मृत्युको ऐनामा जीवनको आकृति – मणि लोहनी

मृत्युको ऐनामा जीवनको आकृति – मणि लोहनी


Mani Lohani६१ सालमा छापियो ‘मलामी साँझ’ ।
दशवर्षे माओवादी युद्ध र मुलुकमा विद्यमान हत्याहिंसाबाट आक्रान्त भएको अवस्थामा लेखिएको कविताहरूको सङ्ग्रह हो– मलामी साँझ । किताबको नाम ‘मलामी साँझ’ राख्नुमा कुनै ठूलो योजना र तयारी थिएन । र मृत्युको चिन्तनमा कविता लेख्छु भन्ने पनि थिएन । लेख्दै जाँदा धेरै कविता मृत्युसम्बन्धी भए । अनि किताबको नाम राखियो ‘मलामी साँझ’ । मृत्युसम्बन्धी कविताहरू ज्यादा भएको त्यस किताबको नाम ‘मलामी साँझ’ राखिनु एउटा संयोग थियो ।
त्यसो त मृत्युप्रति मेरो भिन्न आशक्ति छ । केही सत्य छ भने त्यो मृत्यु मात्र हो । किशोरकालमा पढेको रजनिशको ‘मै मृत्यु शिखाता हुँ’ होस् या २५ वर्षतिर आएर पढेको ‘द लाइट अफ द डेथ’ होस्, यी सबैले मृत्युप्रति मेरो मोह बढायो । कवि लोकेन्द्र शाहको ‘करङको हिरासत’ पढेपछि मलाई मृत्युको माध्यमबाट जीवनलाई अभिव्यक्त गर्न सकिँदो रहेछ भन्ने लाग्यो र मलामी साँझ लेखेँ । मृत्युसम्बन्धी कविताहरू लेखेको महिना दिन नबित्दै कवि लोकेन्द्र शाह मारिए । चालीस नपुगेका ती कलिला कविले सडक दुर्घटनामा आफ्नो मृत्यु भएको कविता लेखेका थिए र लगत्तै सडक दुर्घटनामा नै मारिए पनि ।
भर्खरै मैले ‘मृत्युको अघिल्तिर’ भन्ने कविता लेखेँ
‘लाग्छ कविता लेखेकै कारण मारिनेछु म
प्रेम गरेकै कारण रोकिनेछ मुटुको चाल
सोच्नु काफी छ,
यस्तै केही सोच्दासोच्दै एक दिन मारिनेछु म
जसरी मारिन्छन् मानिसहरू ।’

कवि लोकेन्द्र शाहकी दिदी कथाकार इन्दिरा शाहले मलाई भनिन्, ‘मणिजी, यस्ता कविता नलेख्नु है, मलाई डर लाग्छ ।’
मृत्युसम्बन्धी लेख्दा डर हैन…. रोमाञ्चक अनुभूति प्राप्त हुन्छ मलाई । ‘मृत्यु अन्त्य हो कि शाश्वत सत्य, कोही मलाई बताइदेऊ ।’ यो उत्सुकताले नै हुनुपर्छ मलाई मृत्युसम्बन्धी रचनाहरूले आकर्षित गरेको ।

