फेरियो सङ्गठनको नाम

फेरियो सङ्गठनको नाम


विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीनिकट क्रान्तिकारी पत्रकार सङ्गठनले आफ्नो नाम परिवर्तन गरेको छ । नाम परिवर्तन गरेर ‘जनपत्रकार सङ्गठन, नेपाल’ बनाइएको सङ्गठनले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ ।

गत पुस ७ र ८ गते बुटवलमा बसेको दोस्रो केन्द्रीय समितिको पूर्ण बैठक र मातृपार्टीको निर्णयअनुसार सङ्गठनको नाम परिवर्तन गरिएको सङ्गठनका केन्द्रीय अध्यक्ष प्रकाश डुम्रेले जानकारी दिए । कानुनी र प्राविधिक कारणले नाम फेर्नुपरेको अध्यक्ष डुम्रेको भनाइ छ ।

सङ्गठनले यसअघि क्रान्तिकारी पत्रकार सङ्गठनको नामबाट हुँदै आएका गतिविधि अब जनपत्रकार सङ्गठनको नामबाट हुने महासचिव हिम विष्टले बताए । सबै जिल्ला र क्षेत्रीय समन्वय समितिलाई अब ‘जनपत्रकार सङ्गठन, नेपाल’को नामबाट कार्यक्रम गर्न निर्देशन दिएको विष्टले जानकारी दिएका छन् ।

पछिल्लो समय सरकार पक्षबाट प्रेसविरोधी ऐन कानुन निर्माणका शृङ्खला बढ्दै गएका बेला सङ्गठनले देशका ४० जिल्लामा मानवअधिकार, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको बहस चलाएको थियो । सङ्गठनका अध्यक्ष डुम्रेले कार्यक्रमलाई निरन्तरता दिने भन्दै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको बहसलाई थप तीव्र्र पार्ने बताए । उनले पछिल्लो समय जनपक्षीय पत्रकारिता चुनौतीपूर्ण बनेको भन्दै आममिडिया र मिडियाकर्मीलाई आफूहरूको अभियानमा साथ दिनसमेत आग्रह गरे । उनले सरकारले प्रेस नियन्त्रित कानुनहरू तत्काल नसच्याए आन्दोलन गर्ने चेतावनीसमेत दिए ।