नेवि सङ्घ (पिके)द्वारा महिला क्याम्पस प्रमुख नियुक्तिको माग

नेवि सङ्घ (पिके)द्वारा महिला क्याम्पस प्रमुख नियुक्तिको माग


नेपाल विद्यार्थी सङ्घ, पद्मकन्या क्याम्पस इकाईले त्रिभुवन विश्व विद्यालयअन्तर्गत देशभरका आङ्गिक क्याम्पसहरू मध्येबाट कम्तीमा ३३ प्रतिशत क्याम्पसमा महिला क्याम्पस प्रमुख नियुक्त गरिनुपर्ने माग गरेको छ ।

नेपालको संविधान २०७२ ले राज्यको हरेक तहमा ३३ प्रतिशत महिला सहभागिताको व्यवस्था गरिए पनि त्रिवि अन्तर्गतका ६१ वटा आङ्गिक क्याम्पसहरूमध्ये चारवटा नर्सिङ क्याम्पस र सहशिक्षा भएको रत्नराज्य क्याम्पस बाहेक अरु कुनै क्याम्पसमा क्याम्पस प्रमुख महिला नभएको भन्दै नेवि सङ्घ पीकेका सभापति साधना घिमिरेले संविधानअनुरुपको व्यवस्था गर्न माग गरेकी हुन् ।

नेवि सङ्घ नेतृ घिमिरेले एक विज्ञप्ति जारी गरी त्रिभुवन विश्व विद्यालयअन्तर्गतको आङ्गिक पद्यमकन्या बहुमुखी क्याम्पस विगतदेखि हालसम्म महिलाको उत्थान, विकास, सशक्तीकरण र हकहितका लागि संघर्षरत रहेको सर्वविदित रहेको स्मरण गराउँदै हाल त्रिविअन्तर्गतका क्याम्पसहरूमा क्याम्पस प्रमुख नियुक्तिको बारेमा पद्यमकन्याका छात्राहरूको ध्यानाकर्षण भएको जनाएकी हुन् ।

संवैधानिक व्यवस्थाअनुसार त्रिविका ६१ वटा आङ्गिक क्याम्पसमध्ये कम्तीमा २० जना क्याम्पस प्रमुख महिला हुनुपर्नेमा किन हुन सकेन ? भन्ने प्रश्न गर्दै सभापति घिमिरेले प्रधानमन्त्री नै त्रिविविको कुलपति रहने व्यवस्था भएको संस्थामा प्रोफेसर, रिडर र प्राध्यापकका रूपमा यथेष्ट नेतृत्व प्रदान गर्न सक्ने महिला हुँदाहुँदे पनि यसको कार्यान्वयन हुन नसक्नु विडम्बनापूर्ण विषय भएको जनाएकी छन् ।

योग्यता र वरिष्ठतालाई पनि आधार बनाएर मापदण्ड निर्माण गरी क्याम्पसहरूमा महिला क्याम्पस प्रमुख नियुक्ति गर्नुपर्छ भन्ने धारणासहित उनले विज्ञप्तिमा उनले भनेकी छिन्– ‘महिलाहरूको लागि ३३ प्रतिशत सहभागिता सबै क्षेत्रमा सुनिश्चितता भई कार्यान्वयन र समानुपातिक सहभागिताको लागि माग भइरहेको वर्तमान समयमा देशभरका आंगिक क्याम्पसमध्ये कम्तिमा ३३ प्रतिशत क्याम्पसमा महिला क्याम्पस प्रमुख नियुक्त गरिनुपर्दछ । हाम्रो समय–सान्दर्भिक मागलाई बेवास्ता गरिए संवैधानिक व्यवस्था कार्यान्वयन गर्नका लागि हामी कडाभन्दा कडा आन्दोनल गर्न वाध्य हुनेछौँ ।’

यसै विषयमा पद्मकन्या बहुमूखी क्याम्पसका सरोकारवाला प्राध्यापक, कर्मचारी, छात्राहरूका तर्फबाट पनि अलग्गै चासो दर्शाइएको छ ।

त्रिभुवन विश्वविद्यालयको एक मात्र आङ्गिक छात्रा क्याम्पसको रुपमा रहेको पद्यमकन्या बहुमुखी क्याम्पसमा रिक्त क्याम्पस प्रमुख नियुक्तिको लागि अहिलेसम्म भए–गरिएका प्रक्रिया र सिफारिसका सम्बन्धमा क्याम्पसमा प्रध्यापनरत प्राध्यापकहरू, अध्यनरत विद्यार्थीहरू, कर्मचारीहरू र सरोकारवाला सबैको गम्भिर ध्यानाकर्षण भएको उल्लेख गर्दै जारी विज्ञप्तिमा भनिएको छ– ‘यो क्याम्पस छात्राहरूले मात्र पढ्ने क्याम्पस भएकाले महिला क्याम्पस प्रमुख नियुक्ति हुनुपर्दछ भन्ने आमभावना रहिआएको छ र महिलालाई सशक्तिकरण गर्ने, प्रोत्साहन गर्ने र नेतृत्वमा अगाडि बढाउने कुरामा यो क्याम्पसको विगत देखि नै नेतृत्वदायी भूमिका रहेको इतिहास साक्षी छ ।’

योग्य र वरिष्ठ प्राध्यापक महिलाहरू हुदाँहुदै पनि यसपटक विगतको परम्परा, वरिष्ठता क्रम र संविधानको मर्म एवम् भावना प्रतिकुल हुने गरी सम्पूर्ण सरोकारवालाको चाहनाको समेत विरुद्धमा गएर क्याम्पस सञ्चालक समितिले फरक सिफारिस गरी पठाएकोमा आफूहरू आश्चर्यचकित र आक्रोशित बनेको उक्त विज्ञप्तिमा जनाइएको छ ।

महिलाहरूको हक, अधिकार, सशक्तिकरणको संवैधानिक भावना र मर्मविपरित अन्य उम्मेदवार प्राथमिकता क्रममा अगाडि सारिनु आफैमा बदनियतपूर्ण देखिएको भन्दै विभेदकारी र त्रुटिपूर्ण निर्णयलाई आधार बनाएर विश्वविद्यालयले कुनै निर्णय गरेमा आम विद्यार्थी, प्राध्यापक, कर्मचारी तथा सरोकारवालाहरू कडा संघर्षका कार्यक्रम लिएर मैदानमा उत्रन बाध्य हुने चेतावनी दिइएको छ ।

सम्बद्ध सरोकारवालाहरूले निश्चित विधि र मापदण्डअनुसार महिलालाई प्राथमिकता दिई योग्य एवं वरिष्ठलाई क्याम्पस प्रमुख नियुक्त गर्नु नै समयको माग हो भन्ने यथार्थलाई मनन गरी तत्काल न्यायपूर्ण निर्णय गर्न त्रि.वि. प्रशासन समक्ष माग गरेका छन् ।