बघिनी शैलीमा नारी अभिव्यक्ति – मणि लोहनी

बघिनी शैलीमा नारी अभिव्यक्ति – मणि लोहनी


Mani Lohaniकथा पढ्न रुचाउँछु म । कथामा आउने मानिस–मानिसबीचका सम्बन्ध र दमित चाहनाहरू पढ्न खुब मजा आउँछ । बीपी कोइरालाका कथाहरू पढ्दा खुब रमाउँथेँ । दौलतविक्रम विष्टका कथाहरूमा भेटिने सम्बन्धका सन्दर्भहरूले मलाई कथा लेख्न झकझकायो । रमेश विकलका कथाहरूले छुट्टै रमाइलो दियो । अझ किशोर पहाडीका कथाहरू पढ्न थालेपछि त आफ्नै जीवनघटनामा पनि कथा लेख्न सकिनेरहेछ भन्ने लाग्यो र कथा लेख्न थालेँ ।
जैनेन्द्र जीवन, भाउपन्थी, राजेन्द्र चोथाले, रत्न कोजु र रत्न प्रजापतिका कथाहरूमा भेटिने सम्बन्ध र दमित इच्छाहरूको माथापच्चिसी मलाई मन परे । मैले पनि अधिकांश कथा सम्बन्ध र दमित इच्छाहरूमा नै लेख्ने कोसिस गरँे । परास्त प्रेम र निर्वस्त्र मनमा अधिकांश त्यस्तै कथा छन् ।
अहिले दिलीप शाहको बघिनीभित्र रहेका कथाहरू पढिरहँदा खुब मजा आएको छ । मलाई मनपर्ने विषयहरूमाथि दिलीपले कलम चलाएका छन् । उनका कथाहरू मलाई मन पर्नु भनेको आममानिसलाई मन पर्नु पनि हो । किनभने प्रत्येक मानिस सम्बन्धबाट लखेटिएको छ । दमित इच्छाहरू पालेर बाँच्न विवश छ । आफ्नै रहर र बाध्यताहरूको बीचमा अल्मलिरहेछ । यस्तो अवस्थामा बघिनीभित्रका कथाहरू धेरैलाई आफ्नो कथा लाग्नेछ । आफ्नो नजिकको कथा लाग्नेछ । मलाई लाग्छ, कथाकार दिलीप शाहको कथाकारिताको सबल पक्ष नै यही हो । उनी प्रत्येक पाठकका नजिकका घटना र सन्दर्भहरूलाई कथामा उतार्छन् ।
नेपाली समाजभित्र हुर्किंदै गइरहेका विसङ्गत पक्षहरू शाहका मूल विषय हुन् । राजनीतिका कुरूप बिम्ब–प्रतिबिम्बहरू कथामा भेटिन्छन् । नारी चेतना र अस्मिताको प्रश्न एवम् कर्मचारीतन्त्रभित्रका जटिलता र अन्तरविरोधजस्ता बहुस्तरीय रूप शाहका कथामा पाइन्छन् । उनका कथा जीवनका यथार्थ र सामाजिकताको आधारभूमिमा छन् ।
दमित इच्छा, आकाङ्क्षा र चाहनाहरू महिलाका भागमा छन् अझै । बाध्यताबीच पिल्सिनु नियतिझैँ बनेको छ कतिपय सन्दर्भमा । पुरुष मानसिकता एवम् वर्चस्ववादी दृष्टिकोणको माखेसाङ्लोमा बेरिएका नारीहरू बेलाबखत उम्किने प्रयास त गर्छन्, तर सफल हुन सक्दैनन् । कथंकदाचित सफल भए पनि अनेक लाञ्छनाहरू सहन विवश हुन्छन् । यी र यस्तै सन्दर्भहरूमा कथाकार दिलीप शाहले आफ्ना कथाहरू लेखेका छन् । रमाइलो कुरा के भने उनका कथाका नारी पात्रहरू अरू नारीमा जस्तो निरीह–भावबोध होइन, आन्तरिक आक्रोशको ज्वालाले भरिएका छन् । शीर्ष कथा ‘बघिनी’कै मुख्य पात्र मायाले नेपाली समाजमा हुर्किएका पुरुषहरूले नारीहरूप्रति देखाउने निर्लज्ज व्यवहार, द्वितर्फी क्रियाकलाप र बहुविवाहको परिपाटीलाई उदाङ्गो पारेकी छिन् । कथामा माया भन्छिन्, ‘मभित्रको दन्किरहेको आगो निभाउनलाई हाँस्छु । पोइको छद्मभेषी चेहरा बिर्सनलाई हाँस्छु । ऊसँग प्रतिरोध लिनलाई हाँस्छु ।’ यो कथाले नारीको मूल्याङ्कन शारीरिक बनावटको आधारमा गरिने स्थितिप्रति व्यङ्ग्य गरेको छ । ‘मन सेलरोटी होइन’ अर्को शक्तिशाली कथा हो । एउटी महिलाको अन्तरव्यथा ओकल्न सक्षम यो कथाले पुरुषप्रति देखाएको सदाशयता अन्तस्करण आफ्नै लागि घातक र प्रत्युत्पादक भएको देखाउन खोजिएको छ । आफूबाट सन्तान नभएपछि आफैँले पतिलाई दोस्री केटीसित विवाह गराएर पारिवारिक खुसी भित्याउन चाहने ती महिला अन्तस्करण पतिको तिरस्कारको सिकार हुन पुग्छिन् । कुनै समय, आर्थिक रूपले समृद्ध भए पनि समयक्रममा हरितन्नम स्थितिबाट गुज्रिरहेको एउटा सहरिया वर्गको जीवनशैली उतार्न सक्षम कथा हो– ‘फर्केर हेर्दिनँ ।’ ‘शøयादान’मा हिन्दू धर्मशास्त्रअनुसार मानिसको भौतिक देह समाप्त हुँदा मृतात्माको नाममा दान गर्नुपर्ने जुन गलत प्रथा बसालिएको छ, त्यो अनावश्यक रहेको पुष्टि गर्छ । ‘स्यावास, विश्वनाथ’ कथाको मुख्य पात्र विश्वनाथ एउटा यस्तो पात्र हो, जसले आमनेपाली जनताको प्रतिनिधित्व गर्दछ । अहिलेको राजनीतिक जगत्मा व्याप्त विसङ्गत स्थितिहरूप्रति प्रायः सबैको असन्तुष्टि छ, आक्रोश छ र त्यो कतिबेला विस्फोट हुन्छ, यकिन गर्न सकिँदैन । विश्वनाथले राजनीतिमा भित्रिएको विसङ्गत पक्ष र विकृत चेहराप्रति आक्रोश पोखेका छन् । ‘थकथकी’ले कर्मचारीतन्त्रभित्र व्याप्त अँध्यारा पाटाहरू उतार्न चाहेको छ । ‘महाराजवाणी’ले भने दरबार हत्याकाण्डपछि राजा बनेका ज्ञानेन्द्र शाहले जनताप्रति देखाएको असामान्य व्यवहारलाई अत्यन्तै व्यङ्ग्यात्मक रूपले प्रस्तुत गर्न चाहेको छ । ‘खुच्चिङ’ले विभेदको तस्बिर उतारेको छ । दलित र गैरदलितबीच हुने विवाहले समाजमा ल्याएको हलचल र पति विदेशमा जाँदा पत्नीले अर्कै व्यक्तिसित बिहे गरेको प्रसङ्ग उप्काउँदै समाजका उच्च वर्गका व्यक्तिहरू अरूका समस्या, दुःख र पीडामा कसरी खेल्न चाहन्छन् भन्ने पक्ष पनि यो कथाले उठाएको छ ।
दिलीप शाहको कथाकृति ‘बघिनी’ मानवीय पीडाको धरातल पछ्याउँदै हामी बाँचिरहेको समयको प्रतिबिम्ब हो । यसमा यही समाज छ । समाजले बाँच्न खोजिरहेको आधुनिक जीवनशैली र परम्परागत खटनपटन छ ।
दिलीपको विषय बलियो छ । भाषा सरल छ । सरल मात्र होइन अलि धेरै नै प्रस्ट भन्न सकिन्छ । कति ठाउँमा त कथाकारले यसरी सीधै नभनिदिएको भए हुन्थ्यो भन्ने लाग्छ । कति ठाउँमा कथाकार विचारक बनेर उभिने चेष्टा गरेका छन् । कथाकारले घटना र दृश्य राखिदिने हो । निर्णय सुनाउने होइन । कुनै–कुनै कथामा शाहले निर्णय सुनाउन खोजेको हो कि भन्ने देखिन्छ । उनका केही कथामा देह–वर्णन आवश्यकताभन्दा बढी भेटिन्छन् ।
हरेक मानिसका केही सीमा हुन्छ । सीमाकै साथ सच्चिँदै अघि बढ्ने हो । एकाध केही सच्याउनुपर्ने सन्दर्भबाहेक बघिनीका अधिकांश कथा उत्कृष्ट छन् । कथाले नेपाली समाजको यो समयको प्रतिनिधित्व गरेको छ । शाहका कथाको आवृत्ति आधुनिक जीवनको विभीषिकाले ढाकिएका छन् । मानवीय पीडा, संवेदना, अन्तद्र्वन्द्व र बेचैन परिस्थितिको सहज रूपमा उद्घाटन गरेका छन् ।
म मेरो समयको यो कथाकारलाई सलाम गर्न चाहन्छु । विशेषगरी कथाकारले उठाएको दमित इच्छा र चाहनाहरूका सन्दर्भ मलाई प्रिय लागेका छन् । शाहको कथाकारिताको खुबी केमा देखिन्छ भने उनी समाजका कमजोर वर्गको आवाजलाई अत्यन्तै ध्यान दिएर सुन्छन् । तिनीहरूका कथा–व्यथा, समस्या र अनेक तरङ्गहरूलाई लिपिबद्ध गर्छन् । म उनको कथाकारिताको निरन्तरताको कामना गर्छु ।