नकुलकाजीलाई म चिन्दिनँ ।
मेरो अध्ययनका आफ्ना सीमाहरूले उनका किताबहरू पनि मैले पढेको रहेनछु । तर, उनको नाम भने मैले मेरै समकालीन झापाली लेखक–कविका मुखबाट पटकपटक सुनेको थिएँ । एउटा पुरानो र नामुद पत्रकारका रूपमा । मेरा धेरै झापाली साथीका पहिलो रचना यिनैले छापेका रहेछन् । नयाँलाई माया गर्ने यिनको यो बानीको नचिनेरै पनि मैले सम्मान गरेको थिएँ । मोहन प्रियाचार्यको नेपाली अनुवाद ‘पहिले आफूलाई चिन’ मैले पढेको किताब हो । यसको अनुवाद नकुलकाजीले नै गरेका हुन् भन्ने हेक्का त्यसताका मलाई थिएन । नेपालीमा पाएको त्यो किताब मैले ६८–६९ सालतिर पढेको हुनुपर्छ । यो किताबको नेपाली अनुवाद नकुलकाजीले नै गरेका रहेछन् ।
साहित्यिक कार्यक्रमको दौरान होस् या अनौपचारिक सन्दर्भहरूमा हुन् म पटक–पटक झापा पुगेको छु । तर, नकुलकाजीसँग मेरो भेट हुने मौका जुरेन । नचिनेरै पनि एउटा स्रष्टाको कृति यतिखेर मेरो हातमा छ– घरहरू भत्किरहेछन् ।
महाविनाशकारी भूकम्पले मुलुकभर धेरै घर भत्किरहेको बेला यो उपन्यास मेरो हातमा प-यो । यो उपन्यास भौतिक क्षतिको उपन्यास होइन । यो भावनाको क्षतिको कुरा हो । सम्बन्धको समाप्तिको कुरा हो । हाम्रो घर भनेको ढुङ्गामाटोको भर मात्र होइन । आफ्नोपन, माया र सम्बन्धका असङ्ख्य घरहरू वैदेशिक रोजगारीले भत्काइरहेछ । मानिसको अभाव र बाध्यताबाट सम्पन्नतर्फको यो यात्रामा अनेकौँ घरहरू ध्वस्त भएका छन् । धेरै सपना र रहरहरू सकिएका छन् । मानिसको बाँच्ने उपक्रम टुङ्गिएको छ । नकुलकाजीको ‘घर भत्किरहेछन्’ यिनै मानवीय दुर्दशाहरूको कथा हो ।
मानिसको जीवनमा दुःख छ । अभाव छ । समस्या छ । त्यसमा पनि दक्षिण एसियामा जन्मनु दुःख र अभाव बोकेर जन्मिनु हो । अझ महिला भएर गरिब देशमा जन्मनु भनेको दुःखैदुःखको भारी बोकेर दौडन खोज्नु नै हो । आर्थिक रूपमा कमजोर हुँदा मानसिक र शारीरिक रूपमा विक्षिप्त हुनुको विकल्प छैन । देशको वर्तमान यही अवस्थालाई उपन्यासमा देखाइएको छ । कति घरहरू भत्किसके । कति भत्किँदै छन् । भविष्यमा अझ कति भत्किने हुन् ।
सिङ्गो देश रेमिन्ट्यास बढेकोमा मख्ख छ । शासकहरू बढेको रेमिन्ट्यान्समा अर्थतन्त्र उकास्ने दिवा सपनामा मग्न छन् । तर, देशका युवाशक्ति दिनप्रतिदिन बिदेसिने मात्र होइन, विदेशमा पुगेर थप विक्षिप्त र असुरक्षित बन्ने गरेका छन् । हरेक दिन सयौँ नेपाली बिदेसिन्छन् र हरेक दिन तीनभन्दा बढी युवा काठको बाकसमा बन्द भएर स्वदेश फर्किरहेका छन् । यस्तो टिढलाग्दो अवस्थामा पनि देशको सत्ता हातमा लिएकाहरूले बिदेसिनुपर्ने नेपालीको बाध्यतालाई सम्बोधन गर्न सकिरहेका छैनन् । युवाशक्ति बिदेसिँदा मुलुकभित्रका परिवार टुक्रिरहेछ । सम्बन्ध सकिइरहेछ । परिवारमा विचलन बढिरहेछ ।
वैदेशिक रोजगारीले धेरै श्रीमान्–श्रीमतीहरू विछोडिएका छन् । विछोडको यो पीडालाई पैसाले थेग्न सक्दैन । पैसाले सम्बन्ध दिँदैन । आफ्नोपन र न्यानो दिँदैन । अनि हरेक पल भत्किरहेछन् घरहरू । यी र यस्तै बाध्यता र समस्याहरूको कथा हो ‘घर भत्किरहेछन्’ । घर भत्किनु भनेको आदर्श र सपना भत्किनु हो । मान्छेभित्रको स्वाभिमान र धैयर्ता भत्किनु हो । उपन्यासभित्रका हरेक परिदृश्यले सयौँ सम्भावना र सपनाको कुरा गर्छ । नकुलकाजीको उपन्यास घरहरू भत्किरहेछन्ले नेपाली युवा मनस्थितिका अनेक तरङ्गहरूको कुरा गरेको छ । युवा मानसिकता र अभावले थपेको विविध समस्यालाई उपन्यासमा सरल र सहज रूपमा राखिएको छ ।
