छोटो स्कर्ट पहिरिनेलाई भारी छुट
ग्राहक पल्काउन रेस्टुरेन्टहरू के मात्रै गर्दैनन् ? विभिन्न अनौठा उपाय अपनाएर ग्राहक तान्ने रेस्टुरेन्टको श्रेणीमा एक चिनियाँ रेस्टुरेन्ट यतिबेला विशेष चर्चामा छ । स्वादिला परिकारको निम्ति प्रसिद्धि कमाएको योङ जिया हटपट नामक उक्त चिनियाँ रेस्टुरेन्ट छोटो स्कर्ट पहिरिएर आउने महिलालाई विशेष छुट दिने योजना अघि सारेर थप चर्चामा आएको हो । पूर्वी चीनको जिनान सहरमा रहेको सो रेस्टुरेन्टले जति छोटो स्कर्ट पहिरियो उत्ति नै बढी छुट दिने योजनालाई कार्यान्वयनमा ल्याएको छ । स्कर्ट लगाएर रेस्टुरेन्ट छिरेका ग्राहकलाई त्यहाँका कर्मचारी सुरुमै इन्चिटेप लिएर घुँडाभन्दा कति माथि देखिने स्कर्ट ग्राहकले पहिरिएर आएका छन् भनी नाप्न थाल्छन् । यदि घुँडाभन्दा तीन इन्च माथिसम्म देखिने स्कर्ट पहिरिएकी छिन् भने ती ग्राहकले २० प्रतिशत छुट पाउँछिन् भने १३ इञ्च माथिसम्मको भाग खुला राखेर रेस्टुरेन्ट छिर्नेले त ९० प्रतिशत नै छुट पाउने व्यवस्था गरिएको छ । मिनीस्कर्ट स्किम सुरु गरेपछि खासगरी महिला ग्राहक त्यसतर्फ आकर्षित भएका र महिलाले आफ्ना पुरुष मित्रहरूलाई समेत साथ ल्याउने भएकाले व्यापारमा बढोत्तरी हुन थालेको बताउँदै उक्त रेस्टुरेन्टका सञ्चालकले व्यापारमा आएको मन्दीलाई ध्यानमा राखेर यस्तो स्किम ल्याउनुपरेको स्वीकार गरेका छन् ।
स्तन चुसाएर म्याकडोनाल्डको विरोध
तपाईं एक काखेबच्चासहितको महिला हुनुहुन्छ र रेस्टुरेन्टमा खान जाँदा बच्चाले स्तनपानको चाहना राख्यो भने के गर्नुहुन्छ ? निश्चय पनि उसलाई स्तनपान गराउनु तपाईंको कर्तव्य हुन आउँछ र तपाईं आफ्नो बच्चालाई त्यो सेवा उपलब्ध पनि गराउनुुहुन्छ । तर, यसरी आमाको कर्तव्य निर्वाह गर्न रोक्न खोजिन्छ भने त्यतिबेला तपाईंको प्रतिक्रिया कस्तो रहला ? बुडापेस्ट (हङ्गेरीको राजधानी)का आमाहरूले भने रेस्टुरेन्टमा बच्चालाई स्तनपान गराउन नदिनेलाई स्तनपान गराएरै विरोध जनाएका छन् । बच्चासहित खाना खान छिर्ने महिला ग्राहकलाई विश्वप्रसिद्ध फास्टफुड रेस्टुरेन्ट ‘म्याकडोनाल्ड’ले रोक्ने नीति अख्तियार गरेको भन्दै हङ्गेरीका ‘आमा’हरूले विरोधको नयाँ शैली प्रदर्शन गरेका हुन् । बुडापेस्टस्थित म्याकडोनाल्डमा कैयन आमाले बच्चासहित उपस्थित भई आफ्ना बच्चालाई स्तनपान गराएर विरोध जनाए । सयौँ आमाले रेस्टुरेन्टमै भेला भएर बच्चालाई स्तनपान गराएका थिए । यसरी आमाहरू चर्को विरोधमा उत्रिएपछि म्याकडोनाल्डले यसरी ग्राहक चिढ्याउने आफ्नो कुनै नीति नभएको भन्दै आफ्ना सुरक्षाकर्मीको टाउकोमा दोष थोपर्ने प्रयास गरेको छ । म्याकडोनाल्ड फास्टफुड–संस्कृतिविरुद्ध कदापि जान नसक्ने र रेस्टुरेन्टमा खटिएका सुरक्षाकर्मीले बच्चासहितका महिला ग्राहकलाई दुव्र्यवहार गरेको हुन सक्ने भन्दै म्याकडोनाल्डले आफू टक्टकिने चाल चलेको छ ।
