व्यास नगरपालिकाको आय एक अर्ब २० करोड

व्यास नगरपालिकाको आय एक अर्ब २० करोड


तनहुँको व्यास नगरपालिकाले चालू आर्थिक वर्ष ०७५–७६ का लागि एक अर्ब २० करोड दुई लाख ८५ हजार रुपैयाँको संशोधित आय प्रस्तुत गरेको छ ।

सोमबारदेखि शुरु भएको चौथो नगरसभाको अवसरमा नगरपालिकाकी उपप्रमुख मीरा जोशीले संशोधित बजेट, नीति तथा कार्यक्रम प्रस्तुत गरिन् । चालू आवका लागि कुल एक अर्ब १२ करोड २४ लाख ३४ हजारको आय अनुमान गरिएकोमा माघ २६ गतेसम्म रु. ६० करोड ४९ लाख २६ हजार ५ सय यथार्थ आय हुन आएको नगर उपप्रमुख जोशीले जानकारी गराइन् । आन्तरिक स्रोततर्फ रु. १४ करोड ११ लाख अनुमान गरिएकोमा माघ २५ गतेसम्म रु. सात करोड ६५ लाख ७९ हजार यथार्थ आम्दानी हुन आएको छ भने बाह्य तथा अन्य आयमा रु. ९८ करोड १३ लाख ३४ हजार अनुमान गरिएकामा रु. ५२ करोड ८३ लाख ४७ हजार ५ सय यथार्थ आय हुन आएको छ ।

हालसम्म हासिल गरिएको प्रगतिलाई दृष्टिगत गरी आन्तरिक स्रोततर्फ विभिन्न शीर्षकमा साबिकको आय अनुमानमा रु. ४१ लाख ८८ हजार थप आय हुने गरी कुल आन्तरिक आय रु. १४ करोड ५२ लाख ८८ हजार हुने गरी संशोधित आय अनुमान कायम गरिएको जोशीले बताइन् । बाह्य र अन्य आयतर्फ विभिन्न निकायबाट प्राप्त हुने गरी रु. सात करोड ३६ लाख ६३ हजार थप आय तथा कुल बाह्य र अन्य आय रु. एक अर्ब पाँच करोड ४९ लाख ९७ हजार गरी आन्तरिक, बाह्य र अन्य आयसमेत गरी कुल रु. एक अर्ब २० करोड दुई लाख ८५ हजारको संशोधित आय अनुमान कायम गरिएको छ ।

चालू आवका लागि तेस्रो नगरसभाबाट चालू खर्च र पुँजीगत खर्चतर्फ रु. एक अर्ब १२ करोड २४ लाख ३४ हजार विनियोजन गरिएकामा सोमध्ये चालू खर्चतर्फ रु. ६४ करोड ७५ लाख १४ हजार अनुमान गरिएकोमा माघ २५ गतेसम्म रु. ३७ करोड २० लाख ६६ हजार यथार्थ आय हुन आएको छ । पुँजीगत खर्चतर्फ रु. ४७ करोड ४९ लाख १९ हजार विनियोजन गरिएकोमा माघ २५ गतेसम्म रु. १० करोड ७९ लाख ५६ हजार खर्च भएको छ । चालू खर्च र पुँजीगत खर्चसमेत गरी कुल रु. ४८ करोड २२ हजार यथार्थ खर्च हुन आएको छ ।

चालू आवको हालसम्मको प्रगति र बाँकी अवधिको सम्भावित खर्चलाई दृष्टिगत गर्दा चालू खर्चतर्फ विभिन्न शीर्षकमा साबिकको व्यय अनुमानमा रु. पाँच करोड ७६ लाख २४ हजार थप व्यय गर्ने गरी कुल चालू खर्च रु. ७० करोड ५१ लाख ३८ हजारको अनुमान गरिएको छ । पुँजीगत खर्चतर्फ विभिन्न शीर्षकमा खर्च हुने गरी साबिकको व्यय अनुमानमा रु. दुई करोड दुई लाख २७ हजार थप गर्ने गरी कुल व्यय अनुमान रु. ४९ करोड ५१ लाख ४६ हजारको संशोधित विनियोजन कायम गरिएको छ ।

कृष्ण न्यौपाने (रासस)