बेलायती विद्यार्थीका कमाउने काइदा

बेलायती विद्यार्थीका कमाउने काइदा


ramailo-ghamailo2बेलायतका २० प्रतिशतभन्दा बढी छात्रले आफू सेक्स वर्करको रूपमा प्रस्तुत हुन चाहेको एक अध्ययनले देखाएको छ । बेलायतको स्वाँसी युनिभर्सिटीद्वारा गरिएको रिसर्चअनुसार करिब पाँच प्रतिशत छात्रा त पहिलेदेखि नै यौन व्यवसायमा संलग्न रहेको र छात्राको तुलनामा छात्रहरू यौन पेसातर्फ बढी आकर्षित रहेको पनि एसियन लाइटले प्रकाशन गरेको छ । सेक्स वर्करअन्तर्गत स्ट्रिपिङ (नाच्दानाच्दै कपडा खोल्दै जाने) गर्ने, फोनमा उत्तेजक कुराकानी गर्ने, कामुक नृत्य तथा यौनाचार गर्नेलगायतका व्यवहार पर्छन् । यसको अलावा कसैको सम्पर्कमा नआईकन वेभक्याम तथा ग्लामर मोडलिङमार्फत पनि छात्रछात्राले कमाइ गर्न इच्छुक रहेको अध्ययनले देखाएको छ । बेलायतका विभिन्न क्षेत्रका ६ हजार सात सय पचास विद्यार्थीमा गरिएको अनलाइन सर्भेले आर्थिक अभावकै कारण उनीहरू सेक्सवर्कर बन्न लालायित बन्ने गरेको देखाएको छ । प्रतिवर्ष नौ हजार पाउण्ड शुल्क बुझाउनुपर्ने बाध्यताका कारण छात्रछात्राले यौन पेसालाई कमाइको वैकल्पिक उपाय बनाएका हुन् । कमाइको सजिलो उपाय हुनुका साथै यसबाट व्यक्तिगत आनन्द या यौन सुख पनि प्राप्त हुने भएकाले पनि देह–कारोबारमा विद्यार्थी लहसिन थालेका उक्त अध्ययनको निचोड छ ।

६५ को उमेरमा चार बच्चाको तयारी
पेसाले शिक्षिका जर्मन महिला एनग्रेट रोनिक उमेरले ६५ पुगिन् । हाम्रोजस्तो समाजमा जीवनकै उत्तराद्र्ध मानिने र नातिनातिना खेलाएर दिन काट्ने यस उमेरमा एनग्रेट भने आफैँ सन्तान जन्माउने सुरसार गर्दै छिन् । २५ हप्ताको गर्भ लिएर डेलिभरीको प्रतीक्षा गरिरहेकी एनग्रेटको गर्भमा एक साथ चारवटा बच्चा हुर्किरहेको हुँदा यी वृद्धाको गर्भ विशेष चर्चाको विषय बनेको छ । बाँकी तीन महिनाको अवधि ठीकठाक गुज्रिएमा उनी एक साथ चार बच्चालाई जन्म दिने संसारकै सबभन्दा ज्यादा उमेरकी महिला बन्नेछिन् । जुम्ल्याहा बच्चा जन्माएको आधारमा चाहिँ स्पेनकी मारिया डेल कार्मेन बाउसाडा लारा नामक महिला विश्वकै सबभन्दा वृद्ध महिला ठहरिएकी छिन् । उनले सन् २००६ मा ६६ वर्षको उमेरमा दुई सन्तानलाई जन्म दिएकी थिइन् । चार बच्चा एकसाथ जन्माउने तयारी गरिरहेकी एनग्रेट रोनिकको भने दश वर्षअघि जन्मिएकी कान्छी छोरीसमेत हाल १३ छोराछोरी रहेका छन् ।

