फोहोर प्लास्टिक १५ रुपैयाँ प्रतिकेजी किन्दै इलाम नगरपालिका

फोहोर प्लास्टिक १५ रुपैयाँ प्रतिकेजी किन्दै इलाम नगरपालिका


इलाम नगरपालिकाले प्रयोग भइसकेका फोहोर प्लास्टिक खरिद गर्न थालेको छ ।

वातावरण स्वच्छता कायम गर्नका लागि प्लास्टिकजन्य फोहोर खरिद गर्न थालेको नगरपालिकाले जनाएको छ । गत माघ १ गतेबाट प्रतिकिलो रु. १५ का दरले प्लास्टिकजन्य फोहोर खरिद गर्ने व्यवस्था गरिएको इलाम नगरपालिकाका प्रमुख महेश बस्नेतले बताए ।

प्लास्टिक खरिद गर्न माघ एक गतेबाट शुरु गरिएको भए पनि अहिलेसम्म प्लास्टिकजन्य फोहोर बेच्नका लागि कोही पनि नआएको नगरपालिकाले जनाएको छ ।

नगरपालिकाले खरिद गरेको फोहोर स्टोर गरिने र यसलाई प्रशोधन गरेर पेट्रोलियम पदार्थ वा सडक पक्की गर्नमा प्रयोग गरिने अलकत्र बनाउने योजना नगरपालिकाको छ

फोहोर प्लास्टिक किन्नका लागि नगरपालिकाले तुरुन्तै ठाउँ तोक्ने र प्रसारप्रचारलाई अगाडि बढाउने बताइएको छ । इलाम नगरपालिकाले ०६७ देखि पोलिथिनको झोलामा भने प्रतिबन्ध लगाएको छ । पोलिथिन झोला भने नगरपालिकाले किन्दैन । खानेपानीको बोतल, खाद्यवस्तुको प्याकेजिङमा भएको प्लास्टिकलगायतका प्यास्टिकजन्य फोहोर खरिद गर्ने भएको हो ।

इलाम नगरपालिकामा दैनिक सात टन फोहोर उत्पादन हुने गरेको एक अध्ययनले देखाएको छ । तीमध्ये करिब १० प्रतिशत प्लास्टिजन्य फोहोर हुने गरेको नगर प्रमुख बस्नेतको भनाइ छ । नगरपालिकाले खरिद गरेको फोहोर स्टोर गरिने र यसलाई प्रशोधन गरेर पेट्रोलियम पदार्थ वा सडक पक्की गर्नमा प्रयोग गरिने अलकत्र बनाउने योजना नगरपालिकाको छ ।

सिसाजन्य फोहरमा भने प्रतिबन्ध लगाउने नगरपालिकाको तयारी छ । हाल नगरपालिकाले महीनाको दुई दिनमात्रै सिसाजन्य फोहर सङ्कलन गर्ने गरेको छ ।