अहिले कथाकार सुमन सौरभको ‘मृत्युसङ्ग्रह’ पढिरहँदा म रोमाञ्चित बनेको छु । मृत्युलाई जीवनजस्तै गरी केस्राकेस्रा केलाउन पनि सकिँदोरहेछ । मृत्युप्रतिको आकर्षणले जीवनप्रति जिम्मेवार बनाउँदो रहेछ । मान्छेले देखेको यो संसारमा जीवको मात्रै मृत्यु हुँदैन, पूरा गर्न नसकेका व्यक्तिका सपनाहरूको पनि मृत्यु हुन्छ । जिउन नजानेर मानिसका सम्बन्धहरूको पनि मृत्यु हुन्छ । बङग्याउने अभीष्टमा इतिहासको पनि मृत्यु हुन्छ । मानिसले आफ्नो अनुकूलतामा जो कसैको पनि मृत्युको घोषणा गरिदिन्छ । जोकोहीलाई पनि मृत्युउन्मुख बनाइदिन्छ । तर जति कोसिस गरे पनि मानिसले मृत्यु स्वयम्लाई भने मृत घोषित गर्न सकेन । र सदियौँदेखि यो जगत्मा मृत्यु निर्भयका साथ बाँचिरहेछ । मृत्युको यही बचाइप्रति व्यङ्ग्य गर्दै लेखिएका कथाहरूको सङ्ग्रह हो– ‘मृत्युसङ्ग्रह’ ।
‘मृत्युसङ्ग्रह’ ४८ वटा मसिना कथाहरूको सङ्ग्रह हो । यहाँ मृत्यु चिन्तन र मृत्यु दर्शनका कथाहरू छैनन्, मृत्युको ऐनामा जीवनबोधका कथाहरू छन् । यहाँ सुमनले मृत्युलाई जीवन दिएका छन् । मृत्युलाई पात्र बनाएका छन् । मृत्युलाई घटना बनाएका छन् । मृत्युलाई सन्दर्भ बनाएका छन् । मृत्युलाई अनेक परिदृश्यमा खडा गरेर जीवन गीत गाएका छन् । जीवनको कठघरामा मृत्युलाई उभ्याएका छन् । र मृत्यु डराएर, आत्तिएर, काँपेर जीवनका प्रश्नहरूको जवाफ दिइरहेको भेटिन्छ सुमनका कथामा ।
‘मृत्युसङ्ग्रह’मा मृत्युको उछित्तो काडिएको छ । मृत्युलाई मानवेत्तर रूपमा डरपोक देखाइएको छ । र, मानिसलाई मृत्युको ऐनामा जीवनको वास्तविकता प्रस्ट्याइएको छ । कथामा सुमनले कुनै वाद, धर्म वा दर्शनको शरण लिएका छैनन् । यो उनको निरन्तरको साहित्यिक कर्म हो । जीवनसँग जोडिएको साहित्यिक कर्म । सुमनले माध्यम बनाएका छन् मृत्युलाई । मृत्युको सहयोगमा उनले जीवनलाई बुनेका छन् । जीवनलाई चुनेका छन् । मानिसको जीजीविषालाई डोहो¥याएका छन् ।
सुमनको यो किताबमा मृत्युको मेटाफिजिक्स भेटिन्छ । कतै मृत्युको अन्टोलोजी त कतै मृत्युको लजिक भेटिन्छ । हो, मृत्युको एथिक्स पनि यहीँभित्र छ । सुमनले आफ्नो लेखकीयमा निकै मन छुुने कुरा लेखेका छन्, ‘मान्छेको मन र मृत्यु उस्तै–उस्तै हुन्छन्, जति बुझे पनि रहस्य बाँकी नै रहन्छ । दुवै उस्तै चञ्चल हुन्छन्, एक–अर्कालाई झुक्याइरहन्छन् । दुवैको एक–अर्कालाई मात दिने बानी पनि उस्तै–उस्तै हुन्छ ।’
हो, सुमनको लेखकीयझैँ मननयोग्य छन् उनका अधिकांश कथा । उनी कथामा जीवनसापेक्ष र समयसापेक्ष अभिव्यक्ति दिन माहिर छन् । उनलाई लाग्दैन कि जीवनभन्दा पर गएर लेख्नुको कुनै तुक छ । यही समाजमा विद्यमान विसङ्गतिहरूलाई जोडेर यथार्थको प्रकटीकरणमा उनी पोख्त छन् । उनका कथाहरू पढिरहँदा यो समय र समाजलाई मात्र होइन यो समय र समाजमा बाँचिरहेका मानिसको मनोदशा पनि पढ्न पाइन्छ ।
‘मृत्युसङ्ग्रह’भित्र एकसेएक कथाहरू छन् । सुझबुझ भन्ने एउटा शक्तिशाली कथा छ । महाराजको मृत्युपछि महाराजसँग जोडिएका अधिकांश चिज र वस्तुहरू महाराजसँगै चिहानमा गाडिन्छ । एकाएक गर्दै महाराजका सर्वाधिक प्रिय वस्तुहरू र प्रियजनहरू महाराजका वरिपरि थुपारिए र निर्ममतापूर्वक महाराजसँगै गाडिए । जनतालाई एउटा कुरा बुझेर पनि बुझ्न मन लागेन, सर्वाधिकभन्दा पनि सर्वाधिक मनपर्ने सिंहासन, श्रीपेच र राजदण्डचाहिँ किन चिहानबाहिरै छोडियो ?
निकै शक्तिशाली वाक्यांशमा गएर कथा टुङ्गिएको छ– जनतालाई एउटा कुरा बुझेर पनि बुझ्न मन लागेन, सर्वाधिकभन्दा पनि सर्वाधिक मनपर्ने सिंहासन, श्रीपेच र राजदण्डचाहिँ किन चिहानबाहिरै छोडियो ?
हो, सुमनको लेखनको विशिष्टता र शक्तिशाली पक्ष नै यही हो ।
सुमन नेपाली लघुकथाको क्षेत्रमा स्थापित र अनन्तसम्म नेपाली लघुकथालाई पढ्न लायक बनाउन उद्यत् कथाकार हो । म उनको यो क्षमताको अन्धो प्रशंसक ।
विनय कसजु, गोरखबहादुर सिंह, किशोर पहाडी, श्रीओम श्रेष्ठ रोदनको हारमा हार मिलाएर उभिन सक्षम सुमन सौरभको लेखनको मात्र होइन व्यक्तित्वको पनि म फ्यान हुँ । सफलताको कामना गर्दछु ।