देशभर बदली, वर्षा र हिमपात

देशभर बदली, वर्षा र हिमपात


सुदूरपश्चिमबाट प्रवेश गरेको पश्चिमी वायुको न्यूनचापीय प्रणालीका कारण मुलुकभर वर्षा र हिमपात शुरु भएको छ ।

जम्मु–काश्मिर हुँदै नेपाल प्रवेश गरेको मौसमको यो प्रणालीले पश्चिमबाट पूर्वतिर प्रभाव पार्दै गएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । शनिबारसम्म मुलुकभर अधिकांश स्थानमा हल्कादेखि मध्यमखालको वर्षा तथा हिमपात र केही स्थानमा भारी वर्षा तथा हिमपात हुने सम्भावना रहेको बताइएको छ ।

महाशाखाका मौसमविद बरुण पौडेल मौसमको यो प्रणालीले पश्चिममा हिजो दिउँसोदेखि नै प्रभाव पारेको र आज बिहान काठमाडौंसम्म आइपुगेको जानकारी दिँदै भने, ‘अहिले काठमाडौं पश्चिमतिरका क्षेत्रमा पानी परिरहेको छ ।’ यो क्रम पूर्वतिर सरिरहेको र पूर्वतिर आज पानी पर्ने जानकारी गराउँदै उनले यो अवस्था तीन दिनसम्म कायम रहन सक्ने बताए ।

हिमाली क्षेत्रमा पनि व्यापक हिमपातको सम्भावना देखिएको छ । ‘बादलको प्रकृति हेर्दा पश्चिमी हिमाली क्षेत्रमा आज बिहानैदेखि हिमपात भएको हुनुपर्छ, शुक्रबार काठमाडौं आसपासका अग्ला भूभाग फुल्चोकी, दामन, चन्द्रागिरिलगायत स्थानमा पनि हल्का हिमपात हुने देखिन्छ,’ मौसमविद पौडेलले भने ।

मौसमको यो प्रणालीले केही जाडो बढाउने देखिन्छ । आकाश खुल्ने र घाम लाग्ने स्थिति नभएकाले दिउँसोको तापक्रम कम भई केही बढी चिसो महसुस हुनेछ । शनिबारसम्म पश्चिममा आकाश केही खुल्ने जानकारी दिँदै उनले काठमाडौंपूर्वतिर भने शनिबार पनि यसका अवशेष देखिने बताए । ‘पूरै देशभरिको आकाश खुल्न भने आइतबारसम्म नै कुनुपर्छ,’ मौसमविद पौडेलले भने । विभागले मौसमको तीन दिनको पूर्वानुमान गर्दै सूचना सार्वजनिक गरेको छ ।