अदालतमा अपराधीको अचम्मको तर्क
किसिम–किसिमका निर्दयी पात्रहरूका बारेमा हामीले बेलाबेलामा पढ्द–सुन्दैै आएका छौँ । यस्तै एक घोर निर्दयी पात्र अमेरिकाको इन्डियाना राज्यको जेफर्सनविलेमा फेला परेको छ । जोसेफ ओबर्हेन्स्ले नामक ३४ वर्षीय ती निर्दयीले आफ्नी गर्लफ्रेन्डको निवासमा छिरेर सुरुमा बलात्कार ग-यो, त्यसपछि निरपराध उनको बित्थैमा हत्या मात्र नगरी कठोर हृदयको जोसेफले इलेक्ट्रिोनिक करौँतीले खोपडी चिरेर प्रेमिकाको गिदीसमेत एकै गाँसमा निल्यो । मुटु र कलेजो पनि बाँकी नराखेको बयान ढुक्कैले दिएका ती निर्दयी पात्रलाई अदालतले बलात्कार, हत्या एवम् अर्काको निवासमा चोरझैँ घुसेकोजस्ता अभियोगमा सजाय सुनाउँदा उसले अदालती फैसलाप्रति आपत्ति जनायो । आफूले पूर्वप्रेमिकाको हत्या गरेर शरीरका अङ्गहरू खाएको, तर बलात्कार भने नगरेको जिकिर गर्दै उसले अचम्मलाग्दो अभिव्यक्ति दियो, ‘म त्यति गिरेको मानिस होइन, जो एक्स गर्लफ्रेन्डलाई रेप गर्न अग्रसर होओस् !’

उम्मेदवार बन्न नपाउँदा सुलीमा
चुनावमा उम्मेदवार बन्नबाट वञ्चित गरेको भन्दै विरोधस्वरूप आफूलाई सुली (क्रस)मा चढाएर रफेला ओरजोको रोमो नामक महिला एकाएक चर्चामा आएकी छिन् । घटना मेक्सिकोको हो । चुनावमा स्वतन्त्र उम्मेदवारको रूपमा आफूलाई खडा गरेकी रफेलासँग चुनाव आयोगले चुनावी खर्च विवरण पारदर्शी तुल्याउन आदेश दिएको थियो । खर्चको स्रोत खुलाउन नसकेपछि उनलाई उम्मेदवारी दिनबाट रोक के लगाइएको थियो, तत्काल आफूलाई बीस फिट अग्लो काठको क्रसमा टाँगेर उनले विद्रोहको अनौठो रूप देखाइहालिन् । यसरी सुलीमा चढेर विरोध प्रदर्शन गर्न कुनै अवरोध नपु-याए पनि त्यहाँको सरकारले हरेक पन्ध्र मिनेटमा रफेलाको ब्लड प्रेसर नाप्न चिकित्सकको एक टोली नै खटाएको थियो ।

रुनका लागि पनि होटल
होटल भन्नेबित्तिकै सामान्यतया आराम र मनोरञ्जनको विशेष व्यवस्था भएको थलोको रूपमा बुझ्ने गरिन्छ । तर, यो अवधारणा तोड्दै जापानको एक होटलले आफूलाई बेग्लै विशेषताले चिनाएको छ । मनभित्र गुम्सिएर रहेका अनेक वेथा–वेदनालाई डाँको छोडेर या सुँक्क–सुँक्क रुँदै आफूलाई हलुका तुल्याउन चाहने महिलाका निम्ति टोकियोस्थित मित्सुई गार्डेन योत्सुया नामक होटलमा क्राइङ रुम (रुने कोठा)को व्यवस्था गरिएको छ । रुवाएर महिलालाई तनावबाट मुक्त तुल्याउन होटलमा भावुक किसिमका फिल्म, आई मास्क, विशेष प्रकारको टिस्युपेपरलगायतका सामग्रीको बन्दोबस्त गरिएको छ भने त्यसरी रोएर मन हल्का गरेबापत एक रातको ८३ डलर चुक्ता गर्नुपर्ने हुन्छ ।