निर्णय नसच्याए सिंहदबार घेर्ने धादिङ वायुदेवता गुठी पीडितको चेतावनी

निर्णय नसच्याए सिंहदबार घेर्ने धादिङ वायुदेवता गुठी पीडितको चेतावनी


श्री ५ को वायुदेवता गुठी संघर्ष समिति, ज्यामरुङ –धादिङले सनातन कालदेखि जग्गाधनी प्रमाण पुर्जा पाएकोमा अहिले आएर गणतान्त्रिक सरकारले मोही कायम गरेकोमा कडा आपत्ति जनाएको छ । समितिले सरकारलाई उक्त गलत निर्णयबाट तत्काल ब्याक हुन पनि आग्रह गरेको छ ।

आयोजित बृहत्त अन्तरक्रिया आयोजना गरेर सरकारलाई उक्त गलत निर्णय तत्काल नसच्याए आफूहरु बाध्य भएर चरणबद्ध आन्दोलन तथा संघर्षमा उत्रिने चेतावनी समेत दिएको छ । समितिका तर्फबाट संयोजक ईश्वरी बहादुर लम्सालले सरकारले जग्गाधनी पुर्जा पाएकोमा अहिले आएर मोही कायम गरिनु सरासर अन्याय भएको भन्दै उक्त कदम तत्काल सच्याउन आग्रह गरे ।

उनले भने,‘सरकारले यो निर्णय तत्काल सच्याएन भने हामी बाध्य भएर सरकारविरुद्ध आन्दोलनमा उत्रिनेछौं ।’ लम्सालले सरकारको यो कदमले आफूहरु सुकुम्वासी भएको पनि बताए । उनले भने,‘सरकारले हामीलाई नयाँ नापी कालदेखि नै जग्गाधनी भएको ठाउँमा अहिले श्री ५ को वायुदेवता गुठी बनाएर बास्तविक जग्गाधनीलाई मोही कायम गरेको छ । यो बदनियतपूर्ण र हामीलाई सुकुम्वासी बनाउने षड्यन्त्र हो । सरकारले यो निर्णय नसच्याए हामी सिंहदबार र गुठी संस्थान घेर्न बाध्य हुनेछौं ।’

धादिङ क्षेत्र नम्बर–२ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य एवम् नेकपाका नेता खेम लोहनीले सरकारले यो समस्याको समाधान गर्नेमा आफू विश्वस्त रहेको सुनाए । उनले भने,‘म निर्वाचित जनप्रतिनिधि भएको नाताले यो समस्या समाधान गर्नु मेरो कर्तव्य हो, सरकारलाई यो समस्या समाधान गर्नको लागि म पनि झकझकाउँछु । सरकारले समाधान गर्नेमा म पूर्ण रुपमा विश्वस्त छु ।’ लोहनीले अहिले ऐन संशोधन गर्ने बेला पनि परेकोले आफूले उक्त समस्या समाधानको लागि विभागीय मन्त्रीसँगपनि यसअघि नै छलफल गरिसकेको जनाए । उनले भने,‘मन्त्रीजी यो समस्या समाधान गर्नतर्फ गम्भिर हुनुहुन्छ ।’

उता, नेपाली कांग्रेस धादिङ जिल्ला सभापति रमेश धमलाले सरकारले यो निर्णय तत्काल नसच्याए सरकारविरुद्ध आन्दोलन गर्ने चेतावनी दिए । धमलाले भने,‘२४ दिनभित्र सरकारले यो गलत निर्णय नसच्याए बाध्य भएर नगरपालिकाले नै जनताको समस्या समाधान गर्छ । म नगरपालिकाका मेयरलाई आग्रह गर्न चाहन्छु–तपाईले २४ दिनभित्रपनि सरकारले समस्या समाधान गरेन भने नगरपालिकाको अधिकार प्रयोग गर्दै जनतालाई पुर्जा दिनुहोस् ।’