रङ्ग–विरङ्ग

रङ्ग–विरङ्ग


ramailo-ghamailo2विश्वकै धनी युवती
फेसबुकको सहसंस्थापक डस्टिन मोस्कोवित्जको नाम याद गर्नेहरूलाई थाहा हुनुपर्छ– उनी विश्वकै सबभन्दा धनी युवती पनि हुन् । तर, डस्टिनलाई विस्थापित गर्दै संसारकै सबभन्दा कम उमेरकी धनी युवतीको स्थानमा अर्की नवयुवती खडा भएकी छिन्, तिनी हुन्– चीनकी २४ वर्षीया पेरेन्ना होई । चीनको एक रियल स्टेट कम्पनीमा निमित्त कार्यकारी निर्देशक रहेकी पेरेन्ना ‘लोगान प्रोपर्टी’ नामक उक्त कम्पनीका अध्यक्ष एवम् मुख्य कार्यकारी जी हेपिङकी पुत्री हुन् । उनीसँग १.३ अर्ब डलर सम्पत्ति रहेको चिनियाँ सरकारी न्युज एजेन्सीले जनाएको छ । लोगान प्रोपर्टीमा उनको ८५ प्रतिशत सेयर रहेको छ । फोब्र्स पत्रिकाले पनि पेरेन्नालाई कम उमेरका धनी युवतीको शीर्ष सूचीमा राखेको छ । लन्डन युनिभर्सिटीकी स्नातक पेरेन्ना हङकङ बस्ने गर्छिन् । चीनकै धनी महिलाको उपाधि भने आठ अर्ब डलर सम्पत्तिकी मालिक्नी जोउ छुनफेईको नाममा छ । टच स्क्रिन ग्लास निर्माण गर्ने कम्पनीकी मालिक्नी जोउले सन् १९७० मा घडीको ग्लास बनाउने एक कम्पनीमा मजदुरको रूपमा काम सुरु गरेकी थिइन् भने सन् २००३ मा उनले आफ्नै कम्पनी खडा गरी व्यवसाय सुरु गरेकी थिइन् । हाल उनको कम्पनीमा ६० हजारले रोजगारी पाएका छन् ।
महिलाले जिन्स पहिरिँदा महाभूकम्प !
नेपाललगायत विश्वका अनेक मुलुक यतिबेला भूकम्पको चपेटामा परेका छन् । भूकम्पपछिको परकम्प लगातार महसुस गरिएको छ । यसरी आइपरेको प्राकृतिक विपत्को जिम्मेवारी भने एक पाकिस्तानी नेताले महिलामाथि थोपरेका छन् । पाकिस्तानी नेता मौलाना फजलुर रहमानको दाबीअनुसार महिलाहरूले उत्ताउलो डिजाइनका जिन्स पहिरिएकै हुनाले यसरी महाभूकम्पका शृङ्खला चलेका हुन् । खबरीस्तानटाइम्स डट्कमले जनाएअनुसार पाकिस्तानी इस्लामिक पोलिटिकल पार्टी जमियत उलेमा–ए–फज्लका नेताले प्रस्ट भाषामा दाबी गरेका छन् कि विश्वमा भूकम्प आउनुदेखि महँगी बढ्नुसम्मका जे–जति समस्याहरू आइपरेका छन्, यो सब महिलामा उर्लिएको उत्ताउलोपनकै कारण हो । महिलाले शिरदेखि पाउसम्म कपडा पहिरिएर आफ्नो शरीर ढाकछोप नगर्नु भनेको एक चल्ताफिर्ता हतियार बन्नुसरह हो भन्दै ती मुस्लिम नेताले यस्ता ‘निछट्टा मिसाइल’ पाकिस्तानका सहरमा फैलिरहेको दाबी पनि गरेका छन् । रहमानले महिलालाई जिन्स पहिरिन प्रतिबन्ध लगाउन पाकिस्तानी प्रधानमन्त्रीसँग मागसमेत गरेका छन् ।
कफीसँग यौनजीवनको सम्बन्ध
