रङ्ग–विरङ्ग

रङ्ग–विरङ्ग


ramailo-ghamailo2रेस्टुरेन्टमा मान्छेको मासु
रेस्टुरेन्टमा विभिन्न घरपालुवा वा जङ्गली जीवजन्तु–जनावरको मासुलाई परिकारका रूपमा पस्किने कुरा सामान्य हो, तर कुनै रेस्टुरेन्टमा मान्छेकै मासुसमेत ग्राहकलाई झुक्याएर खुवाइन्छ भने त्यसलाई कस्तो कारबाही गर्ने ? स्थानीय रूपमा निकै चल्तीमा रहेको नाइजेरियाको दक्षिण–पूर्वी प्रान्त अनमबरास्थित एक रेस्टुरेन्टमा ग्राहकलाई धमाधम मान्छेको मासुलाई परिकारको रूपमा पस्किने गरिएको पाइएपछि त्यहाँको प्रहरी प्रशासन नै विलखबन्दमा परेको छ । सुरुमा एक पादरीले उक्त रेस्टुरेन्टमा मान्छेको मासु बेच्ने गरिएको आशङ्का गरेका थिए । मासुको परिकार खाएर बिल तिर्ने बेला आफूले सोचेभन्दा निकै सस्तो बिल आएपछि पादरीले त्यसबारे जिज्ञासा राखेका थिए । जवाफमा सम्बद्ध कर्मचारीले प्लेटमा मासुका कम टुक्रा परेकाले सस्तो मूल्य लिएको भन्दै अटपटे जवाफ दिएपछि पादरीको शङ्का गहिरियो । उनले प्रहरीलाई खबर गरे, प्रहरीले रेस्टुरेन्टमा छापा मार्दा मानिसका खप्परहरू फेला पा-यो । यति मात्र नभई ग्रेनेडलगायतका विभिन्न हतियारसमेत त्यहाँबाट बरामद भएको थियो । स्थानीयवासीले उक्त रेस्टुरेन्टमा रहस्यमयी गतिविधि हुने गरेको बयान दिएपछि प्रहरी थप चनाखो भई अनुसन्धानमा जुटेको थियो । यतिबेला सो रेस्टुरेन्ट बन्द गराइएको भए पनि त्यो स्तरको धृष्टता गर्ने सम्बद्ध पात्रलाई कस्तो कारबाही गर्ने भन्नेमा प्रशासन अन्योलमा परेको छ ।

भालेको संसर्गबिना अण्डा
तीन वर्षदेखि पिँजडामा एक्लै रहेकी एक पोथी सुगाले भालेको सम्पर्कबिना नै अण्डा दिएपछि भारत उत्तरप्रदेशमा तमासेहरूको भीड लागेको छ । सुनचाँदीको व्यापार गर्ने प्रेमचन्द रस्तोगी नामक व्यवसायीको घरमा पालेको उक्त सुगाले सात दिनभित्रमा दिन बिराएर तीनवटा अण्डा पारेको विषयलाई ईश्वरको लीलाकै रूपमा हेरिएको छ । तीन वर्षअघिदेखि घरको बन्द कोठामा पिँजरामा कैद गरेर पालिएको सुगाले अचानक अण्डा परेपछि रस्तोगी परिवारले सो सुगा पोथी जातको रहेको जानकारी पाएको थियो । यतिबेला रस्तोगी परिवारका चार सदस्य मिट्ठु नाम दिइएको उक्त सुगा हेर्न आउनेहरूलाई उसको चमत्कारबारे बताउनमै व्यस्त रहन थालेका छन् ।