श्रीमान् बिदेसिएपछि मुलुकभित्र रहेका उनका श्रीमतीहरूको दिनचर्यामा आधारित यस उपन्यासमा जीवनको दुःखद् र पीडादायी घटनाहरूलाई समेटेको छ । मानिसले भोग्ने दुःखको सीमान्त क्षणहरू यसमा उल्लेख छ ।
नकुलकाजी पुराना लेखक हुन् । उनी मानवीय संवेदनालाई उन्न खप्पीस छन् । पत्रकारितामा प्रतिबद्ध यी लेखक जीवनवादी लेखक हुन् । मानिसका दुःखहरू कम हुनुपर्छ भनेर सोच्ने लेखक हुन् र लेखेर थोरै भए पनि समाज र मान्छेको पक्षमा वकालत गर्नुपर्छ भन्ने चेतनाले भरिएका लेखक हुन् । चलनचल्तीमा आउन सस्तो र सामान्य कुरा लेख्ने लेखकहरूभन्दा पक्कै पनि उनी भिन्न छन् । आफैँ पत्रकारितामा रहेका उनी मिडियाको आँखामा नपर्न पनि सक्छन् । किनभने मिडियाले प्रायः चर्चा र सस्तो लोकप्रियता मात्र खोज्छ । नकुलकाजी सस्तो लोकप्रियताका लागि लेख्ने लेखक भने पक्कै पनि होइनन् । उनले आफूले भोगेका नेपालीको पीडालाई लेखेका छन् । वैदेशिक रोजगारी र त्यसबाट उत्पन्न विषय सस्ता विषय होइन । गम्भीर विषय हो । देशले र देशका शासकहरूले सोच्नुपर्ने विषय हो । बिदेसिने नेपालीले भोगेका पीडा र अप्ठ्यारालाई कथानक रूपमा प्रस्तुत गर्नु चानचुने कुरा होइन ।
जिन्दगीको लामो समय पत्रकारितामा बिताएका नकुलकाजीले हरेक दिन राजनीतिक समाचार मात्र बनाएनन् । वैदेशिक रोजगारीका क्रममा समाजभित्र बढिरहेको विचलन पनि देखे । हरेक महिना रेमिट्यान्स बढेको समाचार मात्र लेखेनन्, नेपालीका दुःख र पीडाहरूलाई पनि देखे, भोगे र आफूले सकेजति सरसहयोग गरे पनि । यसले उनीभित्रको संवेदनशील लेखकलाई जगाइदियो । अनि उनले लेखे घरहरू भत्किरहेछन् । यो नेपाली नारीहरूको वर्तमान अवस्थाको ज्वलन्त तस्बिर हो । यसलाई नेपाली नारीहरूको विचलित अवस्था पनि भन्न सकिन्छ । उपन्यासको मूल पात्र पुनमले पटक–पटक भनेकी छे, ‘पैसा नै लोग्ने त होइन नि ।’ उनी फेरि भन्छिन्, ‘आफू त भोक–तिर्खा सहने बानी छैन ।’
उपन्यासको मूल विषय समाज हो । नारी संवेदना हो । नारीको भोकप्यास हो । पैसा नै सबथोक होइन । घर जोगाउन घर चाहिन्छ । परिवार एकसाथ चाहिन्छ । परिवार विछोडिएर पैसा त कमाउन सकिएला, तर घर जोगाउन सकिँदैन । घर जोगाउन एकसाथ जीवन जिउनुपर्छ । दुईजनाबीचको खालीपन आफैँमा दुःखद् कुरा हो । उपन्यासको सार यत्ति नै हो ।
उपन्यासले असल समाजको परिकल्पना गरेको छ । तर, खराब समाजको आधारभूमिमा उपन्यास लेखिएको छ । यौन र यौनजन्य सन्दर्भहरूलाई उपन्यासमा पटक–पटक उठाइएको छ । वैदेशिक रोजगारीका अनेक पीडा छन् । तर, उपन्यासमा सामाजिक विचलनलाई मूल विषय बनाइएको छ । उपन्यासको भाषा राम्रो छ । केही–केही स्थानमा यौनजन्य प्रसङ्ग ज्यादा लाग्छ । कुनै–कुनै नारी पात्रको संवाद अस्वाभाविक लाग्छ । हुन त त्योभन्दा बढी भएको छ समाजमा । तर, समाजमा भएको छ भनेर सबै लेख्दा कहिलेकाहीँ सुपाच्य हुँदैन । त्यो कुरा यो उपन्यासमा पनि ठाउँ–ठाउँमा लागू हुन्छ ।
एउटा नचिनेको पुरानो लेखकको ‘घरहरू भत्किरहेछन्’ पढेर मैले आनन्द लिएको छु ।
प्रतिक्रिया