मृत्युको अघिल्तिर उभिएर ….– मणि लोहनी

मृत्युको अघिल्तिर उभिएर ….– मणि लोहनी


Mani Lohaniबिहानको सवा एघार बजेको हुनुपर्छ ।
हामी चारैजना खाना खान बस्यौँ । आरुष उसैकी आमाको काखमा थियो । झगडा गरिरहेको थियो । आरुष रोइरहेकाले अरुणालाई खाना खान असहज भइरहेको थियो । तर, छोरोले दिएको दुःखलाई आमाहरूले कहाँ दुःख मान्छन् र ? उनी आरुषलाई आफूले खाँदै गरेको खानाको गाँस खुवाउँदै थिइन् । आरुष कहिले खान्थ्यो र मुस्कुराउँथ्यो । कहिले खाँदैनथ्यो र रुन थाल्थ्यो । मैले छिटोछिटो खाना खाएँ र आरुषलाई लिएर अर्को कोठामा गएँ । ओछ्यानमा पल्टिएर आरुष र म खेल्न थाल्यौँ ।
आठ महिनाको आरुष र चालीस कटेको म ।
संवादका लागि हामीबीच शब्द थिएन । इशारा र हाउभाउ नै काफी थियो । उसको अनुहारमा पटकपटक झल्किने निस्वार्थ मुस्कानले मलाई जीवनको नजिक लगिरहेथ्यो । जीवनको शाश्वत सत्यको नजिक । आरुषको जीवनमय अँगालोमा म झुलिरहेथेँ । जीवनको सुन्दरतम् यो मुस्कान र उसको अबोध हाउभाउमा म प्रसन्न र ध्यानमय बन्दै गइरहेको थिएँ । ध्यान भनेको एकाकार हुँदै जानु हो । हराउँदै र विलीन हुँदै जानु हो । आफू भित्रभित्रै गहिरिँदै, मिहिन हुँदै विलीन हुनु हो । हो, आरुषसँगको यो क्षण म ध्यानमय बनिरहेथँे ।
अचानक ढकढक आवाज आयो, त्यसपछिका घटना सम्झन पनि गाह्रो । …..एक्कासि हल्लियो पलङ ।
कोठाका भित्ताहरू हल्लिए । भित्तामा टाँसिएको एलईडी खस्लाजस्तो भयो । मैले हतारहतार आरुषलाई बोकँे । र भान्छाकोठातिर दौडिएँ । सविता, अरुणा र भोजराजजी खाना खाँदै थिए । उनीहरू जुरुक्क उठेर भाग्न खोजे । ढोकामा उभिएर मैले उनीहरूलाई रोकँे । भाग्न हुँदैन भनँे । कहाँ के भयो कुनै पत्तो थिएन । तर, यो भुइँचालो हो भन्ने थाहा भइसकेको थियो । एक हातले बोकिरहेको आरुषलाई च्यापँे र अर्को हातले ढोकामा जोडले समाएँ । सविता मेरो छातीमा टाँसिएर रुन थालिन् । उनले मलाई कसेर समातेकी थिइन् । हामी घरको माथ्लो तलामा थियौँ । पूरै घर ढल्लाझैँ गरी हल्लिरहेको थियो । बाहिर भाग्न सक्ने अवस्था नरहेकाले भान्छाकोठाको ढोका मुन्तिर ओत लागेर उभियौँ । सविताको यो अवस्थामा बस्न हुँदैन भन्ने लाग्यो । जीवनमरणको दोसाँधमा सङ्घर्ष गरिरहेको महसुस भइरहेको थियो । कम्पन बढ्दै गइरहेको थियो । घर, घर होइन, लामो झोलुङ्गेपुल हल्लेजस्तो भयो । छरछिमेकबाट चीत्कारको आवाज आइरहेको थियो, धर्ती पिङ खेलिरहेको थियो । अरुणा रुन थालिन्् । आमा रोएको देखेर आठमहिने आरुष पनि रुन थाल्यो । तिवारीजी र सविता चिच्याउन थाले । के भयो र कसो भयो भन्न सकिने अवस्था नै रहेन । मैले सवितालाई ग्यासको रेगुलेटर बन्द गर्न भनँे । उनले बन्द गर्ने कोसिस गरिन् । हल्लिरहेको भएर उनको हात रेगुलेटरमा पुग्न सकिरहेको थिएन । बल्लबल्ल उनले रेगुलेटर बन्द गरिन् ।
‘मर्ने भइयो भिनाजु ।’ भन्दै अरुणा रुन थालिन् । लड्लालड्लाझैँको अवस्थामा मैले उनलाई नरुन भनँे । उनी मलाई समाउँदै झन् चिच्याएर रुन थालिन् । भान्छाको -याकमा राखिएका भाँडाकुँडा र सामानहरू खस्न थाले । दूध र पानी पोखियो । -याकमाथिबाट मिक्चर खस्न लाग्यो । स्थिति थप तनावग्रस्त र त्रासदीपूर्ण बन्यो । मलाई पनि लाग्यो कि अब मरिन्छ । घर ढलेर नै मर्ने भइयो । मलाई आठमहिने आरुष र सविताको पेटमा हुर्कंदै गरेको बच्चाको माया लागेर आयो । यिनीहरू पनि बिनासित्ति मर्ने भए भनेझँै लाग्यो । के दोष थियो यी बालकको ? जन्मेर जीवन पूरै देख्न नपाएको आरुष र जन्मनै बाँकी सविताभित्र हुर्किंदै गरेको बालकको मायाले मलाई रन्थन्यायो । भूकम्पको कम्पनभन्दा डरलाग्दो गरी यिनीहरूको जीवनले सतायो मलाई ।