माटो खाएर सय काट्ने दाउ
बामे सर्ने बच्चाले अबोधपनको वशमा परेर यदाकदा माटो खाएको देख्दा हामी अत्तालिन्छौँ । तर, कुनै व्यक्ति असी वर्षदेखि दिनहुँ एक किलो माटो खाँदै आएर पनि अत्यन्त स्वस्थ जीवन बाँचिरहेको छ भन्ने सुन्दा आश्चर्यमा नपरिरहन सकिन्न । प्रसङ्ग भारत उत्तरप्रदेशस्थित शाहजहाँ जिल्लाको काजरी नूरपुर गाउँको हो । हाल ९२ वर्ष पुगेकी सुदामादेवीलाई दिनहुँ एक किलो माटो नखाएसम्म चैन मिल्दैन । माटो खाएरै सय वर्षभन्दा बढी बाँच्ने उनको धोको छ । उनका अनुसार १०–१२ वर्षको उमेरमा एक साथीले उक्साएपछि उनले ठट्टैठट्टामा थुप्रै माटो खाएकी थिइन् । त्यसपछि उनलाई माटो खाने चस्का नै लागेछ । हाल पनि एक ग्लास पानीको भरमा उनी एक किलो माटो आरामसाथ निल्दछिन् । माटो खाएर पनि स्वस्थ जीवन बाँचेकी सुदामादेवी दश सन्तानकी आमासमेत बनिन् भने चिकित्सक उनको स्वस्थपन देखेर छक्क पर्ने गरेका छन् ।

प्रधानमन्त्रीको समलिङ्गी–बिहे
लग्जम्बर्गका प्रधानमन्त्री जेवियर बेटेलले समलिङ्गीसँग विवाह गरेका छन् । लामो समयदेखिका आफ्ना समलिङ्गी साथी गोथर डेस्टेनीसँग बेटेलले गत साता आयोजित एक भव्य समारोहबीच विवाह गरेका हुन् । डेस्टेनी पेसाले एक आर्किटेक्ट हुन् । यसरी समलिङ्गीसँग विवाह गरेर ४२ वर्षीय बेटेलले आफूलाई युरोपियन सङ्घकै पहिलो नेता तथा समलिङ्गी विवाह गर्ने विश्वका दोस्रा प्रधानमन्त्रीका रूपमा उभ्याएका छन् । यसअघि आइसल्यान्डका प्रधानमन्त्री जोहानाले आफ्नी समलिङ्गी पार्टनरसँग विवाह गरेकी थिइन् । व्यस्तताका बाबजुद हनिमुन पिरियड सुरु गर्न लागेका प्रधानमन्त्री बेटेलले आफूले आफ्नो समलिङ्गी सम्बन्धलाई कहिल्यै छुपाउने प्रयास नगरेको र यदि यसो गरेको भए आफूलाई जीवनभर पश्चाताप हुने प्रतिक्रिया दिए । राजनेता बनेर जनताको सेवा गर्न चाहने व्यक्तिले आफूलाई जहिल्यै पनि एक इमानदार रूपमा प्रस्तुत गर्नुपर्ने सोचका आधारमा आफू समलिङ्गी सम्बन्धप्रति इमानदार बनेको उनको भनाइ छ ।

अण्डा खाउ मधुमेह भगाउ
शारीरिक विकासका लागि आवश्यक विभिन्न पोषकतत्वको आपूर्तिमा अण्डाको पनि अहम् भूमिका रहन्छ भन्ने चिकित्सकीय मान्यता पछिल्ला दिनमा केही संशोधन भएको छ । अर्थात्, अण्डा खानु स्वास्थ्यका लागि त्यति राम्रो होइन भन्ने धारणा हाल विकसित भएको पाइन्छ । तर, हालै गरिएको एक अनुसन्धानले अण्डाको सेवनबाट मधुमेहको खतरा कम हुने आश्चर्यलाग्दो परिणाम देखाएको छ । अमेरिकन जर्नल अफ क्लिनिकल न्युट्रिसनमा प्रकाशित रिपोर्टअनुसार अण्डा खानाले टाइप टु मधुमेहको खतरा ४० प्रतिशतले कम हुने इस्टर्न फिनल्यान्ड विश्वविद्यालयका शोधकर्ताहरूले दाबी गरेका छन् । अण्डामा रहेको पोषकतत्वले शरीरमा रहेको चिनीको मात्रालाई पचाउने, सुगरको स्तर कम गर्ने र जलन कम गर्न सहयोग पु-याउने अनुसन्धानकर्ताहरूले जनाएका छन् । यस्तो लाभ हासिल गर्न सातामा चारवटा अण्डा नियमित रूपले खानुपर्ने सम्बन्धित अध्येताहरूको सुझाव छ ।