हरेक दिन दुई कप कफी पिएरै यौनजीवन सुखदायक बनाउन सकिन्छ भने यस्तो सजिलो उपाय अवलम्बन नगर्ने को होला ? हालै अमेरिकामा गरिएको एक शोधको नतिजामाथि विश्वास गर्ने हो भने प्रतिदिन दुई कप कफी पिउनुसँग सफल सेक्सलाइफको गहिरो सम्बन्ध छ । युनिभर्सिटी अफ टेक्सासका शोधकर्ताहरूले चार हजार पुरुषमाथि अनुसन्धान गरेपछि गरेको दाबीअनुसार दिनहुँ दुई कप कफी पिउने पुरुषमा सेक्ससम्बन्धी कमजोरीको खतरा ४२ प्रतिशतले कमी आउँछ । उनीहरू आफ्नो यौनसाथीलाई तुलनात्मक रूपमा भरपूर सन्तुष्टि प्रदान गर्न र सन्तुष्टि लिन सफल हुन्छन् । क्याफिनयुक्त पेयले रक्तप्रवाहमा सुधार ल्याउने र त्यसले मसल्समा अत्यधिक आराम पु-याउने भएकाले त्यसको सोझो सम्बन्ध यौन क्रियाकलापमा पर्ने शोधकर्ताहरूको दाबी छ । यसअघि भएको अर्को एक अनुसन्धानले पनि कफी पिउने महिलाको यौनजीवन रमणीय हुने देखाएको थियो ।
ज्याक्सनको घर फेरि चर्चामा
माइकल ज्याक्सन बितेर गएको केही वर्ष भयो, तर उनको चर्चा बेलाबेला उत्तिकै चुलिने गर्छ । यतिबेला पुनः निवासस्थानका कारण ज्याक्सन चर्चामा छन् । माइकल ज्याक्सनको पुरानो घर नेवरल्याण्ड रान्च बेचिँदै छ । ज्याक्सनले आफ्नो रहस्यमयी जीवनको अधिकांश समय गुजारेको उक्त प्रसिद्ध घरको मूल्य १० करोड डलर तोकिएको छ । ज्याक्सन हाउस परिसरका विभिन्न विचित्र विशेषतामध्ये चिडियाखाना हाल हटाइए पनि पुष्पघडी, पचाससिटे सिनेमा हल, २२ वटा अलग महल, दुईवटा विशेष गेस्टहाउस, ट्रेन स्टेसनलगायत अझै सो घरको शोभा बनेर रहेका छन् । शान्ता बारबारादेखि करिब ४० किमि टाढा लस ओलिवोसस्थित उक्त घर २७ सय एकड जमिनमा फैलिएको छ, जहाँ ज्याक्सनले पन्ध्र वर्षभन्दा बढी अवधि बिताएका थिए । ज्याक्सनमाथि बालयौन उत्पीडनको आरोप लागेपछि यो घरसमेत छानबिनको दायरामा परेको थियो ।
बहादुर सिंह कायर बन्दा
जङ्गलको राजाको रूपमा समेत चिनिने सिंह बहादुरीको निम्ति प्रसिद्ध जनावर हो । तर, यस्तो वीर जनावर नै भैंसीसँग डराउँदै रूख चढेर ज्यान जोगाउन खोज्छ भने पक्कै पनि आश्चर्यको सन्दर्भ बन्छ । केन्यामा हालै यस्तै एक दृश्य क्यामरामा कैद गरियो । सेनाका एक पूर्वअधिकारीले लिएको तस्बिरमा प्रस्टै अनुभूत गर्न सकिन्छ कि जङ्गली भैंसीको आक्रमणबाट ज्यान जोगाउन अत्तालिँदै सिंह रूख चढ्ने प्रयत्न गरिरहेको छ । भैंसीको एक नवजात सन्तानमाथि आँखा गाडेपछि माउ भैंसीहरू सामूहिक रूपमा सिंहमाथि खनिएका थिए भने प्रत्याक्रमणबाट झस्किएको सिंह रूख चढ्दा पनि भैंसीको झुण्डले भने उक्त रूरुखलाई नै घेरा हालेर सिंहको सात्तो उडाएको थियो ।