साकार होला हिलारी–सपना ?

साकार होला हिलारी–सपना ?


watch_dogsराष्ट्रपति बाराक ओबामाले ‘उनी शानदार राष्ट्रपति सावित हुनेछिन्’ भनी तारिफ गरेको भोलिपल्टै अर्थात् गत आइतबार अमेरिकाकी पूर्वविदेशमन्त्री एवम् पूर्वप्रथम महिला हिलारी क्लिन्टनले सन् २०१६ मा हुने राष्ट्रपति चुनावको निम्ति आफ्नो उम्मेदवारी दाबी गरेकी छिन् । डेमोक्रेटिक पार्टीको तर्फबाट यसअघि सन् २००८ मा पनि उम्मेदवार बन्ने होडमा रहेकी र ओबामाद्वारा पछि पारिएपछि अमेरिकाको इतिहासमा प्रथम महिला राष्ट्रपति बन्ने अवसरबाट वञ्चित रहेकी हिलारीको उक्त सपना फेरि प्रबल बन्न पुगेको उनको उम्मेदवारीले प्रस्ट्याएको छ ।
राष्ट्रपति पदको उम्मेदवारी दौडमा हिलारी पनि छिन् भन्ने अनुमान पछिल्ला केही महिनायता गरिँदै आएको थियो । आइतबार आफ्नो अभियानको आधिकारिक वेबसाइट सुरु गरेर हिलारीले सो अनुमान यथार्थमा आधारित रहेको पुष्टि गरिदिएकी छिन् । हिलारीका पति बिल क्लिन्टन अमेरिकाका ४२औँ राष्ट्रपति हुन् भने यदि उनका पाइला भावी दिनमा लगातार सफल हुन सके अमेरिकी इतिहासमा एउटा नयाँ पन्ना अवश्य थपिनेछ । अर्थात्, हिलारी क्लिन्टन महाशक्ति राष्ट्र अमेरिकाकी ४५औँ राष्ट्रपति बन्ने मात्र नभई प्रथम महिला राष्ट्रपति तथा राष्ट्रपति बन्ने पहिलो दम्पतीको इतिहास पनि रचिनेछ ।
एजेन्सीहरूका अनुसार हिलारीका लागि डेमोक्रेटिक पार्टीका तर्फबाट राष्ट्रपतिको उम्मेदवारी हासिल हुने कुरा खासै कठिन नभए पनि राष्ट्रपतिको चुनाव नै जित्नचाहिँ त्यति सहज छैन । किनकि, विगत आठ वर्षदेखि सत्तामा रहेको उनको पार्टी उर्लंदो सत्ताविरोधी माहोलको सामना गरिरहेको छ र यसबाट उत्पन्न कडा चुनौतीको सामना हिलारीले गर्नुपर्नेछ । तथापि, लामो अनुभव सँगालेकी र विदेशमन्त्रीको रूपमा अत्यन्त अब्बल छवि बनाएकी हिलारीको काँधमा अमेरिकाको नेतृत्व गर्ने जिम्मेवारी आइपर्ने सम्भावना भने अधिकाधिक रहेको विश्लेषकहरूको ठहर छ ।

रहिनन् संसारकै वृद्धा
संसारकै सबभन्दा जेठी महिला मिसाओ ओकावाको गत साता निधन भएको छ । गत बुधबार हृदयगति बन्द भएर निधन हुँदा जापानी वृद्धा ओकावाको उमेर एक सय १७ वर्ष थियो । उनको जन्म ५ मार्च १८९८ मा ओसाकास्थित एक नर्सिङहोममा भएको थियो । एक छोरा, दुई छोरी, चार नाति–नातिना र ६ पनाती–पनातिनालाई छोडेर गएकी मिसाओलाई संसारकै जेठी महिलाको पहिचान सन् २०१३ मा मात्र मिलेको थियो । पछिल्लो जन्मदिन मनाउँदै गर्दा उनले आफूलाई एक सय १७ वर्ष उमेर खास लामो नलागेको प्रतिक्रिया दिएकी थिइन् । आफ्नो लामो उमेरको रहस्य रातमा कम्तीमा पनि आठ घन्टा सुत्ने र मनलागेको सुसी नामक खाना खानु रहेको उनी बताउँथिन् । ओकावाको जन्म जापानको परम्परागत पोसाक किमेनो बनाउने परिवारमा भएको थियो भने सन् १९१९ मा युकिओ नामक पुरुषसँग विवाह गरेकी उनी १९३१ मै विधवा बनेकी थिइन् । आफ्नो जीवनकालमा ओकावाले जापानका चारवटा राजा, बेलायतका ६ महाराजा र २० वटा अमेरिकी राष्ट्रपतिका कार्यकाल देख्न पाइन् । गिनिज बुक अफ वल्र्ड रेकर्डस्मा हालसम्म सबभन्दा लामो समयसम्म बाँचेका पुरुषको रेकर्ड फ्रान्सका जेम्स कैलमेन्टको रहेको छ, जो १२२ वर्ष जीवित रहेका थिए । उनको निधन सन् १९९७ को अगस्टमै भएको थियो ।
क्यान्सर भगाउने मौलिक काइदा !
कुनै बेला असाध्य रोगको रूपमा चिनिएको क्यान्सर निर्धनका लागि अहिले पनि उत्तिकै कहालीलाग्दो रोग हो । नेपाली परिवेशमा मात्र नभई तीव्र समृद्धितिर लम्किएको चीनजस्तो मुलुकमा समेत क्यान्सरको उपचार–खर्चले सताउने गरेको एउटा रोचक उदाहरण फेलापरेको छ । चीनको युनान प्रान्तनिवासी ब्रोक जिया बिन्हुई नामक ती २५ वर्षीय युवकले उपचारका लागि आवश्यक रकम अभावका कारण क्यान्सरविरुद्ध लड्ने गजबको उपाय अवलम्बन गरेका छन् । ४२ डिग्री सेल्सियसभन्दा बढ्ता तापमानले क्यान्सरका कोशिकाहरूलाई नष्ट गर्छ भन्ने बुझाइमा परेका बिन्हुईले आफ्नै घरमा खास किसिमको व्यवस्था गरी शरीर तताउने गरेका छन् । दुई वर्षअघि आफूलाई ब्लड क्यान्सरले गाँजेको थाहा पाएपछि उपचारार्थ सुरुमा अस्पताल गए पनि पानीसरह पैसा बग्न थालेपछि उनी हच्किएका थिए । त्यसपछि उनले तल आगो बालेर माथितिर आफू लमतन्न पसारिँदै शरीर तताउने ‘उपचार प्रक्रिया’ अवलम्बन गर्न थालेका हुन् । उनको यस्तो घरेलु विधिबाट क्यान्सर भाग्छ या भाग्दैन हेर्न बाँकी नै छ, तर बिन्हुईको यस कदमलाई रमाइलो मानेर चर्चा गर्नेहरू भने दिनदिनै बढिरहेका छन् ।