आउने भयो उड्ने कार
ट्राफिक जाममा फसेको बेला उड्ने कार भइदिए कति आनन्द हुन्थ्यो भनी कल्पना गर्नेहरू प्रशस्तै हुन सक्छन् । यस्तो कल्पना अब कल्पनामै सीमित नरहने भएको छ । निकै अघिदेखि नै चर्चामा रहेको उड्ने कारको कल्पना साकार तुल्याउन अमेरिकाको एक कार कम्पनी मरिमेटेर लागिपरेको छ । बोस्टनस्थित टेर्राफुजिया नामक उक्त कार कम्पनीले वर्षदिनभित्रै बजारमा उतार्ने उद्देश्यका साथ उड्ने कारको मोडल तयार पारेको छ, जसलाई नाम दिइएको छ, ‘द ट्रान्जिसन’ । कम्पनीको दाबीअनुसार आफू पुग्न चाहेको स्थानमा हवाईजहाज बनेर पु-याइदिन ‘द ट्रान्जिसन’ हरदम तत्पर हुनेछ । मिनी हवाईजहाज नै भन्न मिल्ने यस कारमा फिट गरिएका ६ सय हर्सपावरवाला दुईवटा इलेक्ट्रोनिक मोटर पोड्सको सहारामा यसले उडान भर्नेछ भने सुरक्षाको कोणबाट फिट गरिएका स्टार्ट हुनेबित्तिकै ‘मेगावाट’ शक्तिबाट चल्ने थप १६ वटा मोटर्सले ‘द ट्रान्जिसन’लाई हावामा उठाउन मद्दत गर्दछ । कार हावामा उडेपछि दुईवटै मोटर पोड्सअघिल्तिर मोडिने र गन्तव्यमा पुगेपछि ती पोड्स् पुनः मोडिएर कारमै फिट भई ल्याण्ड हुने सिस्टम यसमा रहेको छ । करिब दुई सय मेगाहर्टजको रफ्तारमा चल्ने यस हवाई–कारको रेन्ज भने ५ सय माइलसम्म रहेको र सन् २०१६ भित्रै ‘द ट्रान्जिसन’ बजारमा आइसक्ने कम्पनीको कथन छ ।
दाह्री र बुर्काको चङ्गुलमा दम्पती
दाह्री पालेकै कारण जेल जानुपरेको घटना सुन्दा पत्याउन अलिक मुस्किल नै पर्छ । तर, मानवअधिकारको मामलामा बारम्बार आलोचित हुँदै आएको मुलुक चीनमा दाह्री पालेकै कारण एक युवा दम्पतीले जेल सजाय पाएका छन् । चीनको मुस्लिमबाहुल्य क्षेत्र सिजियाङनिवासी ३८ वर्षीय एक पुरुषलाई ६ वर्ष र उनकी पत्नीलाई समेत दुई वर्ष सजाय तोकिएको छ । चीन युथ डेलीले जनाएअनुसार उक्त युवकले सन् २०१० देखि आफ्नो दाह्री बढाउन सुरु गरेका थिए भने उनकी पत्नीले आफ्नो अनुहार बुर्काले ढाक्ने गरेकी थिइन् । स्थानीय अधिकारीहरूले कानुन तोडेको अभियोगमा उक्त जोडीलाई कारबाहीको दायरामा ल्याएको अखबारको भनाइ छ । उनीहरूलाई दाह्री नपाल्न र बुर्का पहिरन नगर्न बारम्बार चेतावनी दिइएको थियो, तर उनीहरूले धर्मको नाममा स्थानीय कानुन तोड्ने प्रयास गरेका थिए । विगत केही समययता त्यहाँका पुरुषलाई दाह्री नपाल्न र महिलालाई बुर्का ओढेर सार्वजनिक बसमा यात्रा नगर्न निर्देशन दिइँदै आएको बताइन्छ ।
‘अन्डरबुब सेल्फी’माथि अङ्कुश
तपाईं यदि महिला हुनुहन्छ र थाइल्यान्डमा हुनुहुन्छ भने होसियार रहनुस्, थाई सरकारले ‘अन्डरबुब सेल्फी’ (वक्षस्थल एवम् त्यसमुनिको भागको तस्बिर खिच्ने कार्य)माथि कडा प्रतिबन्ध लगाएको छ । यदि कसैले यस्तो भाव–भङ्गिमामा सेल्फी खिचेर सोसल साइडमार्फत सार्वजनिक गरेको पाइए सम्बन्धित पात्रलाई पाँच वर्षको जेल तथा जरिवाना हुनेछ । महिलाहरूले आफ्ना गोप्य तथा संवेदनशील अङ्गका सेल्फी खिचेर सामाजिक सञ्जालमा पोस्ट गर्न थालेपछि थाई सरकार गम्भीर बनेको हो । यस्तो अश्लील तस्बिरले अरूलाई पनि यस्तै काम गर्न उत्प्रेरित गर्न सक्ने भएकोले कम्प्युटर क्राइमसम्बन्धी ऐन–२००७ लगाएर अभियुक्तलाई कानुनी दायरामा ल्याउन थालिएको थाई सरकारका प्रवक्ताले प्रस्टीकरण दिएका छन् ।
दिनमै पाँच सयपटक सहवास !
आफ्नो पुष्ट तथा ठूलो हिपका लागि संसारभर चिनिएकी रियलिटी स्टार किम करदाशियाँ यस्ती सेलिब्रेटी हुन् जो आफ्ना अस्वाभाविक अभिव्यक्तिका कारण पनि बेलाबेलामा निकै चर्चा र विवादमा तानिन्छिन् । पछिल्लोपटक उनलाई चर्चामा ल्याउने विषय बनेको छ उनका पतिसँग उनले बिताउने अन्तरङ्गी पलबारेको बयान । एक अन्तर्वार्ताको क्रममा किमले आफ्ना -यापर पति कान्या वेस्टसँग दिनमै पाँच सयपटकसम्म यौन सम्बन्ध राख्ने गरेको अभिव्यक्ति दिएकी छिन् । आफ्नी तीन वर्षीया छोरीलाई साथीको रूपमा एउटा भाइ या बहिनी प्रदान गर्न आफू पतिसँग एक दिनमै पाँच सयपटकसम्म सहवास कर्ममा लिप्त रहेको उनको कथन छ । ‘किपिङ अप विथ दि कारदाशियाँ’ नामक टीभी एपिसोडमा ३४ वर्षीया किमले यस्तो अन्तरङ्गी कुराको खुलासा गरेकी हुन् ।
प्रतिक्रिया