्द्रेनी टाँगेर निधारमा भित्ताहरूको डोलो मोहडा ।

ओठको उज्यालो फिटेर आमाले
लिप्नुहुन्छ सघन हाँसो पिँढीभरि
र, लोट्टाई बस्नुहुन्छ मझेरीबाट अभावका विम्बहरू ।

आँपको हाँगामा बयेली खेलिबसेको एक थुङ्गा जून टिपेर
उनिदिनुहुन्छ आमा हाम्र्रो घरको चुल्ठोमा ।

कपासजस्तो दिल कातेर आमा
बालिबस्नुहुन्छ आमा एउटा धर्सो दियो
चोबेर आफ्नै आँसुको कलशमा ।
र, चढाउनुहुन्छ आमा देउताहरूलाई
काटेर आफ्नै कलेजोको ताजा प्रसादी ।

दुःखको घाउमा ठुङ्न आउने शीतलहरको
छिलिबस्नुहुन्छ आमा खस्रोखस्रो छाला
र, सुकाउनुहुन्छ झिरमा सेरेर बुँइगलतिर ।

आङमा अनि पछारिन आउने बिग्गे बर्खालाई
घिसारेर मिल्काइदिनुहुन्छ आमा डहरतिर कतै ।

आमाको निधारमा झुन्डिराखेको कुहिराको गीतलाई
लाछेर चिर्नुहुन्छ आमा चुलेसीमा
र, भुङ्ग्रामा गाडिदिनुहुन्छ गिठाभ्याकुरजसरी ।

भाग बस्न आएका भोकका जुलुसहरूलाई
लघार्नुहुन्छ आमा मूलबाटैबाटो
र, पारि किनारमा रोइबसेको खोलाका सङ्गीतलाई
तारेर ल्याउनुहुन्छ व्यथाको भङ्गालो ।

धन्सारमा गुन्गुनाउनुहुन्छ आमा वस्तुभाउसँग
दुर्लभ प्रेमको भाषामा
र, रहरको करेसामा डो-याउनुहुन्छ समातेर
आँखाबाट खसेको कुलेसोको मसिनु औँलाहरू ।

पेरुङ्गोमा कोचेर ल्याउनुहुन्छ आमा
लट्टाइबाट खुस्केर भागेको उमेरका चङ्गाहरू
र, सयपत्रीजस्तो मुजा परेको थाप्लोमा
दल्नुहुन्छ आइरन बाक्लो बरिया नाम्लोको ।

माटोको सुगन्धले देखाइबस्छ घाटुनाच
जसै चलाउनुहुन्छ आमा कण्ठका तारहरू ।

आमालाई कैले हुन्छ फुर्सद
मन पग्लुञ्जेल रुनलाई ?

जवाफ पर्खिबस्छु म,
कत्ला परेको आँखाको डिलमा आमाको ।
– निजगढ, बारा
[email protected]