त्यत्तिकैमा मच्चिरहेको घर केही शान्त भयो । हामी हतारहतार भ-याङ ओर्लिएर तर बारीमा निक्लियौँ । हामीभन्दा पहिले नै पूरै टोलबासी मकैबारीमा आइसकेका रहेछन् ।
म बाहिर निस्कँदा घरको मूलगेटमा एकजना महिला बेहोस भएर ढलेकी थिइन् । सबै दौडिरहेका थिए । भर्खर जन्मेको बच्चा बोकेर मान्छे सडकमा ओर्लिएका थिए । कोही हात जोडेर ईश्वर पुकारिरहेका थिए । त्यो पुकार कसले सुन्ने ? भूकम्पले धर्ती खलबल्याउनु बहादुरी ठानिरहेको थियो । सडकमा निस्कँदा बाटोभरि मोटरसाइकल पल्टिएका थिए । धर्ती हल्लिने क्रम जारी थियो । कसैको होस ठीक ठाउँमा थिएन, सबैको हातमा मोबाइल थियो । सबैले आफन्तलाई फोन गरिरहेका थिए । तर, फोन लागिरहेको थिएन ।
शनिबार मेरो बिदा । धन्य घरै थिएँ । सविताको माया लागेर आयो । धन्य म यिनीसँगै थिएँ भन्ने लाग्यो । उनको अनुहार हेर्छु, बाघको मुखबाट फुत्किएको बाख्राको जस्तो थियो । उनी बोल्न सकिरहेकी थिइनन् । मैले सम्झाउने कोसिस गरेँ, ‘अब यो धेरै समय चल्दैन, रोकिन्छ ।’
तर, धर्ती हल्लिने क्रम रोकिएको थिएन ।
हामी बसिरहेको बारीमा पुगेर चारैतिर हेर्दा म स्तब्ध भएँ । एक महिनाको शिशु बोकेका सुत्केरीदेखि वृद्धसम्म घर छाडेर ज्यान जोगाउन मकैबारीमा ओइरिएका थिए । लाग्यो, कति क्रृर हुन्छ, प्रकृतिको लीला । त्यही प्रकृतिले मान्छेलाई पृथ्वीमा अवतरण गराउँछ, अनि चाहेको बेला टिपेर लैजान्छ ।
केही मिनेटमै हामी उभिएको मकैबारी अस्थायी शिविरमा परिणत भयो । धरहरा ढलेको, भक्तपुर र वसन्तपुर दरबार क्षेत्र तहसनहस भएको, सडक र भवनहरूमा चिरा परेको, विमानस्थल बन्द भएको, पहिरो गएर राजमार्ग अवरुद्ध हुन पुगेका खबरहरू आइरहेकाले सबैमा डर बढ्दै थियो ।
मकैबारीमा पनि धर्ती हल्लिने क्रम रोकिएन । फेरि, फेरि र फेरि पनि हल्लिरह्यो धर्ती । अघिको भन्दा केही आत्मविश्वास बढेको थियो मरिँदैन भन्ने । मर्ने भएअघि घरमा नै मरिन्थ्यो । सविता, अरुणा र भोजराजजीलाई नडराउन आग्रह गरेँ । उनीहरूको डर पनि कम भइसकेको थियो । तल आएपछि बाबालाई फोन गरेँ । लागेन । दाइहरूसँग सम्पर्क गर्न खोजँे । त्यो पनि भएन ।
मैले काम गर्ने न्युज २४ टेलिभिजनमा फोन गरेँ । अफिस तनावग्रस्त भएको रहेछ । एमसीआर र एडिटिङमा क्षति पुगेको रहेछ । अफिसको भवनभित्र उक्लिने सक्ने अवस्था रहेनछ । अफिस परिसरमा नै स्टुडियो सञ्चालन गर्ने तयारी भइरहेको रहेछ । पछि बाबासँग फोनमा कुरा भयो । ‘मलाई केही भएको छैन नआत्तिऊ, तिमीले सविताको ख्याल गर,’ बाबाले भन्नुभयो । सविताले पनि आफ्ना दिदी, बहिनी, दाइभाइ र गाउँमा रहेका बाबाआमासँग सम्पर्क गरी ।
‘कतै केही भएको रहेनछ ।’ सविता केही ढुक्क देखिई ।
‘हो, नआत्तेऊ, केही बिग्रिएको छैन । सबै सकुशल छन्,’ मैले उनलाई थप ढाडस दिएँ । उनलाई डर दिएर अत्याउनु थिएन । उनको अवस्था नै यस्तै थियो । बिग्रिन त सबथोक बिग्रिसकेको थियो । पूरै देश तहसनहस भएको थियो । हाम्रो आफ्नो स्वाभिमानझैँ ठडिएको धरहरा ढलिसकेको थियो । हाम्रो आफ्नो पहिचानजस्ता सम्पदाहरू खण्डहर बनिसकेका थिए । हजारौँ मानिस मरिसकेका थिए । राज्य गहिरो दुःख र शोकमा थियो । र पनि मैले सवितालाई दुःख नदिनका लागि भनेँ, ‘हो, नआत्तेऊ, केही बिग्रिएको छैन । सबै सकुशल छन् ।’