उपत्यकामा एक लाख ३७ हजार लिटर घरेलु मदिरा नष्ट

उपत्यकामा एक लाख ३७ हजार लिटर घरेलु मदिरा नष्ट


महानगरीय प्रहरी कार्यालय रानीपोखरीले काठमाडौं उपत्यकाबाट एक लाख ३७ हजार ६२० लिटर घरेलु मदिरा नष्ट गरेको छ ।

चालू आर्थिक वर्षको अहिलेसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट बजार लैजानका लागि तयार पारिएको उक्त परिमाणको घरेलु मदिरा नष्ट गरेको हो । कार्यालयले काठमाडौंबाट एक लाख २६ हजार लिटर, ललितपुरबाट सात हजार ३६० र भक्तपुरबाट चार हजार २६० लिटर घरेलु मदिरा बरामद गरी नष्ट गरेको हो ।

कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक पूजा सिंहले समाजमा हुने धेरै घटना घरेलु मदिराका कारण भएको भन्दै कार्यालयले घरेलु मदिरा नियन्त्रणका लागि विशेष अभियान चलाएको जानकारी दिइन् ।
‘समाजमा हुने हत्या, हिंसा, बलात्कार, झैझगडा मदिराका कारण हुने गरेको हो,’ उनले भनिन् । मदिरा सेवनका कारण अपराधका घटना बढेको भन्दै प्रहरीले घरेलु मदिरा उत्पादन तथा बिक्री वितरणमा रोक लगाउँदै आएको छ ।

कार्यालयले घरेलु मदिरा बनाउनका लागि प्रयोग हुने एक लाख २१ हजार ५७५ केजी कच्चा पदार्थसमेत नष्ट गरेको छ । नष्ट गरिएका सामग्रीमा काठमाडौंबाट एक लाख १८ हजार २५५ र ललितपुरबाट तीन हजार ३२० केजी रहेका छन् ।