महिलाको आयु बढाउने केमोमाइन चिया
दिनमा एक कप कालो चिया पिउनु स्वास्थ्यका लागि लाभदायक नै मानिएको छ । यसमाथि केमोमाइन (एक प्रकारको फूल)को चिया पिउनाले महिलाको उमेर नै बढाउने अमेरिकामा हालै गरिएको एक शोधले पुष्टि गरेको छ । प्राचीनकालदेखि नै विभिन्न बिमारीमा औषधिको रूपमा प्रयोग हुँदै आएको केमोमाइनको चिया सेवन खासगरी महिलाका निम्ति अत्यन्तै लाभदायी देखिएको अनुसन्धानकर्ताको कथन छ । यसको नियमित सेवनले असामयिक मृत्युको खतरा कम हुने, स्वास्थ्य–समस्याका परिस्थितिहरू एवम् स्वास्थ्यसम्बन्धी व्यवहारसँग सामन्जस्यमा मद्दत पुग्नुका साथै हाइपरग्लिकेमिया, पेटको गडबडी, मोटोपन, डराउनेजस्ता समस्यामा लाभ पुग्ने दाबी गर्दै अध्येताहरूले पुरुषहरूमा चाहिँ यसको प्रभाव खास नदेखिएको उल्लेख गरेका छन् । युनिभर्सिटी अफ टेक्सासका प्रोफेसर ब्रेट हावरी पुरुषमा किन यसको लाभकारी गुणले काम नगरेको भन्ने सवालमा अध्ययन जारी रहेको बताउँछन् ।
योगामार्फत मनोरञ्जन
योगप्रतिको जागरुकताका कारण आज विश्वभरका मानिस ठूलो सङ्ख्यामा योगसम्बन्धी क्रियाकलापमा संलग्न रहने गरेका छन् । शारीरिक तन्दुरुस्तीका लागि योग गर्नु सामान्य प्रक्रिया मानिए पनि सिड्नीका एक युगल जोडीले भने योगालाई स्वास्थ्यका साथै मनोरञ्जन प्रदान गर्ने माध्यमसमेत बनाएर चर्चा बटुलेका छन् । ‘योगा बियोन्ड’ नामक योग संस्थानसमेत सञ्चालन गर्दै आएका सिड्नीनिवासी होन्जा र क्लाडिन लेफोन्डले आफ्नो योगा पोजलाई सामाजिक सञ्जालको माध्यम इन्टाग्राममा सेयर गरेका छन्, जसलाई विश्वभरका प्रशंसकले तारिफ गरेका छन् । विश्वका विभिन्न देशका मानिसलाई योगा, एक्रोविन्यास र एक्रोबेटिक फ्लाइङको ट्रेनिङ दिँदै आएको उक्त जोडी योगा ट्रेनिङकै लागि विश्व भ्रमण गरिरहन्छन् भने संसारका विख्यात सहरमा उनीहरूले आफ्नो बेजोड योग–कला देखाएर वाहवाही लुटेका छन् ।
एउटा कार किन्न एक भारी नोट
चीनकी एक महिलाले बीएमडब्लू कार खरिद गर्दा सय किलो नोट चुक्ता गरेर स्थानीय बीएमडब्लू डिलरका कर्मचारीको पसिना छुटाएकी छिन् । कार किन्दा कर्मचारीको पसिना कसरी छुट्यो भन्ने जिज्ञासा जाग्न सक्छ । हो, हेनान प्रान्तनिवासी ली कियोङ नामकी यी महिलाले कार डिलरका कर्मचारीलाई एक–एकका नोट भिडाएर दिनु सास्ती दिइन् । फलफूल बेच्ने पेसा गर्दै आएकी लीले आफ्नो जीवनभरको कमाइले बीएमडब्लू खरिद गर्न खोजेकी थिइन् । रिटेल पसलमा जम्मा भएको एक–एकको नोटका बन्डल नै सय किलोको थियो, जसलाई गन्न डिलरका कर्मचारीहलाई दिनभर लागेको थियो ।
प्रतिक्रिया