तेस्रो रङ्गकी उषा– प्रभा बराल

तेस्रो रङ्गकी उषा– प्रभा बराल


tesroउषा शेरचन नेपाली साहित्यमा नौलो नाम होइन । वि.सं. २०३५ सालदेखि नै पत्रपत्रिकामा रचना छाप्न थालेकी उनी हाल आएर एउटा सशक्त र स्थापित स्रष्टा बनिसकेकी छिन् । दुईवटा कवितासङ्ग्रह, एउटा मुक्तकसङ्ग्रह र थुप्रै गीति–क्यासेटहरू निकालेकी उषा शेरचनको ‘तेस्रो रङ्ग’ भने कथाको कृति हो । बहुमुखी प्रतिभाकी धनी उषा शेरचनको यस सङ्ग्रहभित्र लामाछोटा गरी १६ वटा कथा रहेका छन् । १९१ पृष्ठमा सङ्ग्रहित रहेको यस कृतिलाई रत्न पुस्तक भण्डारले बजारमा ल्याएको हो ।
कथासङ्ग्रहको शीर्षक ‘तेस्रो रङ्ग’बाटै पाठकले तेस्रोलिङ्गीसँग सम्बन्धित कथाहरू सङ्ग्रहित हुनुपर्छ भन्ने अनुमान लगाउन सक्छाँै । यस सङ्ग्रहभित्रको पहिलो कथा ‘अर्को क्षितिज’ सङ्ग्रहभित्रकै उत्कृष्ट कथा प्रतीत हुन्छ । १८ पृष्ठमा संरचित यस कथामा हिमाली भेगको कतिपय समुदायमा दाजुले बिहे गरेकी भाउजू सबै भाइले व्यहोर्नुपर्ने अजीवको चलनलाई प्रस्तुत गरिएको छ । द्रौपदीले पाँच पाण्डवलाई पति मान्नुपरेजस्तै यस कथामा पनि छोरो भन्न सुहाउने कान्छो देवरले भाउजूलाई आमासरह माया गर्छ र बिहे आफैँले प्रेम गरेकी केटीसँग गर्न चाहन्छ । यस काममा भाउजूले पनि सघाएकी छिन् । समाजमा रहेका कतिपय कुरीति, कुसंस्कारलाई परम्परा भन्दै पछ्याउनुपर्छ भन्ने छैन भन्ने भावलाई यस कथाले सन्देश दिएको छ ।
यस्तै दोस्रो कथाको रूपमा ‘नरोजेको बाटो’ आएको छ । यसमा बाध्यता, रहर र बेरोजगारीका कारणबाट समाजमा दिनप्रतिदिन यौनकर्मीहरूको सङ्ख्या बढिरहेको र त्यसबाट समाज विकृत हुँदै गइरहेको तथ्यमाथि खबरदारी गरिएको छ ।
तेस्रोलिङ्गीलाई प्रतिनिधित्व हुने गरी लेखिएको अर्को कथा ‘अनपेक्षित बाढी पहिरो’मा दुई सम्पन्न परिवारका छोराछोरीबीचमा बिहे सम्बन्ध भइसकेपछि पनि श्रीमती आफूप्रति कत्ति पनि आकर्षित नभएको देखेर श्रीमान् तीनछक पर्छ । ऊ एक्लै डाक्टरकहाँ सल्लाह लिन पनि जान्छ । डाक्टरकै सल्लाहबमोजिम पछि श्रीमती तेस्रोलिङ्गी भएको थाहा पाएपछि उसको मनमा अनपेक्षित बाढीपहिरो जान्छ । यो कथा अत्यन्त उत्सुकताले भरिएको रोचक कथा भएको पाठकलाई अनुभूति हुन्छ ।
विज्ञानको उपलब्धिलाई वरदानका रूपमा नलिई यसको दुरुपयोग गर्नाले सामाजिक सञ्जालका कारण पनि आजभोलि नसोचेका घटना घट्न थालेका छन् यसै कथावस्तुलाई ‘यक्षप्रश्न’ कथाले राम्ररी चित्रण गरेको छ । ‘सीमातीत अस्मिता’ कथामा एउटी स्वास्नीमान्छे पूर्ण स्वास्नीमान्छे बन्न बच्चा जन्माउन चाहन्छे । आफ्नो लोग्नेमा त्यो गुण नदेखेपछि श्रीमान्कै साथीबाट खुसुक्क वीर्यदान लिएर पूर्ण आमा बन्दछे । यसकै सेरोफेरोलाई अत्यन्त कलात्मकताका साथ यो कथामा व्याख्या गरिएको छ । जुन अत्यन्त मन छुने छ ।
शेरचनका हरेक कथा मानवीय संवेदनाले भरिएका छन् । साहित्य समाजको दर्पण भएकाले आफू बाँचेको युग रचनामा प्रतिविम्बित हुनु सामान्य कुरा हो । यहीअनुरूप उनका कथामा जनयुद्धको प्रभाव पनि परेको देखिन्छ । ‘झिनो उज्यालो’, ‘मन विस्थापित भएको छैन’ यसैका उदाहरण हुन् । ७ पृष्ठमा संरचित ‘प्रतिभा पलायन’ शीर्षकको कथाले देशप्रति गहिरो चिन्ता प्रकट गरेको छ । दिमाग र बुद्धि हुनेहरू ब्रेनड्रेन भइसके, अब तिनलाई फर्काएर ल्याउने वातावरण देशले कहिले तयार पार्ला भन्नेबारेमा उनको गम्भीर चिन्ता छ । जलस्रोतको धनी देश नेपालमा लोडसेडिङकै कारणबाट कति जनशक्ति पलायन भएका छन्, बूढाबूढी र अशक्त वर्गले मात्र देशको रथ कसरी हाँक्ने भन्ने चिन्ता अहिले सबैभन्दा बढी चासोको विषय बन्न पुगेको छ ।
कमलरी प्रथासँग असन्तुष्ट हुँदै लेखिएको कथा ‘मैले चुमेको आकाश’ छ भने परिणाम शीर्षकको कथामा बालविवाह र त्यसपछि आइलाग्ने समस्याको चिरफार गरिएको छ । त्यसैगरि ‘अँध्यारो भविष्य’, ‘जीवनका उडानहरू’ र ‘पिँजडा आखिर पिँजडा नै हो’ भन्ने कथाले पनि समाजमा घटित विभिन्नखाले घटनाक्रमको जानकारी गराउँछन् ।
कथासङ्ग्रहको नामाकरण गरिएको कथा ‘तेस्रो रङ्ग’मा पारिवारिक करकापबाट आफ्नो छोरालाई जबर्जस्ती बिहे गर्न लगाउन खोज्दा अन्ततः उसले बाध्य भएर आफ्नो गोग्य कुरा खुलासा गरेपछि ऊ परिवारबाटै उपेक्षित बन्न पुग्छ । परिवारबाटै बहिष्कृत भएपछि ऊ परिवारविहीन बनेर आफ्नो मन पर्ने साथीसँग बसेर जीवन निर्वाह गर्न पुग्छ ।
सरल तर कलात्मक भाषाशैली प्रयोग गरी लेखिएका शेरचनका कथा सबै पाठकका लागि उपयुक्त देखिन्छन् । समाजमा घटेका समसामयिक घटनाक्रमलाई उखानटुक्काहरूको प्रयोग गर्दै वाक्यलाई मिठास प्रदान गरिएको छ ।
आयामका दृष्टिले केही कथाहरू लामा देखिए पनि अन्य कथाहरू भने ठीकै छन् । समाजमा त्यति महत्व नपाएका तेस्रोलिङ्गीलाई सम्बोधन गरेर लेखिएका उनका कथाले नेपाली साहित्यमा नयाँ स्वाद प्रदान गरेका छन् । उनको कथा लेखनयात्रा अझै सक्रियतापूर्वक अगाडि बढोस् हार्दिक शुभेच्छा ।
कृति : तेस्रो रङ्ग (कथासङ्ग्रह)
लेखक : उषा शेरचन
प्रकाशक : रत्न पुस्तक भण्डार
संस्करण : प्रथम २०७०
पृष्ठ : १९१
मूल्य : रु